Logo
Logo

सुनको बुद्धमूर्ति भन्दै ठगी गर्ने तीन जना सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


पोखरा, १ भदौ । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्माालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए ।

सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्ध मूर्ति बेच्ने र सुनका गहना चोर्नेलाई पोखरामा पत्रकार सम्मेलनमार्पmत सार्वजनिक गर्दै कास्की प्रहरी ।

प्रहरीले उनीहरुको साथबाट पहेँले धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

एक महीनाको अवधिमा विभिन्न १६१ मुद्दामा २५२ पुरुष र २९९ महिलालाई पक्राउ गरिएको थियो । सो अवधिमा पाँच हजार ९०० सवारी चालकलाई गरिएको कारवाहीमा रु ४४ लाख ७५ हजार र अवैध जुवा खेल्नेबाट रु पाँच लाख ८० हजार ८०० सहित जम्मा रु ५० लाख ५५ हजार ८०० राजश्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

दर्ता भएका मुद्दामध्ये लागुऔषध १७ , अवैध जुवा खेल्ने १२ स्थानबाट ८४, साइबर क्राइममा ४३ र सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत ९४मुद्दा दर्ता भएका थिए ।

यसैगरी पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चोरी गर्दै आएका पोखरा २३ चापाकोट घर भई पोखरा ३ तेर्साट्टी बस्ने २० वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरिएकोे प्रहरीले जनाएको छ । उनको साथबाट सुनको मङ्गलसुत्र एक थान, नेक्लेस एक थान, सुनको झुम्का एक जोर र फलामको हथौँडा, रड र फलामको छिनो बरामद गरिएको थियोे ।

एक महीनाको अवधिमा प्रहरीले ५०७ लिटर अवैध मदिरा र मदिरा बनाउन प्रयोग गरिएका भाँडा बरामद गर्नुका साथै एक पुरुष र २६ महिलालाई नियन्त्रणमा लिई कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा पठाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी प्राकृतिक स्रोत दोहन अन्तर्गत १२ मालबाहक सवारी साधान (ट्रिपर,एक्साभेटर र ट्रक) नियन्त्रणमा लिई कारवाहीको लागि पोखरा महानगरपालिकामा पठाइएको छ भने कतिपय जिल्ला समन्वय समितिमासमेत पठाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्