Logo
Logo

झापा-५ : राप्रपाको भरमा ओली, खगेन्द्रलाई कति सहज ?



काठमाडौं । झापा-५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी फेरि आमनेसामने हुँदैछन् ।

एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको ओलीलाई सत्ता गठबन्धनका उम्मेदवार अर्थात् ०७४ सालकै प्रतिस्पर्धी डा. अधिकारीसहितका २४ जनाले चुनौती दिँदै छन् । ओली एमाले–राप्रपासँगको तालमेल र डा. अधिकारी गठबन्धनको बलमा चुनावी मैदानमा उत्रिएका छन् भने अरु दल तथा स्वतन्त्र उम्मेदवार आफैमात्र चुनावी मैदानमा छन् ।

ओली र डा. अधिकारीको यो दोस्रो प्रतिस्पर्धा हो । ०७४ सालको निर्वाचनमा ओलीले डा. अधिकारीलाई पराजित गरेका थिए । वाम गठबन्धन र राप्रपासँग तालमेल गरेर ओली सानदार मतसहित विजयी भएका थिए । उनले ५७ हजारको हाराहारीमा मत पाएका थिए भने कांग्रेसका अधिकारी एक्लैले २८ हजारभन्दा बढी ल्यााएका थिए ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धनविरुद्ध एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो । स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतअनुसार यस क्षेत्र एमाले अगाडी छ । एमालेले ४१,६१९, कांग्रेस २२,०२२, माओवादी १०,७८८, राप्रपा ८,३५३ र नेकपा एकीकृत समाजवादीले १,९८८ मत पाएका थिए ।

स्थानीयको मतअनुसार एमालेको मत सत्ता गठबन्धको भन्दा धेरै छ । अहिले राप्रपासँगको तालमेलले एमाले झन् ढुक्क देखिन्छ । स्थानीय तहको निर्वाचनको आधारमा ओलीले सत्ता गठबन्धनका उम्मेदवारभन्दा साढे १५ हजारभन्दा बढी मत पाउने देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा पनि मत ३४ हजार ७९८ मात्रै पुग्छ । राप्रपाले सघाउँदा ओलीको मत ४९ हजार ९७२ मत पुग्छ ।

तर, प्रतिनिधिसभामा स्थानीय तहमा जस्तो नहुने र सत्ता गठबन्धन भएकाले डा. अधिकारीलाई सहज हुने कांग्रेसको दाबी छ । ओलीको एकलौटी कार्यशैलीले पनि कार्यकर्ता असन्तुष्ट रहेकाले उनलाई अप्ठ्यारो पर्ने नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्