Logo
Logo

सशस्त्र प्रहरीमा अवैध एआईजी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ७५ हजारको फौज रहेको नेपाल प्रहरीमा गृह मन्त्रालयले तीन जना मात्र एआईजी राखेको छ । नेपाल प्रहरीमा तीन एआईजी पर्याप्त हुने गृहको निष्कर्ष छ । तर, त्यही गृह मन्त्रालयले ३६ हजारको फौज रहेको सशस्त्र प्रहरी बलमा समेत तीन जना एआईजी राखेको छ ।

सशस्त्रमा दुई जना मात्र एआईजीको दरबन्दी भएकोमा एक जनालाई अवैधरुपमा राखिएको छ । हाल सशस्त्रमा पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल एआईजी छन् । उनीहरुमध्ये पौडेल हुँदै नभएको दरबन्दीमा काम गरिरहेका छन् । हाल उनको सरुवा प्रशासन तथा मानव स्रोत साधन विभागमा भएको छ ।

नेपाल प्रहरीमा भने तीन एआईजी भएपछि दुई जनालाई मात्र काममा खटाइएको छ । एआईजी धिरु बस्न्यातलाई कारवाहीस्वरुप सुरक्षा परिषद्मा थन्क्याइएको छ । प्रहरी एकेडेमीमा हुँदा ठेकदारसँग पैसा मागेको अडियो प्रधानमन्त्री कार्यालयमा पुगेपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

जसकारण प्रहरी मुख्यालयमा एकै एआईजी चार विभाग हेर्नुपर्ने अवस्था छ । एआईजी ठूले राईले प्रशासन, मानवस्रोत, कार्य र अपराध अनुसन्धान विभाग चारै वटा विभाग हेर्दै आएका छन् । एक एआईजीहरुले सबै विभाग हेर्नु परेपछि मुख्यालय भद्रगोल बनेको प्रहरी अधिकारीहरु बताउँछन् ।

डिआईजी मनोज न्यौपानेलगायतले नयाँ दरबन्दी थपेर एआईजीमा बढुवा हुने प्रयास गरे पनि सफल हुनसकेका छैनन् । लबिङ गर्दागर्दै उनीहरुको अवकाश मिति नजिकिएको छ ।

उता सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी थप्न प्रयास चलिरहेको छ । डिआईजी सुरज श्रेष्ठले यस्तो चलखेल गरेका हुन् । हाल एआईजी भएपछि आईजिपी हुने सम्भावना भएकाले उनले चलखेल गरेका हुन् । तर, दरबन्दी थप नभए उनी पदावधिको कारण केही महिनापछि डिआईजीबाटै अवकाश पाउनेछन् । उनले अवकाश पाएको एक महिनापछि मात्र एआईजी नारायणबाबु थापाले अवकाश पाउने छन् । यदि एआईजी थापाले उनकै लागि एक महिनाअघि नै राजिनामा दिएमा मात्र उनको भाग्न खुल्नेछ । आईजिपीको पदावधि चारबाट तीन वर्षमा घटाएर श्रेष्ठलाई आईजिपी बनाउने खेल पनि सशस्त्र प्रहरीमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्