Logo
Logo

२५ करोड लगानी गर्नेलाई जबर्जस्ती निकालेर क्यासिनो रोयल कब्जा गर्ने को को हुन् ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालमा बिदेशी लगानी आकर्षित गर्न करोडौं खर्च गरी सम्मेलन गरिन्छ । तर विदेशी लगानीको सुरक्षातर्फ भने सरकारको ध्यान पुग्नसकेको छैन । क्यासिनो रोयलमा भारतीय नागरिक आशिष पटेलले २५ करोड रुपैयाँ लगानी गरे । तर उनले २५ करोड रुपैयाँ लगानी गरेको रोयल क्यासिनोबाट उनलाई एक रुपैयाँ पनि फिर्ता नदिई सुनिल रायमाझी र मनोज सुवेदीले क्यासिनो हडपेका छन् ।

पटेलले विदेशी लगानी ल्याउनका लागि गर्नुपर्ने कानुनी प्रावधान पूरा गर्न खोज्दा झुलाएपछि क्यासिनोकै मजदुर जयन्ती थापाको नाममा लगानी गरेका थिए । पटेलले जयन्ती थापाको नाममा लगानी गरेको कुरा थाहा पाएपछि सुनिल रायमाझी र मनोज सुवेदी क्याििसनोबाट उनलाई निकाल्ने खराब नियतका साथ लागे । उनीहरुले जयन्ती थापालाई उचालेर पटेललाई निकाल्न लगाए । पटेललाई निकालिसकेपछि रायमाझी र सुवेदीले जयन्ती थापाका बिरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी हाल्न लगाए ।

सुनिल रायमाझी, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा परेको उजुरी र जयन्ती थापा

क्यासिनोकी सामान्य मजदुर जयन्ती थापाले २५ करोड लगानी कसरी गरिन्, स्रोतको खोजी गर्न माग गर्दै उजुरी हाल्न लगाएपछि रायमाझीहरुले उक्त क्यासिनो कब्जा गरेका छन् । जयन्तीलाई तर्साएर उनीहरुले क्यासिनो आफ्नो नाममा ल्याइसकेका छन् । जयन्तीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरेको छ, हामी मिलाइदिन्छु भनेर एकाध करोड रुपैयाँ दिएर उनलाई चुप गराएका छन् । र, रायमाझी र सुवेदीले क्यासिनो कब्जा गरेका छन् । अहिले जयन्ती क्यासिनोबाट बाहिरिसकेकी छन् । सम्पत्ति शुद्धिकरण विभागका प्रहरी शाखाका एसपी प्रकाश रानाभाट रायमाझीका नातेदार हुन् । उनैमार्फत् जयन्तीलाई तर्साएर भगाई रायमाझीले क्यासिनो कब्जा गरेका छन् । सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक रुपनारायण भट्टराईले क्यासिनो रोयलको उजुरीमा गँभीर अनुसन्धान गर्न खोज्दा पनि एसपी रानाभाटले घुस खाएर आलटाल गर्दैआएका छन् । रायमाझीले सम्पत्ति शुद्धिकरणमा ठूलो रकम घुस खुवाएर जयन्तीलाई तर्साउन लगाई भगाउन सफल भएका छन् ।

रायमाझीमाथि नक्कली भारतीय नोटको कारोबार गरेको आरोप पनि लागेको थियो । अनुप भन्ने अनुराग प्रधान र उनको नाम नक्कली भारतीय नोटको कारोबारमा मुछिने गरेको छ । यद्यपि उनले २ बर्षअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका हाकिमहरुसाग सम्बन्ध राखी भारतीय दूताबासमा पुगेर याचना गरी आफूलाई निर्दोष सावित गरेको बताउँदैआएका छन् । तिनै रायमाझीले २५ करोड लगानी गरेका भारतीय नागरिक पटेललाई एक पैसा पनि नदिई लखेटेका छन् । मनोज सुवेदी भने विवादास्पद अख्तियारका पूर्वप्रमुख दीप बस्नेतका ज्वाई हुन् । पटेल भने २५ करोड डुबेपछि फिर्ता गराइपाउँ भनी अनुनय विनय गर्दै हिंडिरहेका छन् । क्यासिनो रोयलमा २५ करोड लगानी गर्ने पटेललाई अन्जली श्रेष्ठ नामक महिलाले पैसा दिलाइदिने भन्दै बोकेर हिंडेकी छन् । उनले सुनिल रायमाझी र सुवेदीसँग पनि मोलतोल गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्