Logo
Logo

अर्को मोड- जीवनको



सूर्यको प्रकाश त उहिल्यैदेखि थियो नै, र पनि उज्यालिनसकेको थिएन त्यो बस्ती । मैले पढाउन थालेको चार वर्ष पुगिसक्दा पनि मेरो एउटा सानो सपना पूरा हुनसकेको थिएन ।

शहर भित्रैको ‘स्कुल’ भए पनि त्यहाँका बच्चाहरुलाई पढाउनका लागि चाहिने एउटा सानो छाप्रोसम्म पनि बन्न सकेको थिएन । सूर्यले नसकेको उज्यालो बाँड्न म ‘फुच्ची मिस’को चार वर्षको प्रयासले के पो हुनसक्थ्यो र ! आफैँलाई चित्त बुझाउँथे ।

अहिले पनि कुनै खेद छैन । सपना बोकेर पसेँ । कुरीतिविरुद्धको अभियानमा प्रयोग गर्न पाएँ आफ्नो युवाकाल । शिक्षक त मैले पाएको भूमिका थियो । यथार्थमा स्वप्नदर्शी किशोरी थिएँ-अभियन्ता हुन खोज्ने ।

सुरुमा स्वागत पाएकी थिइनँ । तर विस्तारै बच्चाहरु झुम्मिन्न थाले । उनीहरुले मलाई बोलाउने सम्बोधन थियो-‘मिसदिरी’ । उनीहरुको विश्वास पाउन थालेपछि-म ‘मिस’ मात्र रहिनँ, ‘दिदी’ पनि भएँ ।

दिदी भनेर शिक्षिकालाई बोलाउन असजिलो भएर होला ‘मिस’ जोड्न पनि छोडेनन् । बस्तीका बच्चाहरु, ‘दिदी’लाई पनि ‘दिरी’ भन्थे र यसरी म उनीहरुकी ‘मिसदिरी’ भएँ ।

जीवनयात्रामा दिशा र गन्तव्यको छनोट आफ्नै हुन्छ, एक्लैको हुन्छ । तर सहयात्री साथी नभए यात्रा निकै कठिन हुन्छ । त्यो बस्तीसम्मको यात्रा मेरो आफ्नै छनोट थियो । तर पूर्णशोभा र सुरेन्द्र तुलाधरजस्ता साथी सहयात्रीका रूपमा जोडिए । उनीहरुले पनि आफ्नो जीवनको अमूल्य समय खर्चेको ठाउँ हो त्यो । सुरुमा सुमनले पनि केही समय दिएका थिए ।

चार वर्षको अवधि भनेको कलेजको ‘बिए’ सिध्याउने बेला पनि हो । हामी कलेजको पढाइलाई आफैँले लत्याएर हिँडेका ‘मुर्खहरु’-न ‘बिए’ सिद्धियो, न त ‘बिहे’ नै ।

लगनको यही पोडेटोलको बस्तीलाई नै विश्वविद्यालय मानेर जीवनको अनेक पाठ सिकिसकेपछि, कलेजको प्रमाणपत्रको सट्टा केही सन्तोष र आत्मविश्वास भने प्राप्त भयो- अँध्यारो छिँडीहरुमै भए पनि शिक्षाको अलिकति उज्यालो छरियो ।

बच्चामा म आफैँले पनि घर नजिकैको छिँडीबाट नै प्राथमिक तहका कक्षा पार गरेकी थिएँ । त्यसैको सिको गरी छिँडी सफा गर्दै, सुकुल ओछ्याउँदै पढाउन थाल्दा पनि गाह्रो लागेन ।

त्यहाँ त्यसरी पढाउन थालेपछि स्थानीय दलित बच्चाहरु मात्र होइन, ‘मिस’ले पढाउने भएकाले होला वरिपरिका किसान पनि आफ्ना छोरीहरुलाई पठाउन थाले ।

सरकारी प्राथमिक स्कुल भएकाले तीन जना शिक्षकको दरबन्दी थियो । शिक्षिका भने म एक्लै नै थिएँ । सपना पनि एक्लैको थियो ।

वरिपरिका बच्चीहरु थपिनु नै मेरो निम्ति खुसीको कुरा थियो । अर्को कुरा टाढाबाट अरु स्कुलमा पढ्न नसकेका अपहेलित अन्य दलितका छोराहरु पनि पढ्न आए । थपमा साथीकै बहिनीहरु पनि त्यहाँ थपिन थाले । केही नहुनुभन्दा केही देखिने खालका प्रगति त अवश्य भयो । कोसिस गरे नहुने केही नहुँदोरहेछ ।

वरिपरिका किसानका बच्चीहरुले आमाले बोलाएको भन्दै घरमा लिएर जाने पनि गर्न थाले । गुरुपूर्णिमा आउँदा आफ्ना आमाहरु लिएर मेरो घरसम्म नै आफूसँग भएको खानेकुरा फलफूल बोकी भेट्न आउने गर्थे । त्यो स्नेह पैसाले किन्न पाइने कुरा थिएन ।

त्यसबेलाका कति विद्यार्थीहरु पछि सफल व्यवसायी भए, कोही राजनीतिमा पनि लागे, कोही सम्मानजनक जागिरमा छन्, कसैले त विद्यावारिधिकै कोशेढुंगा छुन आँटेका छन् । ढिलै भए पनि अवस्था फेरिएको छ । उनीहरुको यो प्रगति नै मेरो कामको इनाम पनि हो । यो इनामका निम्ति उनीहरुप्रति म कृतज्ञ छु ।

तर चार–चार वर्ष बितिसकेपछि पनि स्कुलको नाममा एउटा सानो टहरासम्म बनाउन नसकेकोमा भने मन दिक्क हुन थाल्यो । मनले परिवर्तन खोज्न थाल्यो । अन्तर्मनले नै भन्न थाल्यो-‘यहाँ गर्ने यत्ति हो, अब अर्को यात्रा थाल !’

स्कुलको कोर्स पढाउने काम मात्र नभएर प्रगतिशील विचारको बीउ पनि रोपिइसकेको थियो । सफाइ मजदुर साथीहरु ‘कर्मको भोग’ भन्न छोडेर आफ्नो हकअधिकार र समानताको कुरा गर्ने भइसकेका थिए ।

पूर्णशोभा र सुरेन्द्र तुलाधरको दरो साथ पाइसकेकाले म नभए पनि बत्ती बलिरहने अवस्था आइसकेको थियो । त्यसैले पनि मैले त्यो स्कुल छोडेर नयाँ पाइला बढाउने निर्णय गर्न सकेँ ।

कसैको करकापको कामभन्दा स्वतन्त्ररुपमा पाइलाहरु अगाडि बढ्न थाले । साँच्चै भन्ने हो भने मेरो मनले केही नयाँ खोजिरहेको थियो । अर्को ठाउँ खोजेँ- सहरबाट अलि टाढाको किसान बस्ती बलम्बु ।

किसान बस्तीको अनुभव पनि बटुल्नु थियो । त्यतिबेलाको बलम्बु गाउँ पञ्चायतको प्राइमरी स्कुलमा एउटा दरबन्दी खाली रहेछ । त्यहीँ जाने इच्छा गरेँ । पूर्णशोभाले पनि गाउँतिर नै काम गर्ने कुरा सोचिन् । तर बलम्बुमा अर्को खाली दरबन्दी नभएकाले बलम्बुबाट पनि आधा घण्टा हिँडेर जानुपर्ने ठाउँ दहचोकको स्कुल जाने साहस गरिन् एक्लै ।

२०३५ को नयाँ शैक्षिक वर्ष सुरु हुनुभन्दा अगाडि जिल्ला शिक्षा कार्यालय पुगेर निवेदन दिएका थियौँ । जिल्ला शिक्षा अधिकारीबाट पनि सकारात्मक जवाफ पाएपछि म उत्साहित भएकी थिएँ । सरुवा पत्र लिन बोलाएकोकै दिन त्यहाँ पुगी लिन जाँदा कुरा उल्टो भइसकेको रहेछ । मेरो सरुवा रोकिएको थाहा पाएँ, पढाइरहेकै स्कुलबाट ।

उत्साहित भएर पुगेकी म बेस्सरी रिसाएँ हाकिमकै अगाडि ।
मैले प्रमोशन खोजेकी थिइनँ । कुनै टाढाको स्कुलमा सरुवा मात्र मागेकी थिएँ । हाकिमको कुरा सुन्नासाथ त्यो ‘सरुवा’ पनि त्यागिदिएँ । पुरानै स्कुलमा त कुनै हालतमा कसैको करकापमा फर्केर जाने कुरै थिएन । बरु राजीनामा लेख्नको निम्ति एउटा कागज हाकिमसँग नै मागेँ ।

उनले एकछिन मलाई अचम्म मानेर हेरे, अनि भने-‘तपाईंलाई सरुवा चाहिएकै हो त?’ ‘अहिले नै सरुवा पत्र दिन्छु, राजीनामा नगर्नुस्…’ भने । तर कुनै उत्साह बाँकी थिएन-मान्छेको षड्यन्त्र र बाधा पनि कति थरिका हुँदारहेछन् ! बुझें मात्र, कसैप्रति कुनै विरोध पनि जनाइन । चुपचाप हाकिमको कुरा सुनेर उभिरहें एकछिन् ।

धन्न हाकिम बुद्धिमान नै परेछन् । उनले तुरुन्तै अर्को एउटा पत्र अफिसमै तयार गर्न लगाएर हतारमै सही गरेर-‘लौ तपाईंको इच्छा पूरा भयो, म तपाईंकै पक्षमा छु…’ भनेर हाँस्दै सरुवा पत्र हातमा थम्याइदिए ।

‘धन्यवाद सर’ भन्दै पत्र हातमा लिएँ । ‘त्यहाँ हाजिर गर्न आजै पुग्नुस् नि, भोलिको फेरि के भर…!’ यथास्थिति बुझेरै सुझाव दिएका थिए ।

उनले भनेजस्तै उही दिन बलम्बु पुगें । ‘बलम्बु’को त्यो बस्ती मेरो जीवनकै निम्ति वरदान भएर पर्खिरहेको रहेछ । जीवनको अर्को नयाँ मोड मात्र थिएन त्यो । त्यो बस्तीबाट पाएको माया अरु कुनै ठाउँसँग तुलना गर्न नै मिल्दैन अझैसम्म पनि ! त्यहाँ खुला आकाश, सफा हावापानीमा सास फेरेपछि म अर्कै दुनियाँमा पुगेको महसुुस भयो ।

प्रतिक्रिया दिनुहोस्