Logo
Logo

नेपालमा वर्षेनी ५ हजार व्यक्तिद्वारा आत्महत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ साउन । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् ।
प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो संख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५ र ७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन् ।
आव २०७५ र ७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउँछन् । मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उनको भनाइ छ ।
आव २०७४ र ७५ को तुलनामा आव २०७५र७६ मा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । आव २०७४र७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए । काठमाडौँ उपत्यकामा आव २०७५ र ७६ मा ५३९ ले आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४ र ०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्