Logo
Logo

‘रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्न कांग्रेसकोे आग्रह


1.4k
Shares

जनकपुरधाम । नेपाली कांग्रेसले जयनगर–कुर्था रेलमार्ग सहिदको स्मृतिमा स्थापना भएको ‘रेल्वे हल्ट’ (प्रतीक्षालय)कोे नामकरणलाई परिवर्तन नगर्न आग्रह गरेको छ ।

रेलमार्ग स्थापनाका बेला सहिद कामेश्वर यादव र कुशेश्वर मण्डलको नाम जोडिएर स्थापना गरिएको ‘सहिद कामेश्वर–कुशेश्वर हल्ट’ र सहिद सरोज कोइरालाको नाममा स्थापना गरिएको ‘सरोजनगर हल्ट’को नाम परिवर्तन गरिएको जनाइएको छ ।

‘सहिदहरुको योगदानलाई सम्झिन स्थापना गरिएको ती हल्टको नाम परिवर्तन गर्ने काम भएको छ, त्यो अत्यन्तै आपत्तिजनक छ’, कांग्रेसका नेता डा शेखर कोइरालाले भने, ‘यो सहिदप्रतिको अपमान हो । यसलाई कदापि स्वीकार गर्न सकिँदैन ।’
रेलमार्ग स्थापनाको समय धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा सहिद कामेश्वर–कुशेश्वर हल्ट र बिदेह नगरपालिकाको दुहवीमा सहिद सरोजनगर हल्ट स्थापना गरिएको थियो ।

‘तर अहिले कामेश्वर–कुशेश्वर हल्टलाई इनरुवा हल्ट बनाइएको छ भने सरोजनगर हल्टको अस्तित्व नै समाप्त पारिएको छ’, नेता डा कोइरालाले भने, ‘सहिदको नाम जोडिएर राखिएका दुवै रेल्वे हल्टको अस्तित्व समाप्त पार्ने कार्य हामीलाई स्वीकार्य छैन ।’ यस विषयमा पार्टीले खुलेर बोल्नुपर्छ, यो सहिदप्रतिको सम्मानको कुरा हो, उनको भनाइ थियो ।

‘दुहबी बजार नजिकै स्थापना गरिएको सहिद सरोजनगर हल्टमा पहिला रेल रोकिन्थ्यो’, कांग्रेसका नेता रामकृष्ण यादवले भने, ‘अहिले न त्यहाँ रेल रोकिन्छ, न त सहिद सरोजनगर हल्टमा कुनै बोर्ड नै छ ।’ उनले सहिद सरोज कोइरालाको इतिहास मेटाउने काम भएको भन्दै आफूहरुलाई दुःखित बनाएको बताए ।

‘सहिद कुनै पार्टी विशेषको हुँदैन, सबैको साझा हुन्छ’, उनले भने, ‘तर जसरी कांग्रेसको मात्र सहिद हो भन्ने मनसायका साथ सहिदहरूको योगदानमाथि प्रहार गर्ने काम भएको छ, यसलाई हामीले सच्याउनुपर्छ, यसलाई नसच्याए हामी चुप लागेर बस्न सक्दैनौँ ।’

‘यो कुनै पार्टी विशेषको कुरा मात्र होइन’, उनले भने, ‘यो त ऐतिहासिक व्यक्तित्वको पहिचानको कुरा हो, सहिदको सम्मानको कुरा हो, त्यसैले सहिदको सम्मान सबैले गर्नुपर्छ ।’

तत्कालीन पञ्चायती व्यवस्थाको सरकारले विसं २०२९ मा ल्याएको नयाँ शिक्षा योजनाको विरोधमा नेपाल विद्यार्थी सङ्घले गरेको आन्दोलनको क्रममा प्रहरीसँग धनुषाको यदुकाहामा झडप हुँदा गोली लागेर कामेश्वर यादव र कुशेश्वर मण्डलको मृत्यु भएको थियो ।

तत्कालीन पञ्चायतकालीन सरकारको विरुद्धमा सङ्घर्ष गर्दै आएका काङ्ग्रेस धनुषाका पूर्वसभापति तथा पूर्वसांसद सरोज कोइरालाको पञ्यायती सरकारको योजनामा विसं २०३० कात्तिक २ गते भारतको मधुवनीमा गोली हानेर हत्या गरिएको थियो । उहाँ कांग्रेसका नेतासँगै भारतमा प्रवास बस्दै आएका थिए ।

यसरी तत्कालीन पञ्चायत सरकारको निशानामा परेर सहिद भएका सहिदहरूको सम्मान गर्नुको साटो सरकारले सहिदका नाममा स्थापना भएको हल्टहरू हटाएर अपमान गर्ने काम गरेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले बताए ।

‘उहाँहरू ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँहरूले आफ्नो स्वार्थका लागि होइन, पञ्चायतका विरुद्ध बलिदानी दिनुभएको हो’, उनले भने, ‘यसैले उहाँलाई सम्मान गर्न अझै हल्ट, स्टेशन र चोकहरू थप्नुपर्नेमा भएकालाई पनि हटाउने काम गरेको छ, यसलाई गम्भीररूपमा हामीले लिएका छौँ ।’

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले सहिदहरूको नाममा स्थापना भएको हल्ट हटाएको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘हल्टको नाम राख्ने वा हटाउने काम सरकारको हो’ उनले भने, ‘हामीलाई त रेल चलाउने मात्र अधिकार छ, रेलको विषयमा मात्र जानकारी हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्