Logo
Logo

चितवन-२ : संसद छिर्ने रविको दाउ, कृष्णभक्त र उमेशलाई हराउन कति सहज ?



काठमाडौं । संघ र प्रदेशसभाको निर्वाचन आउँन मात्र ११ दिन बाँकी रहँदा सबैको ध्यान चितवन क्षेत्र–२ मा केन्द्रीत छ ।
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार १६ जना चुनावी मैदानमा छन्। यद्यपि यो क्षेत्रमा मुख्यगरि त्रिपक्षीय भिडन्त हुने भएको छ ।

सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ, एमाले नेता कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो । राष्ट्रिय राजनीतिमा रविको प्रवेशसँगै त्यहाँको चुनावी माहोल थप तातिएको छ ।

अहिले ठूला तथा साना दलका उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानमा घरदैलोमा पुगिरहेका छन्।
पत्रकारिता छाडेर पहिलोपटक संसदीय राजनीतिमा हाम फालेका रवि यस क्षेत्रमा उम्मेदवार बनेसँगै चितवन क्षेत्र २ मा चर्चाको विषय चुलिएको छ । तर, रवीलाई संसद छिर्न त्यति सजिलो भने पक्कै छैन ।

त्यस्तै गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ पहिलो पटक प्रत्यक्षतर्फ चुनाव लड्दैछन् । उनी यसअघि २०७४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थिए । त्यस्तै यस क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार बनेका छन् । पोखरेल २०७० र २०७४ को निर्वाचनमा यो क्षेत्रबाट जित हासिल गरिसकेका पुराना नेता हुन् ।

उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका शेषनाथ अधिकारीलाई १७ हजार ३५६ मतले हराएका थिए । पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा अधिकारीले २७ हजार ३१४ मत ल्याएका थिए । यसपटक पनि उनी ह्याट्रिक गर्ने दाउमा छन् ।
यो क्षेत्रका लागि रवि र गठबन्धनका श्रेष्ठ नयाँ अनुहार हुन् । लामिछाने अहिले चितवनका डाँडाकाँडा उक्लिन व्यस्त छन् ।

भूगोल नबुझेको क्षेत्रमा उम्मेदवारी दिएका रविले सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पाएको समर्थन नै आफ्नो जित हुने बताउँदै आएका छन्। उनले गठबन्धन र एमालेका दुवै मतदातालाई आफ्नो पक्षमा पार्न जोडबल गरिरहेका छन्।
कांग्रेसका उम्मेदवार श्रेष्ठ विकासको एजेन्डालाई प्राथमिकता दिएकाले आफ्नो जित निश्चित भएको दावी गर्छन् ।

एमाले उम्मेदवार पोखरेलले गत स्थानीय तह निर्वाचन र आफूले पटक–पटक जित्दै आएको ठाउँ भएकाले १० हजार बढी मतले आफु विजयी हुने दाबी गर्दै आएका छन् ।

जिल्लामा अन्य पार्टीभन्दा सांगठनिक हिसाबले एमाले बलियो छ । त्यसैले पनि चितवन–२ मा स्थानीयमाझ लोकप्रिय उम्मेदवार भएका र राष्ट्रिय एजेन्डाका आधारमा गठबन्धनभन्दा पोखरेललाई तुलनात्मक रूपमा जित्न सहज हुने चितवन जिल्ला अध्यक्ष राम न्यौपाने बताउँछन् ।

यो क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरका १० वटा वडा पर्छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने दुई पालिका इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका एमालेले जितेको छ ।

यो क्षेत्रमा पर्ने इच्छाकामनाका ७ वडा, कालिका नगरपालिका–११ र भरतपुरका १० वटा वडामध्ये सत्ता गठबन्धनले १७ वटा वडा जितेको छ भने एमाले एक्लैले ११ वडा जितेको थियो ।

स्थानीय तहको वडाध्यक्षको मत जोड्दा एमाले गठबन्धनभन्दा सत्ता गठबन्धन १४९ मतले अगाडि छ । सत्ता गठबन्धनबाट वडाध्यक्षका उम्मेदवारले ३५ हजार ३९४ मत ल्याएका छन् भने एमालेका वडाध्यक्षका उम्मेदवारले ३५ हजार ५४३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्