Logo
Logo

जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना छ : प्रचण्ड


1.1k
Shares

कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता, राष्ट्र र सामाजिक क्षेत्रको जीवनप्रति स्वास्थ्य क्षेत्र संवेदनशील रहेको बताएका छन् ।

पार्टी निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आजदेखि पोखरामा सुरु भएको दुई दिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको विकासँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ नयाँ प्रविधिको विकास भएकाले जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना प्रबल बनेको उल्लेख गरे ।

उनले पूँजीवादले स्वास्थ्य क्षेत्रलाई व्यापारको विषय बनाउने र जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने प्रवृत्ति कायमै रहेको उल्लेख गरे । अध्यक्ष दाहालले भने, ‘समाजमा विद्यमान बढ्दो अन्तरविरोधले स्वास्थ्य क्षेत्र पनि पूँजीवाद र समाजवादको बीचको लडाइँको क्षेत्र बनिरहेको छ ।’

स्वास्थ्यमा भएको प्रगति, यस क्षेत्रमा भएको नयाँ नयाँ प्रयोग र आविष्कारले जनस्वास्थ्यमा गुणात्मक प्रगतिको सम्भावना रहेको पनि उनले औँल्याए ।

जनस्वास्थ्यकर्मी महासङ्घ तथा यससँग सम्बन्धित सबै घटक सङ्गठन जिम्मेवार बनेर जनस्वास्थ्यलाई सुलभ, सहज भरपर्दो बनाउने र जनतामा जनचेतना फैलाउने दायित्व राम्रोसँग निभाउनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष दाहालले भने, ‘पूँजीवादी विकृति स्वास्थ्य क्षेत्रमा नराम्रोसँग प्रवेश गरेको छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने क्रियाकलाप अहिले पनि कायमै छ । पूँजीवादी विकृतिलाई नियन्त्रण, विरोध र भण्डाफोर गर्ने दायित्य पनि प्रगतिशील सङगठनको काँधमा छ ।’

उनले दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा सुधारको निम्ति स्वास्थ्य बीमासम्बन्धी नयाँ नीति ल्याएर लागू गरे पनि चाहेअनुसार अहिले अगाडि बढ्न नसकेको बताए ।

‘स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्र र जनताका लागि महत्वपूर्ण छ । यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन नगरिए विकृति र विसङ्गति आउने छ, हाम्रो ध्यान त्यसमा जानु पर्दछ’, अध्यक्ष दाहालले भने ।

उनले स्वास्थ्य क्षेत्रबाट जनतामा चेतना अभिवृद्धि र जागरण ल्याउन महाधिवेशनले ठोस सुझाव दिने र पार्टीसमेत त्यसबाट लाभान्वित हुने विश्वास गरे ।

नयाँ संविधान निर्माणपछि शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारका रूपमा परिभाषित गरिए पनि उपयुक्त कानून बन्न नसक्दा कार्यान्वनमा चुनौती देखिएको अध्यक्ष दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्