Logo
Logo

प्रदेश-१ : ८ प्रतिशत मात्रै महिला उम्मेदवार, माओवादी र एकीकृत समाजवादीबाट शून्य



काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि प्रदेश-१ मा राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन् ।

संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ तर प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि प्रदेश-१ मा एकदमै न्युन महिला उम्मेदवार छन् ।

महिला नेतृत्वले प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने आवाज उठाउँदै आएपनि प्रदेश-१ मा भने ८ दशमलब ४६ प्रतिशत मात्रै महिला उम्मेदवार रहेका छन् । प्रदेश-१ मा प्रतिनिधिसभातर्फ कुल ४३७ उम्मेदवार हुँदा ३७ जना मात्रै महिला उम्मेदवार रहेका छन् ।

प्रमुख राजनीतिक दलहरूबाट पाँच जना मात्रै महिला उम्मेदवार रहेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट भने प्रदेश एकमा प्रतिनिधिसभातर्फ एकजना पनि महिला उम्मेदवार रहेका छैनन् ।

प्रमुख पार्टीबाट खोटाङ, ताप्लेजुङ, धनकुटा, सङ्खुवासभा, भोजपुर र पाँचथरमा महिला उम्मेदवार शून्य रहेको छ । त्यस्तै, दुईभन्दा बढि निर्वाचन क्षेत्र भएका इलाम-१, सुनसरी-४, झापा–३ र मोरङ-४ र ६ मा महिला उम्मेदवार शून्य छ ।

माओवादीले आन्दोलन र भाषणमा महिला अधिकार र नेतृत्वका बारेमा चर्का कुरा गरे पनि महिलालाई नेतृत्वमा पु¥याउनुपर्छ भन्ने सोच कमजोर रहेको देखिएको राजनीतिक विश्लेषकहरु बताउछन् ।

कांग्रेसबाट मोरङ-२ मा सुजाता कोइराला उम्मेदवार छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका कोइरालाले एमालेका ऋषिकेश पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेसबाट तेह्रथुममा सीता गुरुङ उम्मेदवार छन् । उनले एमालेका उम्मेदवार विजय सुब्बासँग प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै, नेकपा एमालेबाट सुनसरी-३ मा भगवती चौधरी उम्मेदवार छन् । यसअघिको निर्वाचनमा विजयकुमार गच्छदारसँग पराजित भएका चौधरीले उनै गच्छदारसँग प्रतिस्पर्धा गर्दैछन् ।

उदयपुर-१ मा मञ्जुकुमारी चौधरी रहेका छन् । चौधरीले यस पटक पनि सत्ता गठवन्धनका साझा उम्मेदवार डा. नारायण खड्कासँग प्रतिष्पर्धा गर्दैछन् । २०७४ सालको निर्वाचनमा चौधरी खड्कासँग पराजित भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मोरङ-३ मा रेखा थापा उम्मेदवार छन् । नायिका समेत रहेका रेखाले नेकपा एमालेका भानुभक्त ढकाल र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डा. सुनिल शर्मासँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्