
काठमाडौं । बागमती प्रदेशको केही स्थानमा आज भारी वर्षा हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नवलपरासी (पूर्व)का केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएको छ ।
‘यसबाहेक बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारी वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।














