Logo
Logo

जसको कलमले जनमत संग्रह घोषणा राजालाई बाध्य बनायो



देवेन्द्र दाइलाई श्रद्धाञ्जलि अर्पण गरेको एक साता पनि नबित्दै अर्का श्रमजीवी पत्रकार केदारमान दाइलाई बिदा गर्नुको पीडा शब्दमा व्यक्त गर्न सकिन्न । नेपालको लोकतान्त्रिक आन्दोलनमा छापा माध्यमको तर्फबाट देवेन्द्र दाइले पुर्याउनुभएको अतुलनीय योगदान र केदारमान दाइले विदेशी सञ्चार माध्यमबाट पुर्याउनुभएको योगदानको साक्षी हो, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ।

नेपालको राजनीतिक इतिहासमा जति पनि राजनीतिक परिवर्तन भएको छ, त्यसमा सञ्चार माध्यमको प्रमुख भूमिका छ । राजा महेन्द्रले २०१७ पुस १ गते ‘कू’ गरेर नेपाली जनतामाथि निरंकुश पञ्चायती व्यवस्था लादेको दिनदेखि निरन्तर ३० वर्षसम्म लोकतन्त्रका लागि नेपाली प्रेसले संघर्ष गर्दै आयो ।

पार्टीमाथि प्रतिबन्ध, नेताहरू जेल, नेल र भूमिगत भएको अवस्थामा प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली प्रेस सबैको सहारा बन्यो । त्यही क्रममा २०३५–३६ को आन्दोलनमा जोडिनु भयो, देवेन्द्र दाइ र केदारमान सिंह । यी दुवै निडर स्वभावका स्वाभिमानी पत्रकार थिए, जसको नाम लिनासाथ पञ्चायती निरंकुश शासकहरूको मुटु हल्लिन्थ्यो ।

२०३५–३६ सालको विद्यार्थी आन्दोलन निरंकुश राजतन्त्रको घुँडा टेकाउन सुरू गरिएको आन्दोलन थियो । त्यसलाई निर्णायक बनाउन पत्रकारका यी दुई हस्तीले जति योगदान पुर्याए, सायद त्यति योगदान नेताहरूले पनि पु¥याउन सकेका थिएनन् ।

जब बेलुकी बीबीसी हिन्दी सेवाबाट ‘काठमाडण्डूसे केदारमान सिंहका रिपोर्ट…’ भन्ने उद्घोष हुन्थ्यो, तब देशैभरिको कान ठाडो हुन्थ्यो । केदार दाइको हरेक रिपोर्ट आन्दोलनको पक्षमा हुन्थ्यो । जसले आन्दोलनकारीलाई ऊर्जा प्रदान गथ्र्यो । अन्ततः जनमत संग्रह घोषणा गर्न राजा वीरेन्द्र बाध्य भए ।

राजा वीरेन्द्र हरेक दिन बीबीसी अंग्रेजी समाचार सुन्थे । पञ्चायती व्यवस्थाविरूद्ध देशैभर आन्दोलन चर्किरहेको खबरले राजा वीरेन्द्रमा चिन्ता बढिरहेको हुन्थ्यो । हरेक समाचारको विषयमा राजा वीरेन्द्रले दरबारमा ब्रिफिङ लिन थालेपछि केदारमान दाइलाई बहुदलको समाचार सम्प्रेषण नगर्न धम्की आउँथ्यो । एक दिन त मण्डलेहरूले उहाँको भोटेबहालस्थित घरमै आगो लगाउने धम्कीसमेत दिए ।

बीबीसीको समाचारबाट आत्तिएका राजा वीरेन्द्रले मार्क टेलीसँग भेट्ने इच्छा जाहेर गरे । केदारमान दाइले यो सूचना मार्क टेलीलाई नयाँदिल्लीमा पठाए । मार्क टेली राजा वीरेन्द्रको अन्तर्वार्ता लिन काठमाडौं आए । केदारमान दाइले आफ्नै गाडीमा मार्क टेलीलाई दरबार पुर्याए ।

मार्क टेलीलाई राजा वीरेन्द्रसँग भेट्ने बेला मार्क टेलीलाई मात्र भित्र लगेर गए । केदारमान दाइलाई बाहिर सचिवको कोठामा कुराए । यो अपमानले दरबारप्रति केदारमान दाइको मनमा विद्रोह उत्पन्न गरायो । त्यसपछि केदारमान सिंहको शब्दले बीबीसीमा आगो ओकल्न थाल्यो ।

धेरैलाई सम्झना होला, जब बेलुकी बीबीसी हिन्दी सेवाबाट ‘काठमाडण्डूसे केदारमान सिंहका रिपोर्ट…’ भन्ने उद्घोष हुन्थ्यो, तब देशैभरिको कान ठाडो हुन्थ्यो । निडर, हक्की स्वभावका केदार दाइको हरेक रिपोर्ट आन्दोलनको पक्षमा हुन्थ्यो । जसले आन्दोलनकारीलाई ऊर्जा प्रदान गथ्र्यो । अन्ततः जनमत संग्रह घोषणा गर्न राजा वीरेन्द्र बाध्य भए ।

आन्दोलनको समाचार सम्प्रेषण गर्ने बेला केदारमान दाइले नेपाल पोष्टका सम्पादक देवेन्द्र गौतम पक्राउ परेको धेरै घटना उल्लेख गरेका थिए । सरल भाषा, स्पष्ट सन्देश उहाँको मौलिकता थियो ।

पुष्पलालसँग अंग्रेजी ट्युसन पढेका केदारमान दाइको मनपर्ने नेता मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई थिए । आन्दोलनको बेला यी नेताहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर समाचार सम्प्रेषण गर्थे ।

कतिपय पत्रकार सम्मेलन सुरू गर्नुभन्दा अगाडि किसुनजी र गणेशमान सिंहले खोइ, केदारमान आएको छैन ? भनेर माथवरसिंह बस्नेतलाई सोध्ने गर्नुहुन्थ्यो । केदारमान नआइकन कांग्रेसको पत्रकार सम्मेलन सुरू नै हुँदैनथ्यो । यसले पनि त्यतिबेला सञ्चारमाध्यमप्रति नेताहरूको कतिसम्म सम्मान थियो भन्ने बुझिन्छ ।

नेपाली जनताको संघर्ष र बलिदानपश्चात २०४६ को संयुक्त जनआन्दोलन सफल भयो । पञ्चायत निरंकुश व्यवस्थाले घुँडा टेक्यो । नेपालको लोकतान्त्रिक आन्दोलनमा एउटा पत्रकारको रूपमा सरिक भएर नेपालको बहुदल घोषणा हुँदा केदारमान दाइ अत्यन्त खुसी हुनुभयो ।

तीसवर्षे निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यपछि नेपालमा प्रजातन्त्रको युग सुरू भयो । अब त देशले आर्थिक विकासको बाटो समाउला भन्ने आशा उहाँमा थियो । हेर्दाहेर्दै सबै नेता गन्हाउन थाले । पञ्चायतभन्दा विकृति बहुदलमा मौलाउन थाल्यो । त्यही विकृति र विसंगतिले माओवादीलाई मलजल ग¥यो । देश हेर्दाहेर्दै गणतन्त्रमा प्रवेश गर्यो ।

हरेक आन्दोलन र क्रान्तिले नायक जन्माउँछ । २०४६ सालको संयुक्त जनआन्दोलनले सर्वोच्च नेता गणेशमान सिंह जन्मायो । तर, उनको त्याग, तपस्या र बलिदानबाट नेपाली कांग्रेसका नेताहरूले शिक्षा लिएनन् ।

कांग्रेस पतन हुँदै गयो । २०६२–६३ सालको आन्दोलनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ जन्मायो तर, प्रचण्डले जनयुद्धको एजेण्डा बिर्सदा माओवादी पतनको बाटोमा लाग्यो । भारतीय नाकाबन्दीताका केपी ओली जन्मिए । ओलीले केही गर्लान् भनेको ओली पनि असफल र नालायक भएको केदार दाइको विश्लेषण थियो ।

नाकाबन्दीको समय केदार दाइले फोन गरेर भन्नुभयो– खाना पकाउन ग्यास छैन, अस्पताल जान पेट्रोल छैन । एउटा छोरा अमेरिका बस्छ । बूढा र बूढी घरमा छौं । जीवनमा यति साह्रो–गाह्रो कहिले परेको थिएन । यसरी बाँच्नुभन्दा त मर्नु बेस । मर्नका लागि पनि केही चाहियो । ओलीलाई भनेर विष पठाइदिनु शम्भु भाइ ।

हार्दिक श्रद्धासुमन केदार दाइ !

प्रतिक्रिया दिनुहोस्