Logo
Logo

ओखलढुंगा : रामहरिलाई बदला लिने अवसर, ‘ह्याट्रिक’ गर्ने दाउमा यज्ञराज



काठमाडौं । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा यसपटक यसअघिका निर्वाचनभन्दा फरक हुने देखिएको छ ।

यसपटक सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ । ओखलढुङ्गाबाट गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरि खतिवडा र एमालेबाट यज्ञराज सुनुवारले उम्मेदवारी दिएका छन् ।

०७० र ०७४ को निर्वाचनमा विजयी भएका नेता सुनुवार ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तर, उनलाई यसपटक भने सहज छैन । निर्वाचन जित्न फलामको चिउरा चपाए सरह हुनेछ ।

०७४ सालको निर्वाचनमा नेकपा माओवादी र एमालेको वाम गठबन्धनबाट सुनुवारले निर्वाचन जितेका थिए । सुनुवारलाई यो पटक आफ्नो पार्टी (एमाले)को मात्र साथ छ । एमाले पनि विभाजन भएकोले सुनुवारलाई यसपटक जित्न झन कठिन हुने राजनीतिक वृत्तमा चर्चा छ ।

नेता सुनुवार र खतिवडा ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुंगा निर्वाचन–१ र २ बाट निर्वाचित भएका थिए । ०७४ देखि ओखलढुंगामा एकमात्र निर्वाचन क्षेत्र बन्यो । र, यी दुई नेता एकअर्काका प्रतिस्पर्धी बने । दुवै नेताले जिल्लामा राम्रो छवि बनाएका छन् । उनीहरु आ–आफ्नो क्षेत्र र समुदायमा पकड राख्नसक्ने नेताका रुपमा मानिन्छ ।

गत स्थानीय निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मत परिणामअनुसार भने खतिवाडालाई सहज देखिन्छ । वडाअध्यक्षहरुले पाएको मतअनुसार कांग्रेसले ३२,२८८, एमाले २९,५९१, माओवादी केन्द्र ६,९६१, जसपा २,१९४, एकीकृत समाजवादी ५२१ र राप्रपा नेपालले १४६ मत पाएको थियो ।

उक्त मतअनुसार एमालेभन्दा गठबन्धन १० हजार बढी मतले अगाडि रहेको छ । गठबन्धको मत जोड्दा ३९, ७०१ पुग्छ भने एमालेको २९,५९१ मात्रै रहेको छ ।

यी दुबैजना नेता आगामी निर्वाचनमा दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । खतिवडा सत्ता गठबन्धनको भरमा ०७४ को बदला लिने तयारीमा छन् भने सुनुवार ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।

०७४ को निर्वाचनमा सुनुवार माओवादीसहितको मतबाट विजयी हुँदा खतिवडालाई कांग्रेसको मात्र साथ थियो । तर यसपटक परिस्थिति फेरिएको छ । माओवादीसहित एमालेबाट अलग भएको एकीकृत समाजवादीको मत खतिवडालाई जानेछ । त्यसैले पनि खतिवाडाले जित्ने सत्ता गठबन्धका नेताहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्