Logo

प्रचण्ड-प्रभाकर जुहारीको गहिराइ



एउटा शक्तिशाली र गौरवपूर्ण ‘विरासत’ आज आफ्नै हानाथापले ‘रनाहा’मा परेको छ । त्यो विरासतका स्याहारसुसारमा सुँडेनी बनेर ठिङ्ग उभिएको समाज आफैँ मर्माहत छ ।

इतिहासमा लडाइँ–भिडाइका यास्ता कालखण्ड थुप्रै आए, यद्यपि माओवादी जनयुद्धको सेरोफेरोले नेपालमा पृथक ल्याप्चे हानेको छ । जनयुद्धले एकतन्त्रीय शासनको सिलौटोमा पिसिएका निम्न मान्छेहरू जाग्ने बनायो ।

काठमाडौँको खाल्डोलाई मात्रै नेपाल ठान्ने शासकहरूलाई देशका कुनाकाप्चा चिन्न बाध्य गरायो । शहरका लाली ओठमा मात्रै सुशासन खोज्ने सत्तासेठहरूलाई कालिकोटका छाउपडी गोठसम्म पुग्ने बनायो ।

आज माओवादीलाई १७ हजारको हत्यारा ठान्नेहरूले हिजो ‘गणतन्त्र जिन्दावाद’ भनेकै भरमा कति मान्छेले बन्दुकको गोली निले ? भन्ने हेक्का राख्नु पर्छ । भन्दै घिनलाग्दा लैंगिक तथा जातीय विभेदका अप्ठ्यारा शब्दहरू त के उच्चारण गरौं र ! जेहोस् देशमा धेरै अघिदेखि उकुसमुकुस भइरहेका ज्वालाहरू एकाएक जनयुद्धको रुपमा केन्द्रीकृत भएर विस्फोट भए ।

हामी सबैलाई थाहा भएकै कुरो हो– प्रचण्डले त्यसको नेतृत्व गरे । १० वर्षसम्म चलेको युद्धले सत्ताधारीहरू आतंकित र आधारभूत तहका आम नागरिक उत्साहित नै थिए । सत्ता परिवर्तन गर्न उठाइएका हतियारले बँदेल र दुम्सी मारेर समाज रूपान्तरणमा बल पुग्दैनथ्यो ।

दुःखद कुरा त्यहाँ हजारौं नेपालीले ज्यान गुमाए । उतिबेलाको राज्यसत्ता अलिकति भए पनि उदार भइदिएको भए सायदै यतिका मान्छे अस्ताउनुपर्ने दिन आउँदैनथ्यो ।

सबैलाई नेता हुनुपरेको छ । सबैलाई छिटो–छिटो प्रगति गर्नुपरेको छ । सबैले आफ्ना परिवार व्यवस्थापन गर्नुछ, र यसको सम्पूर्ण बोझ प्रचण्डले लिनु छ । प्रचण्ड बार्गेनिङ गर्ने साधन हो ? के प्रचण्ड पदहरूको कारखाना हो ?

त्यो एकात्मक व्यवस्थाले अनाहकमा आतंककारीको बिल्ला भिराएर हजारौं निर्धा नागरिकको हत्या गरेको छ । वेपत्ता र घाइते बनाएको छ । बच्चाबच्चीसहितको घर जलाइएको छ । सुत्केरी महिलालाई बलात्कार गरिएको छ ।

व्यवस्थाविरुद्ध भएको त्यो संघर्षका क्रममा उत्पन्न समस्याहरूको विरूपण गर्न आयोगहरू बनाइएका छन् । तर, ति निरूपण आयोगहरू नै बेपत्ता भए !

भइगो ! अब युद्धका यथार्थताहरू उतै छाडौं । र, शान्ति युगतिरै कोल्टे फेरौँ । बारुदको धुवाँ पन्छाउँदै क्षितिजको उज्यालो छाम्न मान्छे आतुर थिए । माओवादी नेतृत्वले आगो फालेर फूल पहिरिने निर्णय गर्यो ।

प्रचण्डको नाम भजाएरै देशमा कयौँको जिन्दगी उँभो लाग्यो । कतिपय अहिलेसम्म त्यही खेती गरेर चुलो बालिरहेका छन् । कल्पनै नगरेका मान्छेहरू प्रचण्डको बुँई चढेर सांसद, मन्त्री र प्रधानमन्त्री बनेका उदाहरण छरपस्ट छन् । प्रचण्डलाई गाली गरेर होस् या सुसार गरेर– धेरैको जिन्दगीले काँचुली फेरेको दृश्य हामी जिउँदो मान्छेले देखिरहेका छौँ ।

यो दुईलाइन प्रचण्डको चाकडी गर्न वा भजन गाउन लेखिएका होइनन् । यिनमा कटु सत्यता छ । प्रचण्डकै पछि लागेका कारण जिन्दगीको दियो निभेका तमाम दुःखीजन पनि हाम्रै सामुन्नेमा छन् । यो अर्को यथार्थ हो ।

राजनीतिक वृत्तको कुरा गर्दा प्रचण्डलाई जिस्क्याउनेहरू नमूना भएका छन् । यसको अर्थ भजन गाउनेहरू सगरमाथा चढे भन्ने पनि होइन । गहिरो प्रश्न त यो हो कि– पटक–पटक माओवादी आन्दोलनको नाफा खाएर अमिलो डगार्नेहरू किन बेलाबेला सुर्ता गुमाउँछन् ?

जनार्दन शर्मा ‘प्रभाकर’ माओवादीभित्रका एउटा परिणाममुखी नेता हुन् । युद्धकालमा होस् कि शान्तिकालमा उनले काँध थापेका जिम्मेवारीमा हरप्रयास गर्दै उत्कृष्ट परिणाम दिन प्रयास गरेका छन् ।

युद्धमा नेतृत्व गरेको लडाइँको मोर्चा र शान्तिकालमा जिम्मेवारी लिएको ऊर्जा मन्त्रालयको प्रगति, हेरे पुग्छ । विवादित बनाइएको अर्थ मन्त्रालयमा पनि आर्थिक सूचकहरु बलियो हुन थालेदेखि प्रभाकरमाथि लगाइएका लाञ्छनाहरू निस्तेज हुँदै गएको देखिन्छ ।

अस्ति एकाएक एउटै मञ्चमा प्रचण्ड र प्रभाकरबीच जुहारी चल्यो । त्यो जुहारीले विपक्षीलाई सबैभन्दा बढी प्रशन्न बनायो । प्रचण्ड–प्रभाकरको पक्ष, विपक्षमा बहसहरू गर्न थालियो । ठुल्ठूला अक्षरमा समाचार छापियो ।

मत दंग परेँ, प्रभाकरको त्यो अभिव्यक्तिप्रति । किनकि त्यो पार्टीको महाधिवेशन थिएन । एउटा विद्यार्थीको कार्यक्रम थियो । आफूले पद अस्वीका गरेको विषय, महासचिव संगठन विभाग प्रमुख कि उपमहासचिव ? धम्काएर पद प्रतिष्ठा लिने ? अरूलाई अनुशासन सिकाउँदा आफूले कति पालना गरे भन्ने हो ।

२१औँ शताब्दीमा टिकेप्रथा र तदर्थवादी ढंगले कम्युनिष्ट पार्टी, संगठन र सत्ता चल्दैन । आन्तरिक प्रतिस्पर्धा अर्थात् जनवाद अवलम्बन गर्नैपर्दछ । पार्टीलाई क्रान्तिकारी ऊर्जा र गतिका साथ अघि बढाउने हो भने पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा गम्भीर बहस र निर्मम समीक्षा होस् ।

प्रचण्डले लिएको बोझ र जोखिमका बीच केही हात लाग्नेजस्तो देखियो भने प्रचण्ड सबैका लागि प्रिय भएका छन्, हैन केही नपाउने अर्थात् शून्य हात लाग्ने जस्तो देखियो भने प्रचण्ड सबैका लागि खत्तम भएका छन् ।

प्रचण्डसँग कोही पद नपाएर रिसाएका छन्, कोही आफन्तको नियुक्ति नपाएर रिसाएका छन्, कोही सिफारिसमा नपरेका कारण रिसाएका छन् । सबैलाई आ–आफ्नो डम्फुको पिर छ । पार्टी, आन्दोलन, विचार, आदर्श र निष्ठाको कसैलाई चिन्ता र सरोकार छैन । किनकि, सबैलाई मन्त्री, सांसदको ठूलो पद चाहिएको छ ।

सबैलाई नेता हुनुपरेको छ । सबैलाई छिटो–छिटो प्रगति गर्नुपरेको छ । सबैले आफ्ना परिवार व्यवस्थापन गर्नुछ, र यसको सम्पूर्ण बोझ प्रचण्डले लिनु छ । प्रचण्ड बार्गेनिङ गर्ने साधन हो ? के प्रचण्ड पदहरूको कारखाना हो ?

– लमही दाङ

प्रतिक्रिया दिनुहोस्