काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रियहितको संरक्षण र प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका छन् ।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले यस्तो निर्देशन दिएका हुन् ।

‘नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नका साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको थियो’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापति शर्माले नेपाली सेना सबै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गर्दै राज्यमा उत्पन्न संकट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको बताएका छन् ।
साथै, प्रधानसेनापति शर्माले नेपाली सेनाको मूल्य–मान्यताको सम्बद्र्धन र प्रवद्र्धन गर्दै सकल दर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएको विज्ञप्तिमा जनाइएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानीलगायत विष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्नसमेत उनले सेनालाई निर्देशन दिएका छन् ।