Logo
Logo

मोरङ-६ : बदला लिने दाउमा शेखर, लालबाबुलाई संकट !



मोरङ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कूल मतदाता एक लाख २६ हजार सात सय ६१ रहेको यस क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ ।

सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता डा. शेखर कोइराला र एमालेबाट लालबाबु पण्डितले उम्मेदवारी दिएका छन् । त्यस्तै, मङ्गोल नेशनल अर्गनाइजेशनका मोहनबहादुर राई , राप्रपाका गोपाल क्षेत्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखीराम माझी, जनमत पार्टीका बुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजु मण्डल राजवंशी उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धा भने शेखर र लालबाबुबीच हुने छ ।

०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए । वाम गठबन्धनको सहयोगमा लालबाबुले शेखरलाई ६ सय ७५ मतान्तरले पराजित गरेका थिए । लालबाबुले ३३ हजार ९४१ मत पाएका थिए भने शेखरले ३३ हजार २६६ मत प्राप्त गरेका थिए ।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा ०७४ को बदला लिने दाउमा छन् शेखर । यसपटक पाँच दलीय सत्ता गठबन्धनको साथ पाएका शेखर जित्नेमा विश्वस्त छन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार पनि यसपटक शेखरलाई सहज हुने देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले २७, हजार ८६, एमालेले २४ हजार ५५६, माओवादीले ४ हजार ९९६, जसपाले ३ हजार ९३९, राप्रपाले ३ हजार ११५, एकीकृत समाजवादीले २ हजार ३५५ र लोसपाले ८९५ मत पाएका छन् ।

वडाध्यक्षहरूले पाएको मतअनुसार एमालेभन्दा गठबन्धन ९८८१ मत अगाडि छ । सत्ता गठबन्धनको मत जोड्दा ३४ हजार ४३७ पुग्छ भने एमालेसँग २४ हजार ५५६ मात्रै छ । यस हिसाबमा शेखरलाई सहज र लालबाबुलाई सकस पर्ने देखिन्छ ।

अहिले दुवै नेताले प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गरिरहेका छन् । दुवैले विराटनगरलाई दोस्रो ठूलो सहरको रुपमा विकसित गर्न संरचनाको निर्माण गर्ने, निर्यातमूलक उद्योगको स्थापना गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय बनाउने, रोजगारी उपलव्ध गराउने, स्वास्थ्य, प्राविधिक शिक्षामा सहज पहुँच उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै सुकुम्बासी समस्या समाधान गर्ने, जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता उपलब्ध गराउने, खेलमैदान निर्माण, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विराटनगरको चक्रपथ निर्माणमा आवश्यक बजेट उपलब्ध गराउने, केशलिया खोलाको किनारमा विराटनगर रानीदेखि दुहवीसम्म सडक करिडोर निर्माण गर्ने जस्ता विकासका कार्य गर्ने उनीहरुको प्रतिवद्धता छ ।

प्रतिक्रिया दिनुहोस्