Logo
Logo

राजनीतिमा विचौलिया हाबी



मुलुकमा समाजसेवाको कुँडो खाएर बेथितिको भाषा डुग्रिनेहरुको कमी छैन । देशप्रेमको शिरफूल पहिरिएर देशकै अस्मितामाथि प्रहार गर्नेहरूको बिगबिगी नै छ । पूँजीवादी स्वार्थको दोकान थापेर समाजलाई भ्रमित तुल्याउनेहरुको अघि आज मूल्य, मान्यता र त्याग भन्ने कुरा एकादेशको कथाजस्तै बनेका छन् । यिनीहरु छद्मभेषमा देशको सम्पत्तिमाथि रजाइँ गर्न हदैसम्म गिर्न सक्ने कलाले भरिपूर्ण हुन्छन् ।

विवेकको घाँसेमैदानलाई पैतालाले कुल्चिँदै सत्ताको बल्छी निल्ने दाउ लगाएर निरन्तर स्वार्थको कुम्लो वरपर दौडिरहन्छन् । देश परिवर्तनको लक्ष्य र उद्देश्य भन्ने कुरो यिनीहरुदेखि कोशौँ दूरीमा ख्याउटिएर बसेको हुन्छ । संघर्ष र चुनौतीका अघि यस्ता स्वार्थका थुप्रोहरु कहिल्यै ढिप्किन चाहँदैनन् । अलिकति समयमा अन्योलता जहाँ थपियो त्यहीँ प्रहार गरेर आफ्नो झोली कस्ने आचरण यो समूहको चलिआएकै पेशागत रित हो ।

बाहिर मूल्य र मान्यताको अथाह रटान लगाएर आफूभित्रको लालचलाई साम्य पार्ने चेष्टा हरबखत गरिरहन्छन् । आवश्यकता परेको खण्डमा उपल्लो कमिटीको पैताला मुसार्नेदेखि दोहोलो काढ्न पनि यिनीहरु कुनै कन्जुस्याइँ गर्दैनन् । हुन त यिनीहरुको आयु त्यति दीर्घ हुँदैन, यद्यपि, जति बाँच्दछन्– समाजलाई गहिरो हानी पु¥याइरहेका हुन्छन् ।

सामान्यतया राजनीति गरिरहेको कुनै पनि व्यक्तिले दल वा समूह त्याग्न सम्बंन्धित पार्टी अथवा संस्थाले बाटो बिराएको हुनुपर्छ । सिद्धान्त कुल्चिएर अन्यत्रैको यात्रा तय गरेको हुनुपर्छ । वर्गीय धरातल छाडेर नीहित मान्छेका सीमित चाहना पूरा गर्ने मार्गमा पार्टी अथवा नेतृत्व लागिपरेको छ भने त्यसलाई त्यागेर विचार मिल्ने दलहरुमा प्रवेश गर्नु सामान्य कुरो हो ।

यहाँ मन मिलुन्जेल खुबै देवत्वकरण गरिन्छ, सबै सामान्य मानिन्छ । जब मन फाट्छ, त्यसपछि दानवीकरण सुरु हुन्छ । नेपालका राजनीतिक पार्टी फुट्नु या जुट्नुमा सिद्धान्त र कार्यदिशाले खासै कुनै अर्थ राख्दैन । सत्ताको बल्छी निल्ने दाउ लगाएर निरन्तर स्वार्थको कुम्लो वरपर दौडिरहन्छन् ।

भत्किन खोजेको पुरानै पार्टीबाट अग्रसोंच राख्ने निश्चित समूहको केन्द्रीकृत एकत्वबाट नयाँ ढंगको अभियान आरम्भ गरिनु पनि सामान्य कुरो नै हो । यो संसारभर चल्दै आएको प्रचलन हो । यद्यपि, हाम्रोमा त्यसो हुँदैन ।

यहाँ मन मिलुन्जेल खुबै देवत्वकरण गरिन्छ, सबै सामान्य मानिन्छ । जब मन फाट्छ, त्यसपछि दानवीकरण सुरु हुन्छ । नेपालका राजनीतिक पार्टी फुट्नु या जुट्नुमा सिद्धान्त र कार्यदिशाले खासै कुनै अर्थ राख्दैन ।

मात्रै विलोशान्तिका लागि चाहिएको खण्डमा राजावादी र गणतन्त्रवादी एक हुन्छन् । वर्ग शत्रु भनिएका कांग्रेस र कम्युनिष्टहरू चाटाचाट गर्छन् । देशको हित हुने मुद्दामा जतिसुकै विभाजित बने पनि आफ्नो दुनो सोझ्याउने मेलोमा यिनीहरुभित्र कुनै आशंका देखिँदैन ।

अझ खतरापूर्ण रुपले मौलाएको एउटा ‘तरमारा’ खेमा छ । जसले सत्ताको रसपानका खातिर आफूलाई जस्तोसुकै भँड्खालोमा पनि हाल्न तयार छ । खुट्टा उचालेर बसेको त्यो खेमालाई चुनाव घोषणा हुन बेर हुन्छ ।

अघिल्लो चुनावताका नयाँ भान्सामा छिरेको त्यो ‘तरमारा’ ग्याङ अब फेरि कता दाउ लाग्छ, उतै हामफाल्ने हो । यदाकदा यसको सुरुवात पनि भइसकेको छ । उस्तै पर्ने हो भने यो समूहले बिहान घरबाट निस्किएदेखि बेलुकी घर नफिर्दासम्म पाँच–दशवटै पार्टीको अबिर–माला लगाइसकेको हुन्छ । यसलाई राजनीतिको अन्तर्य घोक्न र खोक्न जरुरी छैन ।

सामाजिक गतिविधि र देशको परिस्थितिसँग झन झिनो पनि वास्ता हुँदैन । बिहान निद्राबाट बिउँझिदा ‘म कुन पार्टीमा छु ?’ भन्नेसम्म सत्रपल्ट सोंच्नुपर्ने यो समूह चुनावी अभियानको एउटा गतिलै विचौलिया राजनीतिमा हाबी छ ।

‘मौकामा चौका नहानेपछि परिन्छ’ भन्ने युक्तिलाई मूलमन्त्र ठान्ने यो समूहले अहिलेका प्रत्येक राजनीतिक दलहरुभित्र गतिलो स्थान ओगटेर बसेको छ । एउटा भ्रष्टले अर्को भ्रष्टलाई र एउटा दलालले अर्को दलाललाई दिएको आदर्श जीवनको उपमा र उपदेशका बीचमा यो ‘तरमारा’ समूहले राम्रै माछा मारिरहेको छ ।

सत्ता सञ्चालकहरू देशको विकासमा भन्दा नाफाखोरीमा व्यस्त हुन थालेदेखि नै मुलुक उँधोगतिमा लागेको हो, त्यो आजपर्यन्त पनि जारी नै छ । जबसम्म राजनीतिक नेतृत्वमा इमान्दारिता आउँदैन, तबसम्म जुनसुकै प्रणाली बदले पनि देशमा सुधार आउँदैन ।

काम व्यक्तिले गर्ने हो, स्वतः प्रणालीले होइन । देश र आम नागरिकहरूलाई बढीभन्दा बढी बाह्य र आन्तरिक ऋणको पासोमा धकेल्दै नियोजितरूपमा देशलाई अक्करे भिरमा धकेल्न एकमुख भएर प्रमुख दलहरू लाग्नु नै अहिलेको दुर्भाग्यपूर्ण अवस्था हो ।

यही अवस्थाको फाइदा उठाएर आँसुको दहमा डुबिरहेका यो देशका बग्रेल्ती सपनाहरुमाथि खेलवाड गर्नु एकथरि जमातको मौलिक हकजस्तै बनेको छ । यिनीहरुले समग्रतया देशलाई दुःखदायी, दयनीय र बिचित्र स्थितिमा पु¥याएका छन् ।

राज्य स्रोतको दोहन गरेर खान पल्किएकाहरूको मुहारमा चिन्ताको कुनै संकेत छैन । पश्चाताप भन्ने धर्सो भेटिँदैन । प्रफुल्लित मुद्रामा अरुलाई उपदेश दिएरै आफूलाई सर्वोपरि भन्ठानेर गमक्क परेका छन् ।

यिनीहरुका अघि आदर्श र मूल्यका कुरा त उतिबेला पण्डितले ‘किताबका माछा पो नखानु भनेको, खोलाका माछा त मज्जाले खानु्पर्छ लाटा’ भनेजस्तै हो । आउँदो निर्वाचनमा पनि ठूला दलको तत्काल विकल्प छैन ।

फाट्टफुट्टबाहेक जित्ने तिनै नेता र दलका उम्मेदवार हुनु । केही पराजित होलान् तर अहिल्यै दलको विकल्प छैन । केही चमत्कार नै हुने होइन, जसरी पनि फेरि अर्को कार्यकाल बोंसो लाग्ने उनै तरमाराहरूकै हो ।

– लमही, दाङ

प्रतिक्रिया दिनुहोस्