Logo
Logo
निर्वाचन विश्लेषण

ओलीको पावर काम लागेन, आडम्बरी विशाललाई मतदाताले हराए



काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा यो पटक एमालेले ठूलो क्षति बेहोरेको छ । यस क्षेत्रमा एमालेले २०७० र २०७४ को आमनिर्वाचन जितेको थियो ।

फाइल फोटो

खोटाङमा पछिल्ला दुई संसदीय निर्वाचन जित्दा एमालेका विशाल भट्टराई नै निर्वाचित भएका थिए । तर, यसपटक भने उनको जित यात्रामा ब्रेक लगायो ।

तेस्रो जित निकाल्दै ‘ह्याट्रिक गर्ने’ विशालको चाहना थियो । तर, मतपरिणाम विशालको अनुकुल हुन सकेन । माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ले विशालको जित यात्रामा ब्रेक लगाइदिए ।

२०७४ को आम निर्वाचनमा एमाले र माओवादी वाम गठबन्धन बनाएर मैदान उत्रेका थिए । त्यो बेला विशालको जितमा पासाङ बलियो सारथी थिए । तर, परिस्थितिले यसपटक पासाङ र विशाललाई प्रतिस्पर्धी बनायो । उनै सारथी पासाङबाट विशाल पराजित हुनुपर्यो ।

नेकपा विभाजनपछि परिस्थिति फेरियो । पुष ५ मा ओलीले गरेको प्रतिगमनले नेकपा विभाजन गरेसँगै विशाल र पासाङलाई पनि दुई कित्ता विभाजन गर्यो । विसाल एक्लै मैदानमा उत्रे भने पासाङलाई कांग्रेस र एकीकृत समाजवादीको साथ थियो ।

यसपटक खोटाङमा दुई पूर्वसहकर्मीको प्रतिस्पर्धा साँच्चिकै रोचक देखियो । त्यो भन्दा पनि रमाइलो त मतान्तर रह्यो । आफ्नै सहकर्मीसँग विशाल दुई हजारभन्दा धेरै फराकिलो मतान्तरले पराजित हुनुपर्यो ।

पासाङले  ३१ हजार ३५१ मत पाउँदा विशालले २८ हजार ६८२ मात्र पाए । विशाल र पासाङबीच २ हजार ६६९ मतान्तर रह्यो । विशालले अघिल्लो निर्वाचन पाएको मतको आधारमा यो निक्कै फराकिलो मतान्तर हो ।

०७४ को निर्वाचनमा विशालले ३६ हजार ३२९ मत पाएका थिए । यसपटक पाएकोभन्दा अघिल्लो मत ७ हजार ६४७ धेरै हो । यस आधारमा खोटाङमा विशाल मात्र पराजित भएनन्, एमालेले अघिल्लो निर्वाचनमा पाएको मतसमेत सुरक्षित गर्न सकेन ।

विशाल भट्टराई पराजित हुनुको कारण

१. एमाले विभाजनको असर
विशाल पराजित हुनुको एक कारण हो, एमाले विभाजन । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि धेरै नेता कार्यकर्ता एकीकृत समाजवादी भए ।

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले नै खोटाङमा एमाले अधिक कमजोर भइसकेको देखाएको छ ।

०७४ को स्थानीय निर्वाचनमा एमालेले खोटाङको १० मध्ये पाँच पालिका जितेको थियो । तर, यसपटक भने १० मध्ये एमाले २ पालिकामा सीमित भयो ।

२. नेकपा विभाजन र वाम-लोकतान्त्रिक गठबन्धन
खोटाङमा एमाले कमजोर बन्नुको अर्को कारण हो नेकपा विभाजन भएपछि वाम–लोकतान्त्रिक गठबन्धन बन्नु ।

नेकपा विभाजन हुँदा एमाले त्यसै कमजोर भयो । त्यसपछि बनेको वाम–लोकतान्त्रिक गठबन्धन बन्दा अघिल्लो निर्वाचनको सारथी दल माओवादी एमालेसँग रहेन ।

यस आधारमा यसपटक विशालले पाएको मत थोरै होइन । तर, गठबन्धनसामु एमालेको राम्रो संगठन पनि टिक्न सकेन ।

३. कार्यकर्ताको रोजाइमा थिएनन् विशाल
विशालले मात्र निरन्तर अवसर पाइरहेको भन्दै एमाले भित्रैबाट आलोचना हुने गरेको थियो । त्यसकारण, एमाले खोेटाङका नेता कार्यकर्ता यसपटक अरु नै नेतालाई उम्मेदवार बनाउने पक्षमा थिए ।

नेकपा र एमाले विभाजनका क्रममा अध्यक्ष ओलीलाई साथ दिएका उषकला राईलाई यहाँबाट उम्मेदवार बनाउने नेता कार्यकर्ताको चाहना थियो । 

उषाका श्रीमान शेरबहादुर तामाङले पनि जोड गरेका थिए । तर, विशालले टिकट पाएपछि परिस्थिति प्रतिकुल बन्दै गयो । अध्यक्ष ओलीसँग निकट भएकै कारण विशालले टिकट त फुत्काए तर नेता कार्यकर्ता र मतदातासामु त्यो पावरले काम गरेन ।

४. ओलीको पावर देखाउन खोज्दाको परिणाम
एमाले विभाजन भएपछि अध्यक्ष ओलीलाई विश्वासमा लिएर विशाल एमालेको प्रमुख सचेतक बने । त्यसपछि विशालमा घमण्डको चुली बन्यो ।

जिल्लामा ‘अध्यक्षको रोजनाइमा परेको नेता हुँ’ भन्दै जिल्लाका सिनियर नेता कार्यकर्तासँग धाँक देखाउन विशाल पछि परेनन् । ओलीकै पावर देखाएर विशालले जिल्लास्थित पार्टीका अनेक निर्णयहरुमा हुकुम चलाए ।

यसरी, ओलीको पवर देखाउँदै जिल्लामा राज गर्न खोज्दा विशालले जिल्लामा समर्थन गुमाउँदै गए । नेता कार्यकर्ताले पार्टी नत्यागे पनि विशाललाई भित्रै मनबाट स्वीकार्न सकेनन् । 

५. आश्वासन बाड्ने तर काम नगर्ने
विशाल पराजित हुनुको मुख्य कारण ‘आश्वासन बाड्ने तर काम नगर्ने’ प्रवृत्ति हो । दुई पटक सांसद हुँदासम्म विशालले जनतासामु दर्जनौ आश्वासन बाडेका थिए । तर, काम भने केही गरेनन् ।

संसदीय यात्राको यो एक दशकमा देखिनेगरी खोटाङमा केही परिवर्तन भएको छैन । देखिनेगरी विकासका काम केही भएका छन् भने स्थानीय सरकार वा अन्य दलको पहलमा भएको छ ।

बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोसी नदीमा पक्की पुल निर्माणका लागि विशालकै पालामा शिलान्यास भयो । तर, पुलको निर्माण सम्पन्न गर्न विशालले फर्केर पनि नहेको मतदाताको गुनासो थियो ।

यो प्रतिनिधि घटना मात्र हो । खोटाङमा विकास निर्माणका यस्ता धेरै काम अलपत्र परेका छन् । जहाँ सांसद हुँदा कुनै पनि काममा विशालको आँखा पुग्न सकेन ।

विशालले एक दशकमा खोटाङका जनतासामु अनेकौ सपना बाडेका छन् । त्यसैको आधारमा सत्ता र शक्तिको पहुँचमा पुगे । तर, विशालले प्राप्त गरेको सत्ता र शक्ति जिल्लाको विकासका अलिकति पनि सदुपयोग हुन सकेन । 

पार्टीका नेता कार्यकर्ताको पक्षपोषणमा सत्ता र शक्ति दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ । त्यसै कारण यसपटक विशाल पराजित हुनुपरेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्