Logo
Logo

उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमा : राष्ट्रपति


756
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताएका छन् ।

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उनले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताए ।

‘यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु’, उनले भने । राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताए ।

उनले सम्म्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि आवश्यक उपायको खोजी गर्ने कार्यमा सफल हुुने छ भन्ने विश्वास लिएको बताए ।

राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिए ।

‘यसमा हामीले उल्लेखनीय सफलतासमेत हासिल गरेका छौँ । अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गर्न नेपाल सफल भएको छ’, उनले भने, ‘डब्लुएचओले सन् २०१८ मा यसलाई प्रमाणीकरणसमेत गरिसकेको छ ।’ नेपाल विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटाँै र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा पहिलो देशका रूपमा रहेको कुरा राख्न पाउँदा सन्तोष लागेको उनले भने ।

प्रतिक्रिया दिनुहोस्