Logo
Logo

‘बुटिक विमानस्थल’ बनाउने तयारी हुँदैछ : मन्त्री भट्टराई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ साउन । राष्ट्रियसभाको बैठकमा सांसद डा.बिमला पौड्यालले ‘पर्यटनसँग सम्बन्धित भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न’ प्रस्तुत गरेको प्रस्तावमाथि छलफल सुरु भएको छ ।
छलफलमा सहभागी सांसदहरुले भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्नुपर्ने सांसद डा। राईको प्रस्तावको समर्थन गर्दै सोसँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेश भट्टराईले सो प्रस्तावमाथि उठेका प्रश्नको उत्तर दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा बनाउने तयारी भइरहेको जानकारी दिए ।
मन्त्री भइसकेपछि पहिलोपटक राष्ट्रियसभामा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मौलिक संस्कृति र नेपालका प्रमुख विशेषतालाई झल्काउने खालको विविधतालाई समेट्ने तयारी भएको जानकारी दिए ।
मन्त्री भट्टराईले मौलिक कला र संस्कृति जोगाइराख्न भूकम्पबाट क्षतिग्रस्त २७८ सम्पदा पुनर्निर्माण भइसकेको र दुई वर्षभित्र ३८९ वटा सम्पादा पुनर्निर्माण गर्ने तयारी भएको स्पष्ट पारे । पुनर्निर्माणमा नेपालबाट मात्र नभई दातृ राष्ट्रबाट पनि सहयोग आउने भएकाले समयमै निर्माण गर्न कठिनाइ हुने जानकारी दिँदै नेपालको मौलिक कला र संस्कृतिको संरक्षणमा जोड दिन सबै मन्त्रालय र सरोकारवालापक्षसँग आग्रह गरे ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरललाई कार्यवाहक प्रधानमन्त्री तोकिएको सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्योपचारका लागि सिंगापुर जानुभएकाले दैनिक प्रशासनिक कामकारवाहीका लागि नेपालको संविधानअनुसार उपप्रधानमन्त्री पोखरेललाई कार्यभार तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्