Logo
Logo

मानव-वन्यजन्तुको द्वन्द्व बढ्दै


756
Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको गाउँ पिलरीफाँटाका हरपाल चौधरीले तीन वर्षदेखि बर्खे बाली भित्र्याउन पठाएका छैनन् । जङ्गली जनावरले खेतबारीमा पसेर धान, मकैलगायतको बाली खाइदिन थालेपछि परिवार पाल्न अन्यत्र मजदुरी गर्न जानुपरेको छ ।

वन संरक्षणमा जोड दिइएपछि बिरलै देखिने वन्यजन्तु हाल खेतवारीमा देखिन थालेका छन् । एक विघा जग्गामा लगाएको धानबाली जङ्गली हात्तीले भित्र्याउन नदिने गरेको चौधरीले बताए । ‘हिउँद्मा सुँगुरले खेतबारीमा बसेर गहुँबालीमा क्षति पु¥याउँछ’, उनले भने, ‘वर्षात्का बेला हात्तीको बथानले खेतमा रोपेको धान सखाप पार्छ ।’ पहिला वर्षभरि पुग्ने अन्नले अहिले दुई महिना पनि खान नपुग्ने गरेको उनको गुनासो छ ।

जङ्गली जनावर भगाउन रातभरि खेतमै जाग्राम बस्ने गरेको सोही ठाउँका वीरसिंह धामीले बताउछन् । ‘हात्तीको बथान साँझ नपर्दै खेतमा पुग्ने गर्दछ, पेटभरि खाएर मात्रै फर्कने गर्दछ’ उनले भने, ‘भगाउँदा उल्टै आक्रमण गर्न आउने भएकाले कुन दिन ज्यान ज्याने हो ठेगान छैन, फलेको धान हात्तीले खाएर नोक्सान पु¥याउँदा टुलुटुलु हेर्नु बाहेक अर्को विकल्प छैन ।’ एक साताअघि स्थानीय एक बालिकाको हात्तीले ज्यानै लिएको थियो । ‘पहिला पटका पड्काउँदा, आगो देखाउँदा, टिन ठटाउँदा हात्ती भाग्थ्योे’ धामीले भने, ‘अहिले त जुनसुकै उपाय गर्दा पनि हात्ती भरपेट खाएर नअघाएसम्म फर्किन मान्दैन ।’

साँझ खेतमा छिरेको हात्तीको बथान धान बाली खाएर बिहानीपख मात्रै सामुदायिक वन क्षेत्रमा फर्कने गरेको छ । स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा डेढ दर्जन हात्तीको सङ्ख्या रहेको छ । हात्तीलगायतका अन्य जनावर भगाउन बस्ती नजिकका क्षेत्रमा स्वचालित सेन्सरयुक्त बत्ती जडान गर्न लागिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए । ‘केही सामुदायिक वनहरुले बत्ती जडानमा सहयोग गरिरहेका छन्’, उनले भने, ‘केही वडाबाट बत्तीको व्यवस्था मिलाउन लागेका छौं, हात्ती बस्तीमा छिरेमा सर्वसाधारणलाई सचेत रहनका लागि खबरदारी गर्न पूर्व सूचना प्रणाली जडान समेत गरिएको छ ।’

ठाउँठाउँमा सिसिटिभी जडान गरेर हात्तीको निगरानी गर्ने कार्य समेत हुँदै आएको छ । हात्ती भगाउन स्थानीय बासिन्दा खेतवारीमा खटिने भएकाले मानवीय क्षति हुन नदिन सचेतनाका कार्यक्रम सञ्चालन भैरहेको उनले जानकारी दिए । उनका अनुसार हात्तीको बथानले तीन साताको अवधिमै वडा नं ८ का २५ भन्दा बढी किसानको ३० विघा धान खेतीमा नोक्सानी पु¥याइसकेको छ । तीन विघा मकैमा पनि नोक्सानी गरेको छ । बाल विकास भवन, स्यालो टयुवेल, सामुदायिक वनको कार्यालयको भवनमा पनि हात्तीले क्षति पु¥याएको वडाध्यक्ष महराले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै नजिकका सामुदायिक वन आसपासका गाउँमा हात्तीको बथानले बढी क्षति पु¥याउँदै आएको छ । शुक्लाफाँटा नगरपालिका–७ र ८ का किसानको खेतबारीमा बढी नोक्सानी गरेको छ । हात्तीले कुल्चन बाँकी रहेको धानबाली सुँगुरको हुल आएर खाएर जाने गरेको छ । वर्षात् सकिएपछि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगतको नगरपालिकाको वडा नं १ देखि ६ सम्म वितण्डा निम्त्याउने गरेको छ ।

धान काट्ने बेला यी वडाहरुमा हात्तीको बथानले धानबाली खाने मात्र होइन, घरभित्र राखेको धानसमेत पर्खाल भत्काएर खाने गरेको छ । त्यसपछि हात्तीको बथान पुरानै बासस्थान भारतीय दुधुवा नेशनल पार्कतर्फ फर्कने गर्दछ । गहुँबाली पाक्नै लागेका बेला पुनः दुधुवाबाट फर्केर नोक्सानी गर्दै आएको स्थानीय नरेन्द्रप्रसाद चौधरी बताउछन् ।

तीन वर्षको अवधिमा हात्तीको आक्रमणबाट कञ्चनपुरमा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन । जङ्गली सुगुँरको आक्रमणबाट दुई वर्षको अवधिमा आठ जना घाइते भएका छन् ।

निकुञ्ज नजिकैको गाउँ सिमलफाँटा धनबहादुर चौधरी भने हात्ती भन्दा बढी निलगाई र चितलको बथानले खेतमा रोपेको धान बाली र गहुँबाली खाएर नोक्सानी पु¥याउने गरेको बताउछन् । ‘गहुँ टुसाउन नपाउँदै जङ्गली जनावरले सखाप पार्छन्’, उनले भने, ‘खेतवारीभित्रै सुगुँरले घोल बनाई बस्ने गर्दछन्, खेतमा लगाएको आधा अन्न पनि घरभित्र भित्र्याउन पाइँदैन ।’ खेती गर्दा लगानी गरेको रकम समेत नउठ्ने गरेको उनको भनाइ छ ।

यसैगरी भारतीय वन क्षेत्र हुँदै नेपाली बस्तीमा छिर्ने हात्तीले दोधारा चाँदनी नगरपालिकाको वडुवाल टोलमा समेत किसानको बालीनालीमा नोक्सानी पु¥याउने गरेको स्थानीय किसानहरु बताउँछन् । केही महिनाअघि मात्रै शुक्लाफाँटा नगरपालिका –१ र २१ मा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका बाख्रा र घरमा पालेका कुकुर खाएर हैरानीमा पारेको थियो । निकुञ्ज क्षेत्रबाट नजिकका जानकी, लक्ष्मी, जनज्योति मध्यवर्ती सामुदायिक वनभित्र बस्ने गरेको चितुवाले नोक्सानी पु¥याउन थालेपछि स्थानीय बासिन्दाले चितुवालाई निकुञ्जमै भगाएका थिए ।

वन क्षेत्र नजिकै घर भएकाले कुन बेला कस्तो किसिमको वन्यजन्तुले आक्रमण गर्ने हो भन्ने चिन्ताले स्थानीयवासी सधैँ त्रसित बन्ने गरेका छन् । गत वर्ष वन क्षेत्र नजिकै दाउरा खोज्न गएका बासिन्दालाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो ।

हात्ती र सुगुँरले घर बस्तीमै पुगेर नोक्सान पु¥याउने र मानवीय क्षति गर्ने भए पनि अन्य जनावरसँगको मानवको द्वन्द्व भने वन क्षेत्रमै हुने गरेको छ । घाँस, दाउरा गर्न गएका बेला चितुवा, गैंडा, बाघलगायतका जनावरले आक्रमण गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्