Logo

पूँजीवादी राष्ट्रवाद र व्यापार युद्ध


Published On : 13 August, 2019

रवीन्द्र श्रेष्ठ

अहिले विश्वमा राष्ट्रवादको लहर चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रवादको चर्को नारा दिएरै चुनाव जिते । भारतका प्रधानमन्त्रीले हिन्दू राष्ट्रवादको नारा दिएर दोस्रो पटक पनि चुनाव जिते । चीनका राष्ट्रपति सी जिनपिङले राष्ट्रवादकै नारा दिएर माओ र तेङ स्याओ पिङ जतिकै शक्तिशाली राष्ट्रपति बने । विश्वका धेरै देशहरुमा अहिले राष्ट्रवादको लहर चलिरहेको छ ।

अहिले चलिरहेको यसखाले राष्ट्रवादको लहर पहिलो र दोस्रो विश्वयुद्धको बेला विश्वका ठूला शक्ति राष्ट्रहरुमा चलेको राष्ट्रवादको लहरजस्तै देखिन थालेको छ । के राष्ट्रवाद सही विचारधारा हो ? के राष्ट्रवादले युद्ध निम्त्याउन सक्दछ ? के कम्युनिष्ट पार्टीले राष्ट्रवादको नारा दिनु सही हो ? कम्युनिष्ट पार्टीको राष्ट्रवाद र अन्य दलहरुको राष्ट्रवादमा फरक हुनु पर्दछ कि पर्दैन ? कम्युनिष्टहरुको अन्तर्राष्ट्रियतावाद र राष्ट्रवाद एक अर्कोमा विपरीत होइन ? यस्ता गम्भीर प्रश्नहरु अहिले उठाइनु पर्दछ ।

रवीन्द्र श्रेष्ठ

पूँजी भनेको नदी, वर्षा र हावा हुरी जस्तै हो । नदी, वर्षा र हावाहुरीले राष्ट्रको सिमाना मान्दैन । पूँजीले पनि राष्ट्रको सिमाना मान्दैन । पूँजीको शुरुवात स्थानीय रुपमा र राष्ट्रको सिमानाभित्र भए पनि यसले क्रमशः सिमाना तोड्दै जाने नै यसको नियम हो । पूँजीको विकासले एउटा चरण पार गरेपछि यसले क्रमशः राष्ट्रहरुका सिमाना नाघ्न र भत्काउन थाल्दछ, यदि त्यस्तो सिमाना नाघ्न वा भत्काउन सकेन भने पूँजीको विकास अवरुद्ध हुने गर्दछ ।

 

सामन्त वर्गले आफ्नो राज्य विस्तारको लागि र राज्यको रक्षाको लागि राष्ट्रवादको नारा चर्को रुपमा लगाउने गरेको इतिहास हामीले धेरै देखेका छौं । देशको रक्षासंग राजा महाराजाहरुको सत्ता जोडिएको हुनाले आफ्नो सत्ता जोगाउन उनीहरुको लागि देश जोगाउनु अनिवार्य थियो । देशै नभएमा कहाँको राजा बन्ने ? तसर्थ राष्ट्रको रक्षाको लागि उनीहरुले राष्ट्रवाद, देशभक्ति आदि शब्द र सिद्धान्तहरुलाई जनतामाझ व्यापक रुपमा फैलाउने काम गरे । राष्ट्रभक्तहरुलाई पुरस्कृत गर्ने र राष्ट्रघातीहरुलाई ज्यान सजाँय दिने कुरा उनीहरुको दैनिक कर्म थियो ।

पूँजीवादको विकाससँगै राष्ट्रवादको परिभाषा पनि परिवर्तन हुँदै गयो । पूँजीपति वर्गको लागि राष्ट्रवाद भनेको पूँजीको विकासकोलागि गरिने कर्म बन्न गयो । यो केवल देशको सिमाना रक्षा गर्ने र जमीनको रक्षा गर्ने सम्ममा सिमित रहेन । सिमाना रक्षाको साथै राष्ट्रवाद भनेको पूँजीपतिहरुकालागि कच्चा पदार्थ र वजार तथा पूँजीको रक्षा तथा विस्तार गर्ने सिद्धान्त वन्न गयो । अरु देशका पूँजीपतिहरुलाई आफ्नो देशको पूँजीको विस्तारमा वाधक वन्न नदिने र वाधक वनेमा उनीहरुलाई अनेकौं उपायवाट प्रतिस्पर्धामा हराउने अश्त्रको रुपमा राष्ट्रवादको प्रयोग पूँजीपतिहरुले गर्न थाले । पूँजीपति वर्गकोलागि राष्ट्रवाद भनेको आफ्नो देशको रक्षा गर्ने मात्र नभएर अरु निमुखा देशहरुलाइ आफ्नो राष्ट्रको अधिनमा ल्याएर आफ्नो राष्ट्र वलियो वनाउने सिद्धान्तको रुपमा स्वरुप परिवर्तन भयो ।

पहिलो विश्वयुद्धको सेरोफेरोमा ब्रिटिसहरुले आफ्नो जातिलाई सर्वश्रेष्ठ जातिको रुपमा प्रचार गर्दै ब्रिटिसहरु विश्वको शासन गर्न योग्य र सक्षम छन् भन्दै व्रिटिस राष्ट्रवादको वकालत गर्न थाले । ग्रेट व्रिटेनको रक्षाको लागि व्रिटिस राज संसार भर फैलाउनु पर्दछ भन्दै विश्वमा उपनिवेश वनाउने अभियानमा उनीहरु लागे । उपनिवेशहरुवाट सस्तोमा कच्चा पदार्थ ल्याउने, सुन लगायत महंगा धातुहरु कब्जा गरी ल्याउने, आफ्नो देशमा पूँजीपति वर्गले औद्योगिक क्रान्ति मार्फत ब्यापक रुपमा वृद्धि गरेको उत्पादनलाई ती उपनिवेशहरुमा महंगोमा वेचेर अकृुत नाफा कमाउने आदि अभियान व्रिटिस राष्ट्रवादको नारा दिएर गरिएको थियो । तात्कालिन व्रिटिस सत्ताधारी पूँजीपति वर्गले यस अभियानलाइ व्रिटिस राष्ट्रवादको जामा पहिराएका थिए भने यसलाई कम्युनिष्टहरु तथा अन्य जनपक्षीय वौद्धिक समुदाय र उत्पीडित जनताले व्रिटिस साम्राज्यवाद भनेर विरोध आलोचना गरे । व्रिटिस शासकहरुले भने आफुहरु साम्राज्यवादी नभएको र राष्ट्रवादी भएको प्रचार गर्दै रहे ।

यसै सेरोफेरोमा जर्मन वुर्जुवा सत्ताधारीहरुलेपनि जर्मन राष्ट्रवादको चर्को नारा दिन थाले । जर्मनहरु विश्वको श्रेष्ठ जाति हो भन्दै आफ्नो औद्योगिक उत्पादनहरु सर्ब श्रेष्ठ सामानहरु हुन् भन्ने प्रचार गर्न थाले । व्रिटिस सामानहरु भन्दा आफ्नो देश कै सामानहरु किन्न र प्रयोग गर्न ठुलो अभियान जर्मनीमा चलाइयो । जर्मनीमापनि औद्योगिक क्रान्ति तीब्रतामा विस्तार भयो । जर्मन पूँजीपतिहरुका उद्योग व्यवसायलाई सरकारले व्यापक प्रोत्साहन दिन थाल्यो । व्रिटिस सामानहरुमाथि अनेक कर लगाइन थालियो । जर्मन पूँजीवादले जर्मन राष्ट्रवादको नारा दिएर जर्मनीमा औद्योगिक क्रान्ति व्यापक रुपमा सफल पार्न थाल्यो ।

तर पूँजी भनेको नदी, वर्षा र हावा हुरी जस्तै हो । नदी, वर्षा र हावाहुरीले राष्ट्रको सिमाना मान्दैन । पूँजीले पनि राष्ट्रको सिमाना मान्दैन । पूँजीको शुरुवात स्थानीय रुपमा र राष्ट्रको सिमानाभित्र भए पनि यसले क्रमशः सिमाना तोड्दै जाने नै यसको नियम हो । पूँजीको विकासले एउटा चरण पार गरेपछि यसले क्रमशः राष्ट्रहरुका सिमाना नाघ्न र भत्काउन थाल्दछ, यदि त्यस्तो सिमाना नाघ्न वा भत्काउन सकेन भने पूँजीको विकास अवरुद्ध हुने गर्दछ ।

तसर्थ, जर्मन पूँजीले पनि क्रमशः अन्य देशहरुमा व्यापार विस्तार गर्न वाध्य वन्न थाल्यो । अन्य देशहरुमा आफ्ना उत्पादन महंगोमा बेच्ने, अन्य देशहरुवाट सस्तोमा कच्चा पदार्थहरु ल्याउने, अन्यदेशहरुवाट महंगा धातुहरु कब्जा गरेर ल्याउने, अन्य कमजोर देशहरुलाई उपनिवेश वनाउने आदि जस्ता कामहरु जर्मन राष्ट्रवादको नारा उचालेरै शुरु हुन थाल्यो । जर्मन शासकहरुले यसलाई राष्ट्रवादी कदम भनेर व्यापक प्रचार गरिरहे । तर कम्युनिष्टहरुले तथा जनपक्षीय शक्तिहरुले यसलाइ जर्मन पूँजीपतिवर्गको साम्राज्यवादी कदम भनेर आलोचना विरोध गर्न थाले ।

जर्मन र व्रिटिस पूँजीवादी शासक वर्गहरुको यी नै चरम राष्ट्रवादी सिद्धान्तहरुको फलस्वरुप अन्तमा यी दुई शक्ति राष्ट्रहरुको नेतृत्वमा विश्व दुई क्याम्पमा विभाजित भयो र प्रथम विश्वयुद्ध भयो । यी दुबै क्याम्पले राष्ट्रवाद कै आवरणमा प्रथम विश्वयुद्ध लडेका थिए र करोडौं जनताको हत्या गरेका थिए । दोश्रो विश्वयुद्ध पनि राष्ट्रवाद कै आवरणमा भएको थियो र करोडौं जनताको हत्या भएको थियो ।

आफ्नो देशको औद्योगिक क्रान्तिको शुरुवातको लागि पूँजीपति वर्गको राष्ट्रवाद सही सिद्धान्त वनेको थियो । तर जब यसले अन्य देशमा हस्तक्षेप गरेर पूँजीवादको विस्तार गर्ने नीति लिन थाल्यो, तब राष्ट्रवादले प्रतिक्रियावादी स्वरुप लिन पुग्यो ।

नेपालमा राष्ट्रवादको झण्डा सत्ताधारीहरुले आफ्नो सत्ता टिकाउन प्रयोग गर्र्दै आएका छन् । अहिले ठूला नेताहरुले आफू सत्ता बाहिर छँदा राष्ट्रवादको नारा लगाउने र त्यसको माध्यमबाट जनतालाई भ्रम दिएर सत्तामा जाने तथा सत्तामा पुगेपछि विदेशीहरुको दलाली गर्दै राष्ट्रघाती काम गर्ने जालझेल गर्दै आएका छन् । साथै आफ्नो नालायकीपन, अकर्मन्यता, भ्रष्टाचार आदिलाई सत्ताधारीहरुले राष्ट्रवादको नारा उचालेर ढाकछोप गर्ने काम पनि गर्दै आएका छन् । तर बहुसंख्यक जनताले शासकहरुको व्यवहारबाट बारम्बार यस्तो धोका पाएकाले अब शासक वर्गको जनविरोधी राष्ट्रवाद धेरै समय टिक्न सक्ने देखिन्न ।

प्रथम विश्वयुद्ध भएको र पूँजीवादी शासकहरुले नृशंस रुपमा करोडौं मानिसहरुको हत्या गरेको सय वर्ष पुगि सकेको छ । तर त्यो वेलाको प्रतिक्रियावादी राष्ट्रवादले अहिले फेरी नयाँ रुप रंगमा टाउको उठाइरहेको छ । अमेरिका, चीन र भारत लगायतका ठुला देशहरुमा चलिरहेको राष्ट्रवादको लहर ती देशहरु भित्रैको मामिलामा सिमित भए सम्म यसले विश्वमा ठुलो अनिष्ट ल्याउने छैन । तर ती देशहरुको राष्ट्रवादले सिमाना नाध्न थालेको छ । यी देशहरुले कमजोर देशहरुमा पूँजीको विस्तार संगै राजनैतिक र फौजी हस्तक्षेपहरुपनि गर्न थालेको छ । साथै आपसमा व्यापार युद्धपनि गर्न थालेको छ । व्यापार युद्ध भन्नु देखिने हिंसा विनाको गम्भीर आर्थिक युद्ध हो । यसले ती देशहरुको अर्थतन्त्र र विश्व अर्थतन्त्रमा निकट भविश्यमा गम्भीर समस्या ल्याउने निश्चित छ । आणविक हतियारको विकासले गर्दा र त्यसवाट वच्ने साधनको विकास नभएकोले गर्दा अहिले ठुला शक्ति राष्ट्र विच फौजी युद्ध ठुलो स्तरमा र प्रत्यक्ष रुपमा हुने सम्भावना कम छ । किनभने आणविक युद्ध भएमा दुबै देश ध्वस्त हुन्छ । तसर्थ अहिले व्यापार युद्धको रुपमा यी शक्ति राष्ट्रहरु विच युद्ध भइरहेको छ । यस व्यापार युद्धमा विगतका विश्वयुद्धहरुमा जस्तै ठुलो आर्थिक क्षति भैरहेको रिपोर्टहरु प्रकाशित भैरहेका छन् । राष्ट्रवादको आवरणमा भैरहेको व्यापार युद्ध नै नयाँ रुपको तेश्रो विश्वयुद्धको शुरुवात देखिंदैछ ।

यस्तो वेला जनपक्षीय कम्युनिष्टहरुको कर्तव्य के हुनु पर्दछ ? ती ठुला देशका जनपक्षीय कम्युनिष्टहरुले आफ्नो देशले अन्य देशहरुमाथि गर्ने थिचो मिचो र हस्तक्षेपको विरोध गर्नु पर्दछ र आफ्नो देशका पूँजीवादी शासकहरुका विरुद्ध संघर्ष गर्नु पर्दछ । उनीहरुले आफ्नै देशमा समाजवादी क्रान्तिको तयारी गर्नु पर्दछ । ठुला देशको हस्तक्षेपको मारमा परेका कमजोर देशका कम्युनिष्टहरुले विदेशी ठुला शक्तिराष्ट्रहरुको हस्तक्षेपको दृढतासाथ विरोध गर्दै राष्ट्रवादको झण्डा उठाउनु पर्दछ । उनीहरुले राष्ट्रिय मुक्ति संग्रामको तयारी गर्नु पर्दछ । विश्वका सबै उत्पीडित जनता एकतावद्ध हुनु र एकतावद्ध भई विश्वका जनविरोधी शासकहरुका विरुद्ध संघर्ष गर्नु अन्तर्राष्ट्रियतावाद हो । ठुला देशहरुका शासकहरुको जनविरोधी राष्ट्रवादी नाराका विरुद्ध जनपक्षीय अन्तर्राष्ट्रियतावादको झण्डा उठाउन अब ढिलो भैसकेको छ ।

नेपालमा राष्ट्रवादको झण्डा सत्ताधारीहरुले आफ्नो सत्ता टिकाउन प्रयोग गर्र्दै आएका छन् । अहिले ठूला नेताहरुले आफू सत्ता बाहिर छँदा राष्ट्रवादको नारा लगाउने र त्यसको माध्यमबाट जनतालाई भ्रम दिएर सत्तामा जाने तथा सत्तामा पुगेपछि विदेशीहरुको दलाली गर्दै राष्ट्रघाती काम गर्ने जालझेल गर्दै आएका छन् । साथै आफ्नो नालायकीपन, अकर्मन्यता, भ्रष्टाचार आदिलाई सत्ताधारीहरुले राष्ट्रवादको नारा उचालेर ढाकछोप गर्ने काम पनि गर्दै आएका छन् । तर बहुसंख्यक जनताले शासकहरुको व्यवहारबाट बारम्बार यस्तो धोका पाएकाले अब शासक वर्गको जनविरोधी राष्ट्रवाद धेरै समय टिक्न सक्ने देखिन्न ।

प्रतिक्रिया दिनुहोस्