Logo
Logo

प्रहरीमा बदनामहरुकै हालिमुहाली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ भदौ ।
नेपाल प्रहरीमा पैसा कमाउने र माथिल्लो निकायमा बुझाउन सक्ने प्रहरीहरु हाबी हुन थालेका छन् । प्रहरीको हालैको सरुवामा यस्तै देखिएको छ । इमान्दार र क्षमतावानहरु पाखा लागेका छन् भने घुस खान र माथिल्लो निकायमा बुझाउन माहिरहरुले अवसर पाएका छन् ।


एसपी सरुवामा आर्थिक चलखेल गर्नेहरु नै हाबी भएका छन् । कार्यक्षमतामा कमजोर एसपी प्रज्वल महर्जनलाई सिन्धुपाल्चोकमा खटाइएको छ । सप्तरीमा खटाइएका कृष्ण प्रसाई विगतमा विभिन्न विवादमा परेका अधिकृत हुन् ।
बारामा खटाइएका विकाराज खनाल सुन तस्करी मुद्दा झेलिरहेका छन् । दाङका एसपी बेल बहादुर पाण्डेलाई नौ महिनामा नै हटाएर जनक भट्टराईलाई पठाइएको छ । बाग्लुङका एसपी कृष्णहरी शर्मालाई ६ महिनामै हटाइएको छ । सुर्खेतमा खटाइएका दिल्लीराज पन्त पनि कार्यक्षमतामा कमजोर प्रहरी अधिकारी हुन् ।
एसएसपी सरुवामा पनि निष्पक्षता देखिएको छैन । गृहसचिव प्रेमकुमार राईकै कारण टेकप्रसाद राईले ललितपुरको प्रहरी प्रमुख हुने अवसर पाएका छन् । गृहसचिवकै कारण उनी बढुवामा समेत अघि तानिएका थिए ।
डिएसपी सरुवामा पनि त्यस्तै बिकृती देखिएको छ । शक्तिकेन्द्रकै सिफारिस हुनेहरुले मात्र इन्चार्ज हुने अवसर पाएका छन् । केहीले भने आर्थिक चलखेलका आधारमा इन्चार्ज पाएका छन् ।
त्यसरी चलखेलका आधारमा सरुवा हुनेमा डिएसपी रमेश सिंह हुन् । उनलाई बौद्ध जस्तो संवेदनशील वृत्तको इन्चार्ज दिइएको छ । ललितपुरमा हुँदा उनी रंगेहात घुससहित पक्राउ परेका थिए । चलखेलकै आधारमा अदालतबाट मुद्दा जितेपछि उनले बढुवा पाए । बढुवा भएको केही समयमै कोहलपुरको इन्चार्ज दिइयो । लगत्तै उनलाई बौद्धको इन्चार्ज दिइएको छ । जसलाई धेरै आश्चर्य मानेका छन् । सिंह जस्तै पैसा कमाउने र सबैतिर बुझाउने प्रहरी अधिकारीहरु प्रहरीमा हाबी हुन थालेका छन् ।

बदनाम इन्सपेक्टर असरफ अली अन्सारीलाई पैसा असुल्नकै लागि हालै पर्सामा सरुवा गरिएको छ । पर्साका एसपी सोमेन्द्रसिंह राठौरले सेटिङ मिलाएर पैसा असुल्न उनलाई मगाएका हुन् । अन्सारी अपराधिक समूहसँग साँठगाँठ भएका प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्