Logo
Logo

एकै परिवारका ७ जनामा डेँगू संक्रमण


- दृष्टि न्युज/संवाददाता


इनरुवा, १९ साउन । सुनसरी सदरमुकाम इनरुवा–४ का एकै परिवारका सात जनामा डेँगूको संक्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेँगू नियन्त्रणमा आएको बताइएपनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको संक्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ ।
वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु संक्रमित बिरामी फेला परेको उक्त नगरपालिकाले पुष्टि गरेको छ । डेङ्गु संक्र्िरमतको संख्या बढ्दो क्रममा रहेको पाइएको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ ।
नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको संक्रमण फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाले बताए । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा वृद्धि भएको भएकाले उक्त रोगको संक्रमितको संख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।
नगर क्षेत्रभित्र एकसाथ डेङ्गुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ ।
संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक जनामा उक्त संक्रमण देखिएकोे हो । जिवाणुका कारण संक्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन समितिले तत्कालै काम थालिने उनले जानकारी दिए ।
इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारीसमेत थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडामा विषादी छिट्ने कामसमेत शुरु गरिसकेको छ । वडातहसम्म जनचेतना फैलाउनका लागि अभियान थालिसकिएको नगरप्रमुख राजन मेहताले बताए । रासस

प्रतिक्रिया दिनुहोस्