Logo
Logo

अरनिकोले नेपाललाई चीनमा चिनाए : जोशी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ साउन । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आजभन्दा ७ सय वर्षअघि नै देशका विभूति अरनिकोले चीनमा गएर नेपालको कला, संस्कृति तथा बुद्धको चैत्यसम्बन्धी आफ्नो सिर्जनात्मक कला प्रस्तुत गरेर नेपाललाई चीनमा परिचित गराएको बताएका छन् । उनले अरनिकोले आठ वर्ष लगाएर चीनमा विशाल चैत्य बनाएको र यसले नेपाल–चीनबीचको मित्रतालाई जनस्तरमा विस्तार गरेको उल्लेख गरे ।
साहित्यकार कलाधर काफ्लेको सेक्सपियरको देशमा नामक पुस्तकको शनिबार विमोचन गर्दै शताब्दी पुरुष जोशीले नेपालले अरनिकोको पालादेखि नै नियात्राको विकास गरेको स्मरण गरेका हुन् । उनले विश्वमा पहिलोपटक इटलीका विश्व प्रसिद्ध साहित्यकार मार्कोपोलोले विश्वमा पहिलोपटक नियात्रा संग्रह प्रकाशित गरेको र यसको फाइदा कोलम्बसलाई अमेरिका पत्ता लगाउन सजिलो भएको चर्चा गरे । संस्कृतिविद् समेत रहेका जोशीले नियात्राकार, अनुसन्धानकर्ता तथा लेखक मार्कोपोलोले चीनको यात्रा गरेर चीनबारे युरोपलाई ज्ञान दिएको र सोही समयमा अरनिकोले चीनमा नेपालको प्रचार गरेको स्मरण गरे ।
विश्वप्रसिद्ध साहित्यकार सेक्सपियरको सम्झनामा शीर्षक दिइएको सो पुस्तकमा चार खण्ड रहेको छ । १५ यात्रा निवन्ध, बेलायतका यात्राका क्रममा रहेका तस्वीरहरु तथा परिचय पुस्तकमा रहेको छ । सेक्सपियरका आम्र्ज एण्ड दि म्यान विश्वप्रसिद्ध नाटक हुन् । त्यस्तै पुस्तकमा सेक्सपियरप्रतिको सम्मान, नेपालमा कर्मचारीको अवस्था, तथा उनीहरुका खराब व्यवहार वर्णन गरिएको छ ।
कार्यक्रममा समीक्षक रामप्रसाद ज्ञवालीले पुस्तकमा बेलायतयात्रा र सेक्सपियरको वर्णन राम्रोसँग गरिएको बताए । डा घनश्याम खतिवडाले देशमा रहेका विभिन्न कला, साहित्य तथा भाषाले बाहिरी विश्वमा परिचित गरेको बताए ।
कार्यक्रममा दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यकार जीवेन्द्रदेव गिरी, साहित्यकार वासुदेव त्रिपाठी, लेखक कलाधर काफ्ले, कवि ठाकुर शर्मालगायतका वक्ताले निवन्धको विविध पक्षमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्