Logo
Logo

हराएका महिला तथा बालबालिकाको खोजी सुरु


- दृष्टि न्युज/संवाददाता


नेपालगञ्ज, २४ साउन । बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ ।
भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको आधारमा उनीहरुको उद्धार प्रयास थालिएको हो ।
यहाँस्थित माइती नेपालमा आफन्त खोजीको निवेदन दिनेको संख्या विगत नौ महीनाको अवधिमा ५०० भन्दा बढी पुगेको छ । त्यसमध्ये १३६ को सकुशल र यौन शोषणमा परेका ५७ जनाको उद्धार गरिएको छ ।
यसअघि दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यसअघि पनि तीन महिलाको उद्धार दिल्लीबाटै भएको थियो भने जोखिमपूर्ण यात्रामा रहेका ३५१ लाई बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो ।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारिरीक, मानसिक तथा यौन शोषण भएको पाइएको छ । ‘बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले गैरकानूनीरूपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ’, संयोजक कोइरालाको भनाइ छ ।
कामको प्रलोभनमा गैरकानूनीरूपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्यांकमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार संख्यासमेत बढेको छ ।
राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई गैरकानूनीरूपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनको भनाइ छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट समेत फिर्ता पठाउने गरेको छ ।

मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्यानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ ।
यसका साथै, जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्धार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाहरुको पुनःस्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार, पुनःस्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्