Logo
Logo

उदयपुर-१ : चौँथो जितको सुरमा नारायण, मञ्जुलाई यसपटक पनि संकट



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेताहरू गाउँ–गाउँमा पुगेका छन् । अन्य समयमा संघीय राजधानीमै बस्ने नेताहरू निर्वाचन नजिकिएसँगै आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन् । 

अरु बेला गाउँलाई फर्केर समेत नहेर्ने नेताहरू यतिबेला गाउँका कुना, काप्चा, डाँडाकाँडा पुगेका छन् । जनताका घरघरमा पुगेका छन् । घरदैलो कार्यक्रममा व्यस्त छन् । जनतालाई सपना देखाउन थालेका छन् । सुनाउँदै छन् ।

आगामी निर्वाचन गत निर्वाचनहरू भन्दा फरक हुने अंकल छ । यसपटक सत्ता गठबन्धन र एमाले गठबन्धन चुनावी मैदानमा छन् । ०७४ को निर्वाचनमा वाम गठबन्धन गरेर पहिलो दल बनेको एमालेलाई यसपटक सबैभन्दा ठूलो झट्का लाग्ने अनुमान गरिएको छ । एमालेले गठबन्धन गरेपछि सत्ता गठबन्धन जस्तो बलियो देखिँदैन । 

सत्ता गठबन्धनले उदयपुरमा पनि प्रभाव पारेको देखिन्छ । उदपुर–१ मा सत्ता गठबन्धनसँग एमाले एक्लैले प्रतिस्पर्धा गर्दैछ । प्रतिनिधिसभातर्फ उदपुर–१ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले उम्मेदवारी दिएका छन् भने एमालेबाट मञ्जुकुमारी चौधरीले उम्मेदवारी दिएका छन् । 

कांग्रेसका खड्कालाई सत्ता गठबन्धनको साथ छ भने एमालेका चौधरीलाई आफ्नो पार्टी (एमाले)बाट मात्रै साथ छ । ०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ हुँदा खड्कासँगै पराजित भएको चौधरीलाई यसपटक झनै गाह्रो हुने देखिन्छ ।  

०७४ को निर्वाचनमा चौधरीले ३२,५९४ मत पाएका थिए भने खड्काले ३३,१४२ मत पाएका थिए । त्यसबेला चौधरीलाई तत्कालीन वाम गठबन्धनको साथ थियो । वाम गठबन्धनको साथ पाए पनि पराजित व्यहोरेका मञ्जुलाई यो पटक भने एमालेको मात्र साथ छ ।

अहिले खड्कालाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ । एमाले पार्टी विभाजनले पनि चौधरीलाई यसपटक झनै कम्जोर उम्मेदवारको रुपमा हेरिएको छ । माओवादी र एकीकृत समाजवादीको साथ पाएका खड्काले यसपटक सहजै निर्वाचन जित्ने गठबन्धनको नेताहरु दाबी गर्छन् । 

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतमा एमाले अगाडी छ । गत स्थानीय तहको निर्वाचनमा एमालेले २१,६५२, कांग्रेसले २०,७५७, माओवादीले ८,१७९, एकीकृत समाजवादीले १,९९४, जसपाले २,४२९ र राप्रपाले १,६३३ मत पाएका थिए । 

वडाध्यक्षहरूले पाएको मतअनुसार एमाले पहिलो दल भए पनि नेता खड्काका साथमा माओवादी र एकीकृत समाजवादी छ । त्यस हिसाबमा एमालेभन्दा गठबन्धन ९,२७८ मत अगाडी छ । गठबन्धनको मत ३०,९३० मत छ ।

लगातार तीन पटक उदयपुर–१ बाट निर्वाचन जित्दै आएका खड्काले राम्रो छवि बनाएका छन् । खड्काले जिल्लामा विकासका कामहरू पनि गरेको स्थानीहरू बताउँछन् ।  
 

प्रतिक्रिया दिनुहोस्