Logo
Logo

‘विप्लव’ नेकपाको पाँच महिने आर्थिक अभियान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १९ साउन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पाँच महिने अभियान सुरु गरेको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सुरु भएको जानकारी दिएका छन् ।
प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म सञ्चालन हुने आर्थिक अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिलसमेत गरेका छन । प्रवक्ता प्रकाण्डले आर्थिक सहयोग अभियानमा पार्टीबाट कारबाहीमा परेका र भगौडाहरुसँग सचेत रहन अपिल गरेका छन् । उनले नेकपाले आगामी कार्तिकसम्म चल्ने अभियानलाई पार्टीले कारबाही गरेका र भगौडाहरू तथा अराजकतावादीहरूले दुरुपयोग गर्नसक्ने खतराप्रति सतर्क रहन अपिल समेत गरेका छन ।
प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशील हुन सम्भव छैन । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक संकटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैका लागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझैँ सहयोग गरिदिनुहुन अनुरोध छ ।’
प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल यतिबेला जनक्रान्ति र प्रतिक्रान्तिको भीषण टक्करबाट गुज्रिरहेको छ । १० वर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त जनअधिकार र उपलब्धिहरूलाई वली–बादल कम्पनीले ध्वस्त पार्दै गएको छ । राष्ट्रिय स्वाधीनतालाई उत्तरसाम्राज्यवादको गोटी बनेर धरापमा पारिरहेको छ । २००७ सालदेखिका सशस्त्र संघर्ष, जनसंघर्ष र जनआन्दोलनका उपलब्धिहरूलाई तथाकथित कम्युनिस्ट आवरणमा हमला गरिरहेको छ । त्यसका विरुद्धको प्रतिरोधलाई सामाजिक दलाल फासिवादी हर्कतद्वारा निस्तेज पार्ने र कुल्चने भयानक जोखिम पैदा गर्दै गएको छ । जनताका राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरूलाई बन्दुकको बलमा दबाउन खोजेको छ । उनीहरूबाहेक अरू कोही राजनीतिक पार्टी र शक्ति होइनजस्तो गरी सबैको अस्तित्व नामेट पार्न खोजिएको छ । जसले संसारका सबै भ्रष्ट, तस्कर, कमिसनखोर तानाशाह र प्रतिक्रियावादी शासकहरूलाई उछिनेको छ । राजनीतिक असहमति राख्ने निशस्त्र र राजनीतिक कार्यकर्तालाई शान्ति र विकासविरोधी आरोपमा हत्या गरेको छ । हत्या, बलात्कार र लुटपाट गर्नेलाई मन्त्रीका नाता–गोता र वली सरकारको गृह प्रशासनले संरक्षण गरिरहेको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘२०६२–०६३ को आन्दोलनको प्रक्रियामा शान्ति वार्ताका नाममा साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप र षड्यन्त्र, संसदीय यथास्थितिवाद र प्रचण्डको आत्मसमर्पण, विचलन पलायन र गद्दारीका विरुद्ध हामीले जीवनमरणको संघर्ष गर्दै आयौँ । राष्ट्रिय राजनीति र प्रचण्डमा देखापरेको प्रतिक्रान्ति र गद्दारीकाविरुद्ध २०६९ असारमा हामीले संगठित विद्रोह ग¥यौँ । २०७१ मंसिर ८ गतेदेखि ५ वर्षयता हामीले एकीकृत जनक्रान्ति कार्य्दिशामार्फत नयाँ क्रान्तिको नेतृत्व गरिरहेका छौँ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशील हुन सम्भव छैन । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैकालागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझँै सहयोग गरिदिनुहुन अनुरोध छ ।’

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्