Logo
Logo

‘अक्टोपस’जस्तै षड्यन्त्र गर्न सक्ने मस्तिष्क भएको राप्रपा



धरानका एकजना कांग्रेसी सञ्जय वास्तोला भाइले भने– ‘राप्रपा र अक्टोपसमा फरक छैन ।’ म जीव विज्ञानको विद्यार्थी नभएकोले त्यसबखत केही भन्न सकिनँ । तर जब मैले अक्टोपसबारे सामान्य जानकारी लिएँ । मलाई ती भाइको कुरा साह्रै घत लाग्यो । मैले सामान्य जानकारी लिँदा पनि अक्टोपस र राप्रपामा धेरै समानता पाएँ ।

अक्टोपसको अर्थः
अक्टोपस, शङ्खे किराको वर्ग मोलस्का वर्णमा पर्ने एक प्रकारको जलचर जीव रहेछ । शङ्खे किरा अथवा गँड्यौला एक प्रकारको ढाड नभएको जीव हो ।

मोलस्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्रायः सबै जीवलाई साझारुपमा शङ्खे किरा नामले चिनिन्छ । वयस्क अवस्थामा यीनीहरुको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्छ ।

हिँड्नका लागि टाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम ‘अक्टोपस’ राखिएको रहेछ । जीव वैज्ञानिकहरुले अहिलेसम्म तीन सय प्रजातिको अक्टोपस पत्ता लगाएका रहेछन् । जसमध्ये एउटा प्रजाति अत्यन्त खतरनाक रहेछ, जसले मानिसलाई आक्रमण गर्दो रहेछ ।

आफूभन्दा ठूला सामुद्रिक जीवको समेत शिकार गर्ने अक्टोपसको जीवनलिला सम्झदा राप्रपाले विगतमा कांग्रेस–एमालेलाई खेलाएको प्रसंग तरोताजा हुन्छ । राप्रपा र अक्टोपसको प्रवृत्ति ठ्याक्कै मिल्छ ।

अक्टोपसको आयु बढीमा चार वर्ष हुने रहेछ । विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी प्रशान्त क्षेत्रमा पाइने अक्टोपस हो । जसको तौल १५ किलो र खुट्टाको लम्बाई चार मिटरभन्दा बढी हुन्छ ।

अक्टोपसका तीनवटा मुटु र आठवटा हात नियन्त्रण गर्न नौवटा दिमाग रहेको हुन्छ । सबै अक्टोपस माङ्साहारी हुन्छन् भने यी जीवहरुले आफूभन्दा ठूला सामुद्रिक जीवको समेत शिकार गर्छन् ।

राप्रपा र अक्टोपसबीच समानताः
अक्टोपसको परिचय खुल्दामात्र पनि राप्रपा र अक्टोपसका लिलामा धेरै समानता पाइन्छ । आफूभन्दा ठूला सामुद्रिक जीवको समेत शिकार गर्ने अक्टोपसको जीवनलिला सम्झदा राप्रपाले विगतमा कांग्रेस–एमालेलाई खेलाएको प्रसंग तरोताजा हुन्छ ।

बहुदलीय व्यवस्थाको दिव्य बाह्र वर्षमामा मात्र हैन गणतान्त्रिक युगमा पनि राप्रपाले ठूला दलहरुलाई घुमाइघुमाइ शिकार गरेको थियो । आजपनि राप्रपा त्यही भूमिकामा छ । आजको परिवर्तनलाई अक्टोपसले मानिसलाई आक्रमण गरे झैं हरदिन गरिरहेको छ ।

राप्रपाको यो मांसाहारी आक्रमणमा परेर लोकतन्त्रको हुर्मत जाने क्रम छ । हिन्दू धर्म सापेक्ष र राजतन्त्र पुनःस्थापनाको ढिँडौरा पिटेर संघीय लोकतान्त्रिक गणतन्त्रको शिकार गर्न उद्धत छ ।

गत ०७४ कै निर्वाचनमा एमाले गठबन्धनले झापामा राप्रपालाई वैतर्णी पार नलाएको भए राप्रपाको दुवो पनि संसदमा हुने थिएन ।

ढाड नभएको जीवः
सन् १९७० मा गरिएको एक जीव वैज्ञानिक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो ।

केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन् ।

वैज्ञानिकहरुका अनुसार अक्टोपसको स्नायु प्रणाली निकै जटिल हुन्छ । ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झनमा राख्न सक्छ ।

जीव वैज्ञानिकहरुका अनुसार अक्टोपसलाई रङ्ग र आकार छुट्याउने तालिम दिन सकिन्छ । अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि हुन्छ ।

अक्टोपसको यो दोस्रो परिभाषाले त ठ्याक्कै राप्रपालाई अक्टोपस प्रवृत्तिको जुम्ल्याहा अनुभूत गराउँछ । षडयन्त्र गर्न सक्ने मस्तिष्क क्षमता नेपाली राजनीतिमा कसैसँग छ भने त्यो राप्रपा नै हो ।

मरिसकेको राजतन्त्रको गढे मुर्दे उखाडेर नेपाली राजनीतिलाई अल्मल्याउन सकिरहेकै छ । मूलधारका राजनैतिक दलका विचारगत कमजोरीलाई भजाएर राप्रपाले हजार भ्रम दिइ रहेको छ । हिन्दू धर्म सापेक्षताको मनोवैज्ञानिक मोलतोल गरेर ‘मुँगेरीलालको हसिन सपना’ देखाउन भ्याएकै छ ।

सूचना प्रविधिको द्रुत विकास भएको यो समयमा त राप्रपाको मलामी जान उद्धत समुदाय देखिन्छन् भने हिजोको परिकल्पना त गर्नै सकिन्न । आजको शताब्दीमा पनि राप्रपाको गढे मुर्दे विचारसँग सति जानुलाई यहाँ बिडम्बना नै मान्नु पर्छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्