
काठमाडौं । भारत सरकारले आन्तरिक आपूर्तिलाई सहज बनाउन भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ ।
यसअघि गहुँ, चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले एकपछि अर्को निर्णय गर्दै खाद्यान्न निर्यातमा कडाइ गर्दै लगेको छ । बासमतीबाहेकको अन्य चामल निर्यातमा २० प्रतिशत निर्यात भन्सार महसुल लगाउने निर्णय गरेको रोयटर्सले जनाएको छ ।
भारतले विश्वका १५० भन्दा बढी देशमा चामल निर्यात गर्दै आएको छ । यो वर्ष धानको उत्पादन घटेका कारणले पनि निर्यातमा कडाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
चीनपछि भारत विश्वकै सबैभन्दा बढी धान उत्पादन गर्ने देश हो । विश्भर उत्पादन हुने धानमा भारतको ४० प्रतिशत हिस्सा छ भारत सरकारले सन् २०२१/२२ मा मात्रै २ करोड १२ लाख टन चामल निर्यात गरेको थियो ।
जसमा भारत सरकारले बासमति चामल मात्रै ३९ लाख ४० हजार टन निर्यात गरेको थियो । २० प्रतिशत कर लगाएसँगै नेपालमा त्यसको प्रत्यक्ष असर देखिने भएको छ । नेपालले वार्षिक ५० अर्ब हाराहारीमा चामल आयात गर्ने गरेको छ ।
नेपालले अधिकांश चामल भारतबाट आयात गर्ने भएकाले आगामी दिनमा चामलको मूल्य बढ्ने देखिन्छ ।