काठमाडौँ । सरकारले बन्द रहेका मुलुकका औद्योगिक क्षेत्रलाई पुनःसञ्चालनका लागि आवश्यक तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न कारणले बन्द उद्योगलाई चालु आर्थिक वर्षभित्रै सञ्चालन गर्न मन्त्रालयले नीतिगत व्यवस्था गर्दै लगानीको ढाँचा तयार गरिरहेको जानकारी दिए ।

मन्त्री बडूले मन्त्रालयको नेतृत्व सम्हालेको पाँच महिनामा मन्त्रालय र मातहतबाट सम्पादन भएका मुख्य कार्यहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निजी क्षेत्रको साझेदारीतामा सरकारले बन्द उद्योग पुनः सञ्चालन गर्ने नीति लिएको बताए । गत चैत २४ गते मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
उनले भने, ‘औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने र बन्द उद्योगलाई पुनः सञ्चालन गरिन्छ । चालु आर्थिक वर्षभित्रै यो प्रक्रियालाई कार्यान्वयनमा लैजान आवश्यक कानून, कार्यविधि, नियमावली बनाउने र लगानीको ढाँचा तयार गर्ने दिशामा मन्त्रालय अगाडि बढेको छ ।’
सरकारले निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिई उनीहरुको साझेदारीलाई प्राथमिकता दिएर मुलुकका समग्र उद्योग क्षेत्रलाई सञ्चालन गर्दै रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिएको उनले उल्लेख गरे ।
बजार अनुगमनलाई प्रभावकारी बनाइने
उद्योगमन्त्री बडूले दसैँ, तिहारलगायत चाडपर्व लक्षित दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था र महङ्गी नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाइने बताए ।
दैनिक उपभोग्य वस्तुको बजार अनुगमन नभएको गुनासो आम उपभोक्ताबाट आएको भन्दै उनले मन्त्रालय र मातहत निकायले सोचेअनुरूप प्रभावकारी अनुगमन गर्न नसकेको बताए । उनले तीनै तहका सरकारको समन्वय र सक्रियतामा मात्रै अनुगमन कार्यलाई प्रभावकारी बनाउन सकिने धारणा राखे ।
सातै प्रदेशका सम्बन्धित मन्त्रीसँग देखिनेगरी अनुगमन र महङ्गी नियन्त्रणका लागि छलफल गरेको भन्दै मन्त्री बडूले सबै स्थानीय तहसँग पनि चाँडै छलफल गरेर आवश्यक पहल गरिने विश्वास व्यक्त गरे । दसैँ तिहाको सहुलियत बजार असोज १ गतेदेखि सञ्चालन गरिने र त्यहाँ विगतका भन्दा धेरै वस्तुको बिक्री गरिनुका साथै राहत र प्रोत्साहन पनि बढाउने योजना रहेकाले चाडपर्वमा बजार महङ्गी नियन्त्रणमा केही हदसम्म सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
अवस्था हेरेर प्रतिबन्धित वस्तु खुलाउछौँ
उद्योगमन्त्री बडूले मुलुकको अवस्था, मुद्रा सञ्चितिलाई मध्यनजर गरी प्रतिबन्धित १० वस्तुमध्ये छ वटा खोलिएको भन्दै बाँकी चार वस्तु खुलाउन अध्ययन भइरहेको जानकारी दिए । ‘मुलुकको अर्थतन्त्रको अवस्थालाई मूल्याङ्कन गरेर निश्चित वस्तुको आयातलाई प्रतिबन्ध गरिएको हो, यसको सकारात्मक प्रभाव पनि देखिएको छ । तर, एकातर्फ वस्तु आयात रोकिरहँदा अनौपचारिक च्यानलबाट वस्तु आयात रोकिएन, राजश्व गुमिरहेको विवरण आएको छ, सबै विषयमा अध्ययन गरिरहेका छौँ, वस्तु आयात प्रतिबन्ध सधैँका लागि हैन आवश्यकताअनुसार क्रमशः खोल्दै जाने नीति रहेको छ’, उनले भने ।
सरकारले प्रतिबन्ध लगाएका १० वस्तु मध्ये छ वटा खुलिसकेको छ । अब चार वस्तु तयारी मदिरा, चार पाङ्ग्रे सवारीसाधन, १५० सिसीभन्दा माथिका मोटरसाइकल र तीन सय अमेरिकी डलरभन्दा माथिका मोबाइलको आयातमा प्रतिबन्ध लगाइएको छ । ती वस्तुको पनि पुनः मूल्याङ्कन भइरहेकाले सरकारले चाँडै निर्णय लिने उद्योगमन्त्री बडूले जानकारी दिए ।
यस्ता छन् मन्त्रालयका मूख्य उपलब्धि
उद्योग मन्त्रालयले चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमअनुरूप प्राथमिकतायुक्त कामको योजनाबद्ध कार्यक्रम र प्रभावकारी कार्यान्वनयका लागि नीतिगत सुधारको काम गरिरहेको जनाएको छ ।
उद्योगमन्त्री बडूले कोभिड–१९ महामारीको प्रभावका कारण अर्थतन्त्रमा देखिएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गरी उद्योग व्यवसायलाई पुनः सञ्चालन तथा प्रवद्र्धन गर्न र आयात व्यवस्थापन गर्न मन्त्रालयले नीतिगत र कार्यक्रमगत सहजीकरण गरिरहेको जानकारी दिए ।
प्रभावित उद्योगलाई मौद्रिक तथा वित्तीय नीतिको माध्यमबाट सहुलियतपूर्ण कर्जा प्रवाह र ऋणको पुनः तालिकीकरण गर्नका साथै सो अवधिमा विभिन्न छुट सुविधा र सहुलियत प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
हिमाली जिल्लामा रैथाने उत्पादन प्रवद्र्धन, दुर्गम जिल्लामा खाद्य ढुवानी बढाइएको, मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न सरकारका तर्फबाट सहुलियत पसलहरुको व्यवस्थापनका साथै बजार अनुगमनमा तीव्रता दिइएको छ । आयात व्यवस्थापनका लागि विभिन्न नीतिगत व्यवस्थाका कारण विदेशी मुद्रा सञ्चितिमा क्रमिक सुधार हुँदै गएको प्रगति विवरण पुस्तिकामा उल्लेख छ ।












