Logo
Logo

विदेशीमन्त्री आउँदा महिलाहरु पक्राउ ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ भदौ । आइतबार नेपाल भ्रमण आएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई चिनियाँ राष्ट्रपनि सी जिनपिङ भ्रमणको तयारीका रुपमा हेरिएको छ । जसकारण उनको भ्रमणमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।

बालुवाटार नजिकै चिनियाँ दूतावास अगाडि ठूलो संख्यामा प्रहरी खटाइएको छ । खासगरी तिब्बती शरणार्थीहरुले कुनै गतिविधि गर्न सक्ने आँकलनमा यसरी प्रहरी परिचालन गरिएको हो । ठूलो संख्यामा गुप्तचरहरु पनि दुतावास आसपास र बौद्ध क्षेत्रमा खटाइएको छ ।

विदेशमन्त्री वाङको भ्रमणमा तिब्बती शरणार्थीहरुले प्रदर्शन गरेनन् तर, अन्य एक समूहले भने आइतबार चीनविरुद्ध चिनियाँ दूतावास नजिकै विरोध प्रदर्शन गरेको छ । चिनियाँ दादागिरी बन्द गर भनेर लेखिएको ब्यानर टाँसेर दुतावास छेउमा १२ जना महिलाले धर्ना दिएका थिए । चीनमा चेलिबेटी बेचबिखन बन्द गर भनेर दबाब दिन त्यस्तो कार्यक्रम गरिएको जस्तो देखिए पनि उनीहरु खासगरी चीन विरोधी गतिविधिमा कुनै समूहबाट परिचालन भएको आशंका प्रहरीले गरेको छ ।

पक्राउ परेकाहरुलाई कमलपोखरी वृत्तमा लगेर अनुसन्धान गरिएको छ । उनीहरु निश्चित संस्थाको व्यक्ति समेत नभएको खुलेको छ । यसरी पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक घर भई भक्तपुर बस्दै आएकी गीता भण्डारी र धापाखेल ललितपुरकी ४४ वर्षीया तेजकुमारी थापा, सिन्धुपाल्चोककी २२ वर्षीया सीता ज्योती, नवलपरासी घर भई काठमाडौंको जडीबुटी बस्ने ३० वर्षीया उर्मिला पन्थी छन् । त्यस्तै ललितपुर लगनखेल बस्ने ३३ वर्षीया शोभा डंगोल, सलार्ही घर भई हाल जडीबुटी बस्ने २५ वर्षीया पुनम ठकुरी, तेह्रथुम घर भई हाल कोटेश्वर बस्ने ३२ वर्षीया मीना श्रेष्ठ, सुनसरीकी ४० वर्षीया निर्मला ठकुरी, कीर्तिपुर बस्ने ४० वर्षीया निर्मला ठकुरी र ४५ वर्षीया उमा बुढाथोकी पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

यो घटनाले सुरक्षा अधिकारीहरुलाई थप चिन्ता थपेको छ । किनकी विगतमा तिब्बती शरणार्थीले मात्र यस्तो प्रदर्शन गर्नेमा अब नेपालीहरुलाई पनि यस्तो गतिविधिमा परिचालन गर्न थालिएको छ । नेपाल र चीन सम्बन्धलाई बलियो हुन नदिने समूह यसमा सक्रिय रहेको स्रोत बताउँछ । यो घटनाले चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणलाई नै असर पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्