Logo
Logo

‘डिसेम्बर फल्स’को टिजरमा झल्कियो आर्यन र उपासनाको प्रेम



काठमाडौं । नेपाली फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक गरिएको छ । ३० डिसेम्बर अर्थात १५ पुषमा देशब्यापी प्रदर्शनमा आउने फिल्मको टिजर युट्युव च्यानल म्युजिक डटकममार्फत दर्शकमाझ ल्याइएको हो ।

केही समयको बिश्रामपछि अभिनेता आर्यन सिग्देललाई दर्शकले यही फिल्ममार्फत पुनः ठूलो पर्दामा हेर्न पाउने छन् । उनलाई साथ दिएकी छिन्, अभिनेत्री उपासना सिंह ठकुरीले ।

सार्वजनिक १ मिनेट १५ सेकेन्ड लामो टिजरमा आर्यनलाई एक्शन लभर ब्वाइका रुपमा प्रस्तुत गरिएको छ भने उपासना नर्सको भूमिकामा देखिएकी छिन् । टिजर हेर्दा अस्पतालमा बिरामीमाथि हुने गरेको लापर्वाही तथा यथार्थताको बिषय फिल्मले उठाएको संकेत गराउदछ ।

सँधै उस्तै उडन्ते मायाप्रेम, यथार्थभन्दा धेरै परका काल्पनिक बिषयजन्य फिल्म हेर्दाहेर्दा दिक्दार भएका दर्शकलाई यो फिल्मको टिजरले नै ठूलो आशा जगाएको छ । टिजरसँगै आम दर्शकमा ‘डिसेम्बर फल्स’ले कुतुहलता पैदा गराउन सफल भएको छ ।
बलिउड नगरीमा ब्यस्त निर्देशक प्रवीण झाको निर्देशन र सिनेमाटोग्राफर महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई युवानिर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

फस्र्टलुक पोस्टर सार्वजिकसँगै चर्चामा रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,नरेश भट्टराई,सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायत कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन भने कार्यकारी निर्मातामा लक्ष्मण रिजाल र असिम काफ्ले छन् ।

रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मको कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । पटकथा र सम्वाद भने केदार भुसाल र प्रतिक पौडेलले तयार पारेका हुन् ।

बनिष शाहले सम्पादन गरेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन,कबिराज गहतराज,रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ । फिल्मको बितरण सुनील मानन्धरले गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्