Logo

खाडी युद्धको सम्झना : इराकबाट ४६ कुवेतीको शव फिर्ता


Published On : 9 August, 2019

बग्दाद, २४ साउन (सिन्ह्वा) । कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप र अमेरिकी अग्रसरतामा भएको युद्धका क्रममा बेपत्ता भएका थिए ।
इराकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इराकी अधिकारीहरुले रेडक्रसको सहयोगमा इराकमा बेपत्ता भएका तर इराकमै मारिएका कुवेतीको अवशेष फिर्ता गरिएको उल्लेख गरेको छ । इराकले बेपत्ता कुवेतीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न चाहेको पनि विदेश मन्त्रालयले जनाएको छ ।
युद्धका समयमा बेपत्ता भएका कुवेतीहरुको खोजी गर्न गठित टोलीले इराकको दक्षिणी मुथान्ना प्रान्तमा गत मार्च ६ मा सामूहिक चिहान फेला पारेको थियो । मन्त्रालयको वक्तव्यमा विस्तृत अध्ययनबाट उक्त चिहानमा फेला पारेका व्यक्तिहरुका अवशेष कुवेती नागरिकको रहेको प्रमाणित भएको उल्लेख छ ।
सञ्चार माध्यमहरुले सामूहिक चिहानमा फेला परेका व्यक्तिका अवशेषहरु सन् १९९१ को खाडी युद्धका कुवेती युद्धबन्दी रहेको बताएका थिए । मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘इराकमा बेपत्ता कुवेतीको खोजीमा इराकले कुनै कसर बाँकी राख्ने छैन ।’

सन् १९९१ देखि नै कुबेती युद्धबन्दीको खोजी र हस्तान्तरणमा इराकी रेडक्रसले गरेको सहयोगप्रति इराक सरकारले धन्यवाद पनि दिएको छ ।
इराकका लागि कुवेती राजदूत सलिम अल–जमानानले दुई देशबीच सुल्झन बाँकी मुद्दाहरुलाई सम्बोधन गर्न इराकी सरकारले देखाएको तत्परताप्रति आभार व्यक्त गर्नुभएको छ । इराकमा बेपत्ता कुवेती नागरिकको खोजीमा भएको प्रगति निकै उत्साहजनक रहेको कुवेतको भनाई छ ।
कुवेतले खाडी युद्धपश्चात् झण्डै ६०० कुवेती नागरिक बेपत्ता रहेको बारम्बार दाबी गरिरहेको छ । अमेरिका समेतका गठबन्धन सेनाको सहयोगमा सन् १९९१ मा इराकी सैनिकको कब्जाबाट कुवेत स्वतन्त्र भएको थियो ।

प्रतिक्रिया दिनुहोस्