Logo
Logo

सेतो हात्ती आतंक


- शम्भु श्रेष्ठ


– शम्भु श्रेष्ठ

देङ सियाओ पिङले आधुनिक चीनको खाका कोरे, त्यसलाई सीजीन पिङले व्यवहारमा लागू गरे । छिमेकी चीन आज विश्वमै धनी देश बनेको छ । महाशक्ति राष्ट्रका रुपमा उदाउँदो छ । सिंगापुरको खाका लिक्वानुले कोरे, आजको सिंगापुरको विकास विश्वका लागि उदाहरण बनेको छ । आधुनिक मलेसियाको खाका महाथीरले कोरे, आजको मलेसिया द्रूत विकासमा अगाडि बढेको छ । दक्षिण कोरियाको खाका पार्क चुङ हेले कोरे, आज दक्षिण कोरियाको विकासले जापानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

शम्भु श्रेष्ठ

सन् १९८० भन्दा अगाडि यी देशहरु नेपालभन्दा गरिब थिए । सन् ८० पछि यी देशहरुले आर्थिक विकासमा फड्को मार्नुको पछाडि विदेशी लगानी र कडा अनुशासन प्रमुख कुरा नै हो । देङले सन् १९८० पछि चीनमा वैदेशिक लगानीका द्वार खोल्दा विदेशी पूँजीले चीनको कम्युनिष्ट शासन व्यवस्था ध्वस्त पार्छ भनेर धेरैले आलोचना पनि गरेका थिए । तर, ठिक त्यसको उल्टो वैदेशिक पूँजीले चीनलाई विश्वकै समृद्ध मुलुक मात्र बनाएन, अमेरिकापछिको अर्को शक्तिशाली राष्ट्रका रुपमा उभ्यायो । आज चीन विश्वका विभिन्न देशमा खर्बौ डलर लगानी गर्ने राष्ट्रको रुपमा परिचित छ । सन् १९८० मा चीनको प्रतिव्यक्ति आम्दानी सय अमेरिकी डलर थियो भने, आज आठ हजार डलरभन्दा माथि छ । त्यस्तै सन् ८० मा मलेसियाको प्रतिव्यक्ति आम्दानी १९ सय डलर थियो भने, आज ११ हजार अमेरिकी डलर पुगेको छ । टाढाको कुरा के गर्ने केही महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण गरेको भियतनाम लामो द्वन्द्वबाट तंग्रिएको देश हो । त्यो देश अहिले धान निर्यात गर्ने देशमा विश्वमा पाँचौँ स्थानमा छ भने, कफी निर्यातमा दोस्रो स्थानमा छ । वैदेशिक लगानीले भियनतामको आर्थिक विकासलाई तीव्रता दिएको छ ।

यी देशको कुरा आफ्नो ठाउँमा छँदैछ । विश्वमै गरिब भनिएका देश इथोपियाले चमत्कारिक विकास गरेको छ । इथोपियामा पाँच खर्बको लगानीमा ६ हजार मेगावाट विद्युत् उत्पादन गरिएको छ । इथोपियन एयरलाइन्सले विश्वभरि आफ्नो गन्तव्य बनाएको छ । तर, हामी नेपालीहरुको स्थिति तथ्यांकले हिजोभन्दा आज अलि राम्रो देखाए पनि वास्तविक स्थिति ज्वरो आउँदा एउटा सिटामोल पनि किन्न नसक्ने अवस्थामा छौँ । यस्तो किन भयो भन्दा दोष राजनीतिक नेतृत्वलाई नै दिनुपर्ने हुन्छ । सन् १९९० पछि नेपालमा बहुदलीय व्यवस्था स्थापना भयो । त्यो राज्य व्यवस्थालाई देश र जनताको पक्षमा उपयोग गर्नेभन्दा पनि राज्यसत्ताको आडमा भएका उद्योगधन्दा कौडीको मोलमा बेच्यौँ । भ्रष्टाचारलाई संस्थागत ग¥यौँ । जनताको जनजीवन सुधार गर्ने शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई पनि निजीकरण र राजनीतिकरण ग¥यौँ । परिणाम मुलुक द्वन्द्वमा परिणत भयो । १० वर्षे ‘जनयुद्ध’ले मुलुकमा भएका उद्योगधन्दा पनि बन्द भए । गाउँमा युवाहरु टिक्न सक्ने अवस्था भएन । त्यही क्रममा लाखौँ युवा विदेश पलायन भए । तर, त्यो १० वर्षे युद्धले राजनीतिक परिवर्तनमा निर्णायक भूमिका खेल्यो । राजसंस्था अन्त्य भयो, गणतन्त्र आयो । गणतन्त्र पनि हुनेखाने वर्गका लागि मात्र आयो, हुँदा खाने वर्गलाई अहिल पनि हातमुख जोर्ने समस्या छ । पहिला राजसंस्थाको नाममा एउटा सेतो हात्ती थियो । अहिले गाउँ गाउँमा सेतो हात्ती आतंक छ ।

नेपाल पनि दश वर्षे ‘जनयुद्ध’बाट गुज्रिएर गणतन्त्रमा प्रवेश गरेको देश हो । जुनसुकै देश पनि एउटा क्रान्ति अथवा युद्धपछि तीव्र आर्थिक विकासमा प्रवेश गरेको छ । तर, नेपाल भने पटक–पटक व्यवस्था परिवर्तन भए पनि आर्थिक विकास नहुनुको पछाडि भ्रष्टाचार र कुशासन नै प्रमुख कारण हो । व्यवस्था परिवर्तन पछाडि नेता, कार्यकर्ता मोटाउँदै जाने, जनता दुब्लाउँदै जाने स्थिति बन्यो भने फेरि त्यसले अर्को द्वन्द्व निम्त्याउँछ । प्रधानमन्त्री ओलीले नाकाबन्दीताका मूर्छित नेपाली जनतालाई रेल, पानीजहाज, घरघरमा ग्यासको सपना देखाएर जगाएका थिए । ती सपना पूरा गर्न पनि आफ्ना वरपर इमान्दार मानिसको खाँचो पर्छ । सानो गुटमा खुम्चँदा मन्त्रिमण्डल असक्षम बनेको छ । स्थायी सरकार भनिने कर्मचारीतन्त्र निकम्मा र भ्रष्ट भएको छ । चुस्तदुरुस्त हुनुपर्ने प्रधानमन्त्रीको सचिवालय निरीह बनेको कारण सरकार बनेको १५ महिना बितिसक्दा पनि विकासले गति लिन सकेको छैन । यस कुरालाई प्रधानमन्त्री ओलीले आत्मसातगर्ने हो भने असक्षम सल्लाहकार, मन्त्री र सचिवहरु परिवर्तन गर्नैपर्छ । आलु रोपेर प्याज फल्दैन भनेझैँ करार गरेर असक्षम मन्त्रीलाई सक्षम बनाउन सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्