Logo

ब्राण्डेड, वाण्टेड र प्लाण्टेड : स्वतन्त्र



सबै पहेँलो बस्तु सुन हुँदैन । नेपाली भाकामा यो चल्तीको भनाइ हो । समसामयिक नेपाली राजनीतिको रंगभूमीमा यतिखेर यहि भ्रम छ । भएभरका पहेँलो बस्तु कुन सुन हो कुन हैन छुट्याउन हम्मे परिरहेको छ ।

मूलधारका राजनीतिक दलले सेवा प्रभाह नगरेको प्रतिक्रियास्वरुप यतिखेर चुनावमा स्वतन्त्र उम्मेदवारको भीड लागेको छ । तर, ‘वास्तविक स्वतन्त्र’ को हो भनेर पहिचान गर्ने नेपाली मतदातामा कुनै कसी छैन ।

मानौं दशकौंदेखि संघर्ष गरिरहेका पार्टीलाइसमेत स्वतन्त्रको भूतले तर्साइरहेको छ । स्थानीय तहको निर्वाचनमा केही स्थानमा स्वतन्त्र उम्मेदवारको सफलतापछि प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेद्वार बन्नेको होड लागेको हो ।

निर्वाचनमा सबैको परख हुन्छ, यो आम भनाइ हो । तर निर्वाचन स्वच्छ हुन जरुरी छ । निर्वाचनको स्वच्छताले सार्वभौम जनताको अभिमतलाई लोकतन्त्रमा अनुवाद गर्दछ ।

लोकतन्त्र भनेको समानहरुकाबीच समान प्रतिष्पर्धा हो । असमानहरुकाबीच समान प्रतिष्पर्धा हुनु लोकतन्त्र अनुकुल होइन । निर्वाचन प्रणालीले लोकतन्त्रलाई समयानुकुल बनाउनु पर्छ । यहि सैद्धान्तिक मान्यताको आधारमा लोकतन्त्रको भविष्य निर्धारण हुन्छ ।

आवाधिक निर्वाचनलेमात्र लोकतन्त्रको भविष्य निर्धारण गर्दैन । समयानुकुल निर्वाचन प्रणालीको सुधार, परिमार्जन आवश्यक हुन्छ । यसरी निरन्तर निर्वाचनको अभ्यासले केही नयाँ कुराको माग गर्दछ । र, निर्वाचन प्रणालीको परिमार्जनले जनताको सार्वभौम अधिकारको सुनिश्चितता गर्दै लैजान्छ । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सन्तुलनसँगै निर्वाचन प्रणालीलाई अनुकुल बनाउँदै लैजानु जरुरी छ ।

वर्तमान निर्वाचन प्रणालीमा प्रत्यक्ष र समानुपातिकको व्यवस्था छ । समानुपातिक निर्वाचन प्रणाली दलीय आधारमा नेपालको जनसाँख्यिक तस्विरलाई प्रतिनिधित्व गर्न बनाइएको हो । तर, राजनीतिक दलले समुदायको प्रतिनिधित्व गराउने नाममा अनेकन भ्रष्टीकरण गरेकोले समानुपातिक व्यवस्थालाई ‘श्रीमतीपातिक’, ‘सालो–सालीपातिक’ वा यस्तै अनेक नामले व्यंग्य गर्ने गरिएको छ ।

चुनावी मैदानमा ब्राण्डेड, वाण्डेट र प्लाण्टेड उम्मेदवार भेटिन्छन् । मतदाताले ब्राण्डेड बाहेकका उम्मेदवारलाई चुन्नु वर्तमान परिवर्तनको विपक्षमा जानु हो । आजसम्मको उपलब्धिमाथि नै कुठाराघात गर्नु हो ।

समानुपातिक निर्वाचन प्रणाली समुदायको न्यायपूर्ण प्रतिनिधित्व गराउने मामिलामा चुक्दै गएकोले यसमा वैधानिक हस्तक्षेप जरुरी भएको छ । प्रत्यक्ष निर्वाचनमा एउटै अनुहारको प्रतिनिधित्व गराउने दलीय निरन्तरताले ल्याएको प्रतिक्रियाले स्वतन्त्रको लहर चलेको हो । तर, यो लहरले दलहरुलाई सच्याउने भन्दा दलीय व्यवस्थालाई विच्क्याउने हद पार गर्न थालेको छ ।

यसैक्रममा राजनीतिक बजारमा देखिएका स्वतन्त्रको रंगढंगको विवेचना गर्दा आङ्ल भाकामा ब्राण्डेड, वाण्डेट र प्लाण्टेड किसिममा परिभाषित गर्न सकिन्छ । यसर्थ आम मतदाताले ब्राण्डेड बाहेकका उम्मेदवारलाई चुन्नु वर्तमान परिवर्तनको विपक्षमा जानु सरह हुनेछ ।

ब्राण्डेड उम्मेद्वार बाहेकलाई जिताउनु आजसम्मको उपलब्धिमाथि नै कुठाराघात गर्नु हो । यहाँ यिनै स्वतन्त्र उम्मेद्वारको रुप र सारको चर्चा गरिनेछ ।

ब्राण्डेड :
ब्राण्डेड किसिमको स्वतन्त्र उम्मेदवारको आफ्नै मुद्धा हुन्छ । जनताका कुनै एक मुद्धालाई किनारा लगाउने हदको मुद्धा बोकेर स्वतन्त्र उम्मेद्वारी दिन्छ भने त्यस्तो उम्मेद्वारलाई ब्राण्डेड स्वतन्त्र उम्मेद्वारको बहीमा राख्नु पर्ने हुन्छ ।

पञ्चायती चुनावी कालखण्डमा यस्ता धेरै बाण्डेड उम्मेद्वारहरु हुन्थे । त्यसमध्ये रुपचन्द्र विष्टको अग्रस्थानमा नाम लिनु उचित हुन्छ । उनले जनताका मुद्धालाई दार्शनिक शैलीमा अगाडि ल्याएर थर्काउँथे । पद्मरत्न तुलाधरलगायतका उम्मेद्वारले जनताको पक्षमा निरंकुशताको विरोधमा मुद्धा ब्राण्डिङ गरेका थिए ।

गत स्थानीय निर्वाचनमै पनि धरान उप–महानगरपालिकामा हर्क साम्पाङ त्यस्तै ब्राण्डेड उम्मेद्वार थिए । उनले धरान नगरको खानेपानी समस्यालाइ मुद्धाको रुपमा ब्राण्डिङ गरेका थिए । चुनाउ जितेपछि पनि उनले आफ्नो मुद्धा छोडेका छैनन् ।

यस अर्थमा उनको लोकप्रियतामा कमि आएको छैन । यदि उनको खानेपानी ब्राण्ड मुद्धालाई सफलतापूर्वक किनारा लगाउन सकेनन् भने उनको लोकप्रियता त्यहीँ पुगेर सिद्धिनेछ । हर्क साम्पाङ बाहेक विजयी उम्मेदवारहरुले आफ्नो ब्राण्ड मुद्धा अगाडि ल्याउन नसकेकै कारण यतिखेर उनीहरु प्रचारको शिखरबाट ओरालो लाग्दैछन् ।

वर्तमानका ब्राण्डेडहरु :
वर्तमानमा प्रतिनिधिसभा निर्वाचनमा केही प्रतिनिधिमूलक ब्राण्डेड स्वतन्त्र उम्मेदवार छन् । त्यसमध्ये झापा क्षेत्र न. ५ का युग पाठक नम्बरी ब्राण्डेड उम्मेदवार हुन । उनले युरोपेली औपनिवेशिक विश्व राजनैतिक दृष्टिकोण विरुद्ध नयाँ दार्शनिक मुद्धा अगाडि ल्याएका छन् । नेपाली भाकामा यस्तो आन्दोलनलाई ‘उत्थान आन्दोलन’ नाम दिन सकिन्छ ।

पाठकले अगाडि सारेको आन्दोलनको खुद नाम भने ‘उजुलेसन मुभमेण्ट’ हो । विगतमा केपी ओली निर्वाचित हुँदै आएको झापा क्षेत्र नं ५ मा उनको उम्मेदवारी एउटा राजनीतिक मुद्धाको अनुमोदनको पक्षमा छ ।

अर्का ब्राण्डेड स्वतन्त्र राजनीतिक उम्मेदवार रुपन्देहीका घनश्याम भुसाल हुन । ओलीको प्रतिगामी हर्कतविरुद्ध उनको उम्मेदवारी पनि राजनीतिक हैसियतले ब्राण्डिङको कोटीमा राख्न सकिन्छ । यस्तै विगत स्थानीय निर्वाचनमा काठमाण्डौ महा–नगरपालिकामा उम्मेदवार भएर सम्मानजनक मत प्राप्त गरेका सुमन सायमी हुन । उनी यतिखेर काठमाण्डौ क्षेत्र नं. ८ का प्रतिनिधिसभाका उम्मेदवार छन् । नेवारी समुदायको उत्थान आन्दोलनका अभियन्ता सायमी यसपटक मतमार्फत अनुमोदित हुने बढी सम्भावना छ ।

वाण्टेड :
आफैले चाहना गरेर वा नजिकका असन्तुष्ट समूहले चाहना गरेर स्वतन्त्रको नाममा उठेका र उठाइएका उम्मेदवारहरु वाण्टेट वर्गमा पर्छन ।

पार्टीले टिकट बाँडेको अघिल्लो दिनसम्म पार्टीकै बोनाफाइट सदस्य रहेका र पछिल्लो दिन बगावत गर्नेहरु वाण्टेड उम्मेदवार हुन । नेपाली भर्नाकुलर नेपालीमा बागी नाम भनिएता पनि यो नाम अलिक सुहाउँदो अवश्य होइन । बागी शब्द राजनीति शब्दावली सुहाउँदो होइन ।

असामाजिक र फौजदारी सरहको शब्द भएकोले यहाँ बागी नाम दिनु उचित हुन्न । भारतीय चुनावी रजनीतिमा यस्ता उम्मेदवारलाई निर्दलीय उम्मेद्वारको नामले चिनिन्छ । भारतको चुनावमा ‘नो भोट’ (नोटा)को प्रवन्ध गरिएकोले निर्दलीय उम्मेदवारको ‘चार्म’ घट्दै गएको छ ।

यो कदकाँटीका असंख्य उम्मेदवारहरु संघीय प्रतिनिधिसभा र प्रदेशसभामा बग्रेल्ती छन् । कुनैपनि प्रदेशमा यस्ता उम्मेद्वारहरु पाइन्छ । यिनको उपस्थितिले मूख्य राजनीतिक दलहरु विचारसून्य हुँदै गरेको संकेत मिल्छ ।

मूख्य राजनीतिक दलहरुले बैलैमा विचारधारात्मक सुदृढीकरण गरेनन भने आउने दिन दलहरुमा तरलता आउने छ । यहिँनेर आएर विश्व राजनैतिक दृष्टिकोणसंग युरो औपनिवेशिक राजनीतिको भाष्य केलाउन जरुरी छ ।

प्लाण्टेड :
केही स्वतन्त्रहरु वर्तमानको उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समाबेशी विरुद्ध उठेका छन् । यी देशीविदेशी प्रतिक्रियावादीका प्लाण्टेड उम्मेदवारको कोटीमा पर्छन ।

हुनतः राप्रपा लगायतका दलहरुपनि वर्तमान व्यवस्थाको विरुद्धै छन् । तर यी पार्टीहरु खुलेआम यो व्यवस्थाको विरोधमा आएका हुन । तर, यी पार्टी बाहेकका स्वतन्त्रहरु छद्म प्लाण्टेड उम्मेदवार हुन । यिनले दलहरुले भित्राएको विक्रिती विसंगती र भ्रष्टाचारको व्यानरमा व्यवस्थानै उल्टाउने खेतीपाती भित्रयाउन लागेका हुन ।

स्वतन्त्र नामलाई ‘क्वाइन’ गरेर रवी लामिछानेकृत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को भूमिका पनि यो व्यवस्था प्रतिको रुची देखाउँदैन । आधारभूत राज्यको संघीय संरचनामा यो पार्टीले प्रदेशसभामा रुची नदेखाएकै कारण उम्मेदवारी दिएन । भलै समय अभाव आदि प्राविधिक कुरा गरेर पन्छिएको छ । तर, समयक्रमसंगै यो पार्टीको असली रुप खुल्ने छ ।

अर्को यस्तै स्वतन्त्र अभियानको नाममा लौरो चुनाउ चिन्ह लिएको ‘हाम्रो नेपाल पार्टी’ पनि हो । गत स्थानीय निर्वाचनमा लौरो चुनाव चिन्हधारी उम्मेद्वारको सफलतापछि यसले लौरो चुनाउ चिन्हमा पार्टी दर्ता गरायो । लौरो चिन्हको लोकप्रियतामा झुल्केको यो पार्टीका अभियानकर्ताको राजनैतिक उद्वेश्य, लक्ष केही देखिन्न ।

राजनीतिलाई हाँक्ने सारथीको कार्यनीतिगत, रणनीतिगत मुद्धा बेगरका राजनैतिक पार्टीहरु क्लब सरह हुन । यो पार्टीले समानुपातिकतर्फ मत बटुलेर संसद छिर्ने एकमात्र उपक्रम गरेको लाटाले पनि बुझ्न सक्छ । पहिलो पटक मतदाता सामु आउँदा नै यो पार्टीले ढाँटेको छ । यस्तो ढँटुवा पार्टीको राजनीतिक अर्थ लगाउनु बेकार हुन्छ । यो चिन्हधारी उम्मेद्वारहरुले आफुलाइ खाँटी स्वतन्त्र देखाउन पार्टीको नामसम्म लिँदैनन् ।

रहलपहल :
राजनैतिक व्यवस्थामा अराजनीतिक हुलमुल हुनु हुन्न । दलीय व्यवस्थाको विकल्प रुपमा दल हो । सारमा दर्शनयुक्त विचारधारा हो । विचार बेगरको राजनीतिक दलको कल्पनासम्म गर्न सकिन्न । विचार बेगरको दल खतरायुक्त हुन्छ । राजनीतिक दलहरुले आफ्नो सैद्धान्तिक अडान छोड्दै जाँदा अहिलेको वेथिति निम्तिएको हो । जनतामा सेवा प्रभाह गर्न अक्षम हुँदै जाँदा सत्तारुढ दलहरु प्रति वितृष्णा जागेको हो ।

दलहरुले आफ्नो सैद्धान्तिक दृष्टिकोणलाई ठीक ठाउँमा ल्याउनु पर्छ । या त नयाँ राजनीतिक दलहरु आउनु पर्छ । ब्राण्डेड स्वतन्त्र बाहेकका उम्मेदवारले अहिलेको व्यवस्थालाई पुनर्जलीय उपचार गर्न कदापी सक्तैनन् । राज्यका संरचनाहरु साधनमात्र हुन ।

साध्य दार्शनिक विचार हो । विचारविहीन भिड हटियाको भिडभन्दा अलग हुनै सक्तैन । जुन भिडले आफ्नो स्वार्थको बस्तु खरिदारी गर्ला तर उत्पादन गर्न सक्तैन । मुलुक प्रतिगामी, प्रतिक्रियावादी र यथास्थितिवादीको चंगुलमा छ । यो यथास्थितिलाई अग्रगमनतर्फ लैजान वाण्टेड र प्लाण्टेड स्वतन्त्रहरु चुन्ने महाभूल गर्नु हुन्न ।

सुझाव वा टिप्पणीको लागिः
[email protected]

प्रतिक्रिया दिनुहोस्