Logo
Logo
उदयपुर-२

जगन्नाथलाई बागीको डर, अम्बरलाई असन्तुष्टको भर



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तर्फको निर्वाचनमा उदयपुर–२ मा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडा र नेकपा एमालेका अम्बरबहादुर रायामाझीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

उदयपुर–२ बाट उम्मेदवारी दिएका खतिवडालाई पाँच दलीय सत्ता गठबन्धनको साथ छ । खतिवडा उदयपुरबाट तेश्रो पटक निर्वाचन लड्दैछन् भने संसदीय निर्वाचनमा रायमाझीको यो पहिलो पटक हो ।

उनले यसअघि एक जित र एक हार बेहोरेका छन् । खतिवडाले यसअघि ०५६, र ०७० मा निर्वाचन लडेका थिए । ०५६ को निर्वाचनमा उनले जिते भने ०७० को निर्वाचनमा कांग्रेसका उम्मेदवार नारायणबहादुर काकीसँग पराजित भएका थिए । ०६४ र ०७४ मा भने उनले टिकटै पाएनन् ।

०७४ सालमा वाम गठबन्धन हुँदा यो क्षेत्र माओवादीको भागमा पर्यो । माओवादीबाट उम्मेदवार बनेका सुरेश राईले कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई पराजित गरेका थिए ।

चार गाउँपालिका र एक नगरपालिका रहेको उदयपुर–२ मा ९३ हजार मतदाता रहेका छन् । गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको अनुसार यस निर्वाचन क्षेत्रमा एमाले अगाडि देखिन्छ । तर सत्ता गठबन्धको मत जोड्दा एमाले करिब साढे चार हजार मतले पछाडि रहेको छ ।

गत स्थानीय निर्वाचनमा एमालेले १८ हजार ५७३, कांग्रेसले ११ हजार ३४४, माओवादीले ८ हजार २०२, नेकपा (एकीकृत समाजवादी) ३ हजार ४२७ र जसपाले १ हजार ४३४ मत पाएका छन् । उक्त मतअनुसार गठबन्धन एमालेभन्दा ४,४०० नगाडी छ । सत्ता गठबन्धनमा रहेको दलहरूको मत २२ हजार ९७३ पुग्छ ।

मतअनुसार सत्ता गठबन्धन अघि भएपनि बागी उम्मेदवारले जगन्नाथलाई अप्ठ्यारो पार्न सक्छन् । जगन्नाथका विरुद्ध कांग्रेसका रामकुमार राईले बागी उम्मेदवारी दिएका छन् । राईको बागी उम्मेदवारले खतिवडालाई सकस पर्ने देखिन्छ ।

कांग्रेस दुई भागमा विभाजित भएकाले पनि एमालेका अम्बरलाई फाइदा पुग्न सक्छ । शेखर कोइराला समूहको विदुर बस्नेतको प्यानलले खतिवडालाई मत नदिन सक्ने नेताहरू बताउँछन् । उक्त समूहको अम्बरलाई सघाए जगन्नाथलाई समस्या पर्न सक्छ । यस निर्वाचनमा कसले जित्छन् भन्ने कांग्रेसको मतले निर्धारण गर्नेछ ।

जगन्नाथ र अम्बर सहयोद्धा हुन् । एमाले विभाजनसँगै यी दुई नेता एक–अर्काबीच प्रतिस्पर्धामा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्