Logo
Logo

सिरियाबाट अमेरिकी सेना फर्काउने निर्णय कार्यान्वयन हुन्छ : पोम्पेओ



काएरो, २६ पुस (एएफपी) । सिरियामा कार्यरत सम्पूर्ण सेनालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना घोषणा गरेअनुसार नै फिर्ता गरिने विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् । उनले भने, ‘उक्त घोषणाको व्यापक रूपमा विरोध भएको छ तर सेनालाई सिरियाबाट फिर्ता गर्ने निर्णयलाई सरकारले अघि बढाउँछ ।’
अमेरिकी उच्च कूटनीतिक अधिकारी पोम्पेओले वासिंगटनका क्षेत्रीय सहयोगी मुलुकहरूको अकस्मात सेना फिर्ता गर्ने निर्णयप्रतिको गुनासोलाई सम्बोधन गर्न गरेकोे मध्यपूर्वको भ्रमणका क्रममा उनले उक्त कुरा बताएका हुन् ।
काएरोमा इजिप्टका विदेशमन्त्री सामेह सौक्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा पोम्पेओले भने, ‘राष्ट्रपति ट्रम्पले हाम्रो सेनालाई फिर्ता गर्ने निर्णय गरिसक्नुभएको छ । हामीले यसलाई कार्यान्वयन गर्छौँ ।’
यसैहप्ता अमेरिकी सुरक्षा सल्लाहाकार जोन बोल्टनले फिर्ता गर्न सिरियामा इस्लामिक स्टेट (आइएस) समूहको पराजितलगायतका शर्तहरू अघि सारेका थिए । बोल्टनको उक्त प्रतिक्रियाले ट्रम्पको घोषणाका बाबजुद पनि अमेरिका निर्णयबाट पछि हट्ने अनुमान गरिएको थियो । तर पोम्पेओको उक्त भनाइले ट्रम्प प्रशासन सिरियाबाट सेना फर्काउनेमा प्रतिवद्ध रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्