
भैरहवा । इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।
इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ । आइओसीले नेपालका लागि हवाई इन्धन रक्सौल, लखनउ र बरैनी डिपोबाट दिदै आएको थियोे ।
रक्सौले डिपोमा केही प्राविधिक काम गर्नुपर्ने भएकाले भैरहवाका लागि सहज होस् भनी लखनउ डिपोबाट इन्धन उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएपछि ढुवानी व्यवसायीहरूले ढुवानी बन्द गरेको नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले जानकारी दिएको छ ।
‘नेपाल आयल निगमले ढुवानी भाडा समायोजन नभएको, नयाँ रुटको परमिट नदिएको र समयसापेक्ष ढुवानी भाडामा वृद्धि हुनुपर्ने भन्दै आइओसीबाट नेपालमा पेट्रोलियम पदार्थ नउठाउने गरी आन्दोलनको कार्यक्रम हुँदै आएको छ, यसमा हाम्रो पनि समर्थन रहेको छ,’ पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका महासचिव भुपराज अर्यालले भने ।
लखनउबाट लुम्बिनी प्रादेशिक डिपोमा ल्याउने तयारी भए पनि रुट र भाडा सम्झौता हुन सकेको छैन । भाडा र रुटको व्यवस्था नहुँदासम्म भारतबाट पेट्रोलियम पदार्थ ढुवानी नगर्ने महासंघको परिपत्रअनुसार शुक्रबारदेखि ढुवानीका लागि आवश्यक पर्ने प्रारम्भिक खरिद आदेश अर्थात् पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएको अर्यालले बताए । ‘रुट नै परिवर्तन भएपछि ढुवानी व्यवसायीले भाडावृद्धिको माग गर्दै ढुवानी बन्द गरेका हौ । भलवारी डिपोका लागि हामीलाई बरैनीबाट लोड नगर्ने भनेको छ, यता लखनउ जाने रुट पर्मिट, नाका र भाडा पनि तय नभएको हो,’अर्यालले भने ।
हवाई इन्धनबाहेकका इन्धनको आपूर्ति भने यो महिनाको मसान्तसम्मका लागि सहज रूपमै भइरहेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आन्तरिक उडानका लागि सरदर दैनिक १० देखि १४ केएल र एक मात्र उडान भइरहेको अन्तर्राष्ट्रियका लागि सरदर ८–१० केएल इनधन खपत छ । विमानस्थलमा ७० केएलका पाँचवटा भण्डारण क्षमताका ट्यांकीसहित कुल ४५० केएल संचित गर्ने क्षमता छ ।
दुई सातादेखि इन्धन आपूर्ति अनियमित भएपछि विस्तारै संचिति घट्दै गएको विमानस्थल आयल स्टेसन प्रमुख सविन सापकोटाले बताए । ‘केही दिन अगाडि मात्रै इन्धन आएको थियो, अहिले आएको छैन हामीसँग एक हप्ताका लागि पुग्ने इन्धन करिब १६० केएल मौज्दात छ । एक सातासम्म आपूर्ति नभए उडान प्रभावित हुन सक्छ । अहिले विमान कम्पनीहरूलाई मागअनुसारकै इनधन दिइरहेका छौ,’ स्टेसन प्रमुख सापकोटाले भने ।












