Logo
Logo

‘नाकाबन्दी मुर्खतापूर्ण काम’ डा. स्वामी


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

नेपाल–भारत सम्बन्धमा केही सातायता विकसित घटनाक्रमहरुलाई नियाल्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो मूलमन्त्र ‘सबैको साथ, सबैको विकास र सबैको विश्वास’अनुसार नेपालसँगको सम्बन्धलाई सुदृढ गर्न खोजेको संकेत देखिएको छ । यदि यो संकेत सकारात्मक हो भने, आगामी दिनमा नेपाल–भारत सम्बन्धले ऐतिहासिक मोड लिनेछ ।

गतसाता भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल नेपालमा उच्चस्तरीय भेटवार्ता गरी नयाँदिल्ली फर्केका छन् । त्यसलगत्तै भारतीय लोकसभाको माथिल्लो सदन राज्यसभा सदस्य, भारतीय जनता पार्टीका चिन्तक, विद्धान् सुब्रह्ण्यम स्वामीले पनि नेपालमा उच्चस्तरीय भेटवार्ता गरी फर्केका छन् । यी दुई घटनाक्रमलाई बेग्लाबेग्लै दृष्टिकोणबाट हेरिए पनि निष्कर्ष नेपाल–भारत सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने कुरामा केन्द्रित भएको बुझिन्छ ।

यसैबीच भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईको नेपाल भ्रमण पनि नेपाल–भारत सम्बन्धमै केन्द्रित रहेको बुझिएको छ । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)का भारततर्फका संयोजक भगतसिंह कोशियारीले नेपालतर्फका संयोजक डा. भेषबहादुर थापालाई प्रधानमन्त्री मोदीको इपिजीले तयार पारेको प्रतिवेदन छिट्टै बुझ्ने संकेत दिएको समाचार बाहिर आएको छ ।

तीन वर्षदेखि हुन नसकेको नेपाल–भारत मन्त्रीस्तरीय बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर भाद्र ४ मा नेपाल आउँदैछन् । माथि उल्लेखित जति पनि भारतीय वरिष्ठ पाहुनाहरुको नेपाल भ्रमण भएका छन् ती नेपाल–भारत समबन्धका दृष्टिकोणले अत्यन्त महत्वका हुन् । ‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री मोदीलाई बुझाउने प्रतिवेदन उनले महत्वका साथ लिनेछन् । ‘रअ’ प्रमुख गोयलले सत्तापक्ष र प्रतिपक्षका नेताहरुसँग अर्थपूर्ण भेट गरेका छन् । उनको पहिलो विदेश भ्रमण नेपाल भएकोले पनि उनको यो भ्रमणले विशेष महत्व राख्छ ।

अमेरिकाको विश्वप्रसिद्ध विश्वविद्यालय हावर्ड युनिभर्सिटीबाट अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता सिमोन कुजनेट्सको सानिध्यमा अर्थशास्त्रमा डाक्टरेटको उपाधि प्राप्त गरेका डा. सुब्रह्ण्यम स्वामीको नेपाल भ्रमण पनि उत्तिकै महत्वको हो । दुई पटक तमिलाडुको मदुरे लोकसभा निर्वाचन क्षेत्रबाट दुई पटक निर्वाचित भई भारतीय लोकसभामा पुगेका डा. स्वामी सन् १९९० र १९९१ मा चन्द्रशेखर प्रधानन्त्री भएको बेला भारतको केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री र कानून तथा न्यायमन्त्री भइसकेका व्यक्तित्व हुन् । भनिन्छ, डा. स्वामी अक्सफोर्ड युनिभर्सिटीमा असिस्टेन्ट प्रोफेसरको रुपमा रहेका उनले राजा वीरेन्द्रलाई समेत पढाएका थिए । उनको नेपाल आगमनलाई विश्व हिन्दू महासंघको एक कार्यक्रममा सहभागी हुनको लागि भएको बताइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले विशेष महत्व राख्छ ।

असी वर्षीय डा. स्वामी प्रधानमन्त्री ओलीसँग बालुवाटारमा लामो छलफल भयो । भारतीय जनता पार्टीमा उनको ओज, व्यक्तित्व र विद्धताका कारण उनको कुरा प्रधानमन्त्री मोदीले पनि काट्न सक्दैनन् । उनले काठमाडौँमा भारतीय आर्थिक नाकाबन्दीबारे विषयमा बोल्दै भने– ‘नाकाबन्दी कर्मचारीतन्त्रको सल्लाहमा लिइएको ‘एक मूर्खतापूर्ण काम’ थियो । डा. स्वामीको यो भनाइबाट पनि उनको विद्धताको गहिराई बुझ्न सकिन्छ । वीरेन्द्र राजा हुँदा डा. स्वामी केही घण्टाको लागि इन्डियन एयरफोर्सको विमानबाट काठमाडौँ आएर राजा वीरेन्द्रलाई एक पटक भेटेर फर्किएका थिए । यसपटक पनि उनी केही घण्टाको लागि मात्र काठमाडौँ आएका थिए । हुने बिरुवाको चिल्लो पात भनेझै डा. स्वामीकी सुपुत्री सुहासिनी हैदर हाल भारतको प्रसिद्ध अंग्रेजी दैनिक ‘द हिन्दू’को राष्ट्रिय सम्पादक छिन् । साथै विदेश मामिलाको सम्पादक पनि हुन् । उनी चर्चित र कुशल टेलिभिजन प्रस्तोता पनि हुन् । उनले भारतका पूर्व विदेशसचिव सलमान खुर्शीदका सुपुत्र नदीम हैदरसँग विवाह गरेकी छिन् ।

डा. स्वामीले चीन, पाकिस्तान र इजरायलसँगको भारतको सम्बन्धबारे पुस्तक लेखेका छन् । अर्थशास्त्रलगायत अन्य धेरै पुस्तक प्रकाशित भएका छन् । यस्तै काठमाडौँमा आयोजित एक कार्यक्रममा भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौधाइ वालेले नेपालविरुद्ध भारतले कुनै षड्यन्त्रकारी योजना (ग्रान्ड डिजाइन) नबनाएको र आफ्नो देशतर्फ शंका नगर्न आग्रह गरे । साथै भारतले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै सहयोगीको भूमिकामा रहने स्पष्ट पारे । नेपालसँगको सम्बन्ध पारस्परिक लाभ समानताको आधारमा हुने कुरा पनि उनले बताए ।

नेपाल–भारतबीच विगतमा भएका सबै सहमति, सन्धि सम्झौताको पुनरावलोकन हुनुपर्ने माग नेपालले धेरै पहिलादेखि उठाउँदै आएको हो । २१औँ शताब्दीको विकसित परिप्रेक्ष्यको आवश्यकताको आधारमा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनका निमित्त प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणको बेला इपिजी गठन भएको थियो । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)ले सर्वसम्मत रुपमा तैयार पारेको प्रतिवेदन एक वर्ष बितिसक्दा पनि भारतीय प्रधानमन्त्रीले आफ्नो ‘कार्यव्यस्तता’का कारण बुझ्न मानिरहेका थिएनन् । हाल प्रधानमन्त्री मोदीबाट ‘छिट्टै’ उक्त प्रतिवेदन बुझ्ने संकेत प्राप्त भएको छ । २०७३ असार २०, २१ मा काठमाडौँमा भएको इपिजीको पहिलो बैठकले इपिजी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीलाई र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको थियो ।

नेपालले सन् १९५० को सन्धिको धारा २, ५, ६, ७ को धारा सच्याउनुपर्ने प्रस्ताव राखेको छ । यी धाराहरुमा रहेका प्रावधानअनुसार नेपालले हतियार किन्दा वा भारतको बाटो भएर तेस्रो देशबाट हतियार ल्याउँदा भारतको सहमति लिनुपर्ने, दुवै देशका नगारिकलाई समान व्यवहार गर्नुपर्ने, ठेक्कापट्टामा भारतीयलाई प्राथमिकता दिनुपर्ने आदि व्यवस्था हुनाले यसलाई समयानुकूल सुधार हुनुपर्ने अडान नेपाल पक्षले राख्दै आएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणताका यस विषयमा पनि छलफल हुने विश्वास गरिएको छ । नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको तीन वर्षको लामो अन्तरालपछि हुन लागेको यस बैठकले नेपाल–भारतबीच रहेको सबै किसिमको गाँठो फुक्ने आशा नेपाली पक्षले गरेका छन् ।

नेपाल–भारत सम्बन्धबारे यी विकसित घटनाक्रमले प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ र प्रधानमन्त्री नरेन्द्र मोदकिो ‘सबका साथ सबका विकास, सबका विश्वास’ को फ्युजन भएर नेपाल समृद्धितर्फ अगाडि बढ्नेछ । इपिजीले धेरै मेहनतका साथ तयार पारेको प्रतिवेदनमा सुझाइएका सुझावअनुसार कार्यान्वयन भएमा सन् १९५० देखि नेपाली जनताको खुट्टामा बिझेको काँडा निकालेसरहको आनन्द हुनेछ । नेपाल–भारतबीच जनता जनताबीचको सम्बन्ध सुधारको प्रवेशद्वार पनि यहीबाट सुरु हुनेछ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्