
काठमाडौं । बुटवलमा शुक्रबार विद्यालय गएका तीन विद्यार्थी सम्पर्क बिहीन भएका छन्।
बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समिर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार विहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कबिहीन भएका हुन्।
नबिन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना सँगै घरबाट निस्केपनि सम्पर्कबिहीन भएको परिवारले जनाएको छ। सागर पौडेलका मामा राजु पन्थीले बिहान झोला बोकेर विद्यालय गएका सागर विद्यालय पनि नगएको कतै सम्पर्क नभएकाले सबैतिर खोजी गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए।
तीन जना मध्ये समिर लम्सालले शनिबार दिउसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरुलाई अज्ञातस्थलमा राखिएको जानकारी दिएका छन्। उनको आफूहरुलाई अचेत बनाएर ल्याएको र २ बजेमात्रै होस खुलेको म्यासेजमा लेखेपनि त्यसपछि कुनै सम्पर्क भएको छैन।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले परिवारको निवेदन अनुसार सबैतिर खोजी भएको तर शनिबार भएकाले कलडिटेल र अन्य प्रविधिबाट हेर्न नसकिएको जानकारी दिए।