Logo
Logo

कांग्रेसको घोषणापत्रमा जिम्मेवार सोच र भरोसाको संकल्प रहनेछ : विश्वप्रकाश


819
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणापत्रमा जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता रहने बताएका छन् ।

सुन्दरीजल, वीपी सङ्ग्रहालयमा भएको १०९औँ वीपी जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नहुने उल्लेख गरे ।

आगामी आमनिर्वाचन कांग्रेसको घोषणापत्र निर्माण समितिको संयोजक रहेका महामन्त्री शर्माले भने, ‘घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेट्ने छ, कोही अझै शिक्षाबाट बञ्चित किन ? ‘ड्रपआउट’ कहिलेसम्म ? उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता किन ? विकल्प के र कसरी ? घोषणापत्र त्यसमा प्रबिस्ट हुनेछ ।’

कांग्रेसको घोषणापत्र निर्माणकार्य अब छिट्टै सुरु गर्ने जानकारी गराउँदै उनले पार्टीको ऐतिहासिक निरन्तरतालाई अब नवीनतामा लैजाने संकल्प घोषणापत्रले बोक्ने बताए । स्थापनाकालमा वीपी कोइरालाले लेखेका दस्तावेज, विसं २०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजहरूको गहिरो अध्ययन अबको घोषणापत्र निर्माण गरिने महामन्त्री शर्माले उल्लेख गरे ।

नेपाल आज जहाँ आइपुगेको छ, ती उपलब्धिहरूको स्मरण, यो अवधिमा भएका कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा व्यवहारिक घोषणापत्र निर्माण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘वीपीले परिकल्पना गर्नुभएको नेपाल र आजको नेपाली युवाको भावनालाई एकाकार गरेर व्यक्ति या दलको मात्र होइन, कांग्रेसको घोषणापत्रले ‘देशको सपना’लाई प्रकाश पार्ने प्रयत्न गर्नेछ, त्यसो गरिरहँदा ५० लाख बढीको सङ्ख्यामा विदेशमा रहेकोे ‘नेपाल बाहिरको नेपाल’को भावनालाई समेट्ने छ’, महामन्त्री शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्