Logo
Logo

विशाललाई गठबन्धन फलामको चिउरा, तेस्रो पटक संसद छिर्लान् ?



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा भएसँगै नेताहरू तयारीमा जुटेका छन् । सत्ता गठवन्धन आगामी मंसिर चार गते हुने निर्वाचनमा पनि तलमेल गरेरै जाने भएका छन् । त्यसको प्रत्यक्ष असर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पर्ने देखिन्छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा ठूलो बनेको दल एमाले यसपटक कमजोर हुने देखिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले पनि त्यसलाई नै देखाइरहेको छ । गत निर्वाचनको आफ्नो साख जोगाउन एमालेलाई निकै मुस्किल देखिन्छ ।

अघिल्लो निर्वाचनभन्दा यो पटकको निर्वाचन धेरै फरक हुने आकलन गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरुको गठबन्धनको प्रत्यक्ष असर एमालेलाई पर्छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आगामी निर्वाचनमा फलामको चिउरा सरह हुने देखिन्छ । अघिल्लो निर्वाचनमा विशाल खोटाङबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । त्यसबेला उनलाई वाम गठवन्धनको साथ थियो । यो निर्वाचनमा विशाल अर्थात् एमाले एक्लै गठबन्धनसँग लड्ने तयारीमा छन् ।

एमालेले विशाललाई नै टिकट दिने एमालेका नेताहरुको दाबी छ । एमालेका अरु नेताहरु पनि प्रतिनिधिसभामा आकंक्षी छन् । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशालाई नै टिकट दिने स्रोतको दाबी छ । प्रदेश सांसद उषाकला राईसँगै केन्द्रीय सदस्यहरू खगेन्द्र राई र रमेश पौडेलले पनि आगामी हुने प्रतिनिधिसभमा उठ्ने तयारी गरेका छन् ।

संसद विघटन गर्दा उषाकला र उनका श्रीमान् शेरबहादुर तामाङले ओलीलाई साथ दिएका थिए । तत्कालिन नेकपा विभाजनको सँघारसम्म आइपुग्दा उनीहरु माधवकुमार नेपाल समूहमा खुलेका थिए । तर, त्यसको केहि दिनमै पत्रकार सम्मेलन गर्दै ओली समूहमा फर्किएका थिए ।

त्यसैले उषाकलालाई टिकट दिन ओलीलाई दबाब पर्न सक्छ । समस्या पर्दा साथ दिएका कारण देखाउँदै ओलीबाट टिकट फुत्काउने दाउमा छन् उषाकला ।

विशाल जिल्लामा राम्रै नेताको रुपमा चिनिन्छन् । जसले गर्दा पनि ओलीले उनलाई नै टिकट दिने एमालेकै नेताहरु बताउँछन् । टिकट पाउने आसमै उनले निर्वाचन केन्द्रित कार्यक्रम पनि गर्न थालिसकेका छन् । र, यसपटक पनि खोटाङमा एमालेले नै जित्ने उनको दाबी छ ।

दृष्टि न्युजसँग कुरा गर्दै उनले भने, ‘गठबन्धन गरे पनि खोटाङबाट एमाले एक्लैले सहजै जित्छ । एमाले जित्दैन भनेर शंका गर्नुपर्दैन । स्थानीय तहको जस्तो यो निर्वाचन हुँदैन । जित निश्चित छ ।’

खोटाङबाट एमालेले जित्ने विशालको दाबी भएपनि गत स्थानीय तहको निर्वाचनले एमाले निकै कम्जोर देखिएको छ । ०७४ को निर्वाचनमा पहिलो भएको एमाले गत वैशाखको निर्वाचनमा तेस्रो स्थानमा झरेको छ । अघिल्लो निर्वाचनमा पाँच पालिका प्रमुख, सात उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमालेले यसपपटक दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा खुम्चिएको छ ।

स्थानीय तहको मत परिणामलाई आधार मान्ने हो भने यो पटक खोटाङमा एमाले पराजित हुने निश्चितजस्तै छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीले पनि हेभी वाईटकै नेतालाई उम्मेदवारी बनाउने तयारी गरेका छन् । तर, अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागेको छैन ।

प्रदेशमन्त्री राम कुमार राई ‘पासाङ’ले भने, ‘गठबन्धनभित्र कसलाई उम्मेदावरी बनाउने भन्ने विषयमा छलफल जारी छ । कांग्रेस र माओवादी केन्द्रका धेरै नेताहरु आकंक्षा देखाउनु भएको छ । छलफल गरेर उम्मेदवारी टुंग्याउछौँ ।’

यो पटक खोटाङमा गठबन्धनले जित्ने उनको दाबी छ । उनले भने, ‘यो पटक एमालेले जित्ने सपना नदेखे हुन्छ । एमालेले १० हजार मत पनि ल्याउँदैन ।’

स्रोतका अनुसार माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज समिता कार्की ‘अस्मिता’, पोलिटब्युरो सदस्य पासाङ, पोलिटब्युरो सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईलगायतका नेताको दाबी छ ।

नेपाली कांग्रेसबाट पूर्वराज्यमन्त्री सर्वधन राई, सरस्वती बजिमय, युवा नेता सुवासकुमार पोखरेललगायतका नेताहरुको दाबी छ ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले भने संघीय परिषद अध्यक्ष अशोक राईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन सिफारिस गरेको छ । २०४८ र ०५१ सालको निर्वाचनमा उनी खोटाङबाट निर्वाचित भएका थिए ।

नेकपा (एकीकृत समाजवादी)ले भने पोलिटब्युरो सदस्य तथा प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

खोटाङबाट तेस्रोपटक प्रतिनिधिसभा सदस्य दाउमा छन् विशाल । ०७४ सालको निर्वाचनमा उनी ३५ हजार ३७७ मत ल्याएर विजयी भएका थिए । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सरस्वती बजिमयले २१ हजार ६१२ मत प्राप्त गरेका थिए । ०७४ को निर्वाचनमा विशाललाई नेकपा माओवादी केन्द्रको साथ थियो । तर, उनी एक्लो छन् ।

०७० सालमा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नं २ बाट उनी निर्वाचित भएको थिए ।

प्रतिक्रिया दिनुहोस्