Logo
Logo

अफ्रिकी युनियनको चुनावी प्रचार : एएनसीका लागि फलामको च्यूरा



डर्बान, २७ पुस (एएफपी) । दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेस (एएनसी)ले चुनावी अभियान शनिबारदेखि शुरु गर्दैछ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा चुनाव हुँदैछ । पार्टीभित्रको आन्तरिक विभाजन, सुस्त अर्थतन्त्र तथा घट्दो जनमतबीच एएनसीले चुनावी अभियान सुरु गर्न लागेको हो ।

रंगभेद नीतिको अन्त्य भएपछि २५ वर्षदेखि एएनसीले दक्षिण अफ्रिकामा एकछत्र शासन गरिरहेको छ । पूर्वराष्ट्रपति ज्याकोब जुमाको राष्ट्रपतीय शासनकालमा भ्रष्टाचार बढेका कारण आमजनतामा एएनसीको लोकप्रियतामा ठूलो ह्रास आएको छ । सत्तामा नौ वर्ष रहेका ज्याकोब जुमालाई गत वर्षको फेब्रुअरीमा एएनसीले पदबाट हटाएको थियो ।


नेल्सन मन्डेलाले नेतृत्व गरिसकेको एएनसीले सन् २०१६ को स्थानीय चुनावमा बहुमत ल्याउन निकै संघर्ष गर्नुपरेको थियो । पार्टीले कूल खसेको मतको करिब ५४ प्रतिशत मात्र मत प्राप्त गरेको थियो । मुलुकका दुई ठूला सहरहरु जोहानेसबर्ग र प्रिटोरियामा पार्टीले हार व्यहोर्नु परेको थियो ।
तर पछिल्लोपटक इपसोसले गरेको एक सर्वेक्षणमा मे महिनामा हुने राष्ट्रिय र प्रान्तीय चुनावमा ६१ प्रतिशतसम्म मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।
बजार सुधारवादी नेता सिरिल रामाफोसा अफ्रिकाको राष्ट्रपति भएपछि एएनसीको छवीमा केही सुधार आएको बताइन्छ । ज्याकोब जुमालाई पार्टीबाट हटाएलगत्तै रामाफोसा अफ्रिकाको राष्ट्रपतिमा चुनिएका थिए । ‘रामाफोसा नभएको भए एएनसीले चुनावमा ठूलो पराजय व्यहोर्ने निश्चित थियो,’ राजनीतिशास्त्री झोलानी दुबेले बताए । ‘एएनसीले सबै किसिमका चुनावहरु हार्ने अवस्थामा थियो तर रामाफोसा उद्धारकका रुपमा देखिनुभएको छ ।’
अरु कतिपय विश्लेषकहरु बढी नै सतर्क देखिन्छन् । उनीहरुको भनाईमा रामाफोसा राष्ट्रपति नभए पनि पार्टीले चुनाव जित्ने सम्भावना थियो, तर पार्टीलाई झिनो बहुमत मात्र प्राप्त हुन्थ्यो । शनिबार, पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजना हुने समारोहमा डर्बानको रंगशालामा ८५ हजारभन्दा बढी पार्टी समर्थक एवं शुभेच्छुक भेला हुने अपेक्षा गरिएको छ । पार्टीका वरिष्ट सदस्यहरु यसै साता क्वाजुलु नाटाल प्रान्तमा चुनावी सभामा सहभागी हुँदैछन् ।
ठूलो जनसंख्या रहेको क्वाजुलु नाटाल प्रान्तबाटै चुनावी घोषणापत्र सार्वजनिक गर्नुको विशेष महत्व रहेको छ । गत वर्षको शक्ति सङ्घर्षपछि एएनसीभित्र एकता रहेको देखाउन पनि नाटाल प्रान्तलाई रोजिएको बताइन्छ । रामाफोसाले पार्टी्भित्र सम्बन्ध सुधार गर्ने सार्वजनिक रुपमै घोषणा गर्नुभएको छ । पूर्वराष्ट्रपति जुमाप्रति सकारात्मक टिप्पणी गरेर रामाफोसाले पार्टीका सबैको सदभाव बटुल्ने प्रयत्न गरेका छन् ।

‘रामाफोसाले ज्याकोब जुमाको प्रतिछायाँलाई सम्बोधन गर्नु आवश्यक छ जुन एएनसीको पार्टी संरचनाभित्र घुमिरहेको छ,’ दुबेले भने । रामाफोसाले यसै साता भने, ‘हाम्रो इतिहासमा अर्को महत्वपूर्ण क्षणको संघारमा हामी आइपुगेका छौं, हामीले विगतको अभियानलाई पुनस्र्थापित गर्नु परेको छ ।’


रामाफोसाको एउटा महत्वपूर्ण प्रतिज्ञा नै संविधान शंसोधन पनि हो जसमा अल्पसंख्यक गोरा जातिको स्वामित्वमा रहेको जमिन बिना क्षतिपूर्ति गरिब काला जातिलाई उपलब्ध गराउनु रहेको छ । भूमिहीन काला मतदातालाई यो योजनाले आकर्षित गर्नेछ भने धेरै विदेशी लगानीकर्ताहरु यस योजनाबाट त्रसित हुन थालेका छन् ।
पार्टीले ६० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएमा पार्टीको प्रभाव अझ बढ्नेछ । अफ्रिकाको आर्थिक वृद्धि गत वर्ष शून्य दशमलब ७ प्रतिशत मात्र रहेको थियो । बेरोजगारी दर २७ प्रतिशतभन्दा बढी पुगेकाले आमजनतामा पार्टीप्रति असन्तुष्टी चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्