
काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा सुरु भएको हो ।
बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको चौथो दिनको बयान लिन सुरु भएको छ । यसअघि तीन दिन लिइएको बयानमा उनीसँग समितिले तयार गरेको ४३ वटा प्रश्न मध्य ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् ।
गत फागुन १ गते सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।












