Logo
Logo

१०६औँ विपी जन्मजयन्ती र प्रजातन्त्रबिनाको कांग्रेस


माथवरसिंह बस्नेत


माथवरसिंह बस्नेत

कांग्रेसले बीपी कोइरालालाई म्युजियममा थन्क्याइसकेको छ भनेको सुन्दा कसैलाई झोक चल्यो भने त्यो पार्टीमा कतै नकतै अझै संवेदनशीलता बाँकी रहेछ भन्ठान्नुपर्छ । किनभने कांग्रेसमा हराएको भनेकै संवेदनशीलता कहलाउने त्यही तत्व हो । त्यसका अभावमा कांग्रेस यान्त्रिक भीडमा परिणत हुन पुगेको छ । आदर्श, सिद्धान्त र चरित्र गुमाएपछि एउटा ऐतिहासिक पार्टी कसरी साइनबोर्ड अथवा भीडमा सीमित हुन पुग्दो रहेछ, त्यसको उदाहरण पनि कांग्रेस पार्टी नै भएको छ । किनभने त्यो पार्टी अहिले घना जंगलमा हिड्दाहिड्दै बाटो हराएको बटुवाजस्तै विखलबन्दमा पर्न पुगेको छ । कुनै पनि पार्र्टी तब त्यस्तो अवस्थामा पुग्छ, जब उसको मार्गदर्शन गर्ने प्रेरणा उसबाट हराउँछ । कांग्रेसलाई निरन्तर चलायमान तुल्याउने मार्गदर्शन भनेको त्यसका संस्थापक नेताहरुले छाडेर गएको विरासतको प्रेरणा हो, त्यही ज्योति लुप्त भएपछि अंधकार छाउँछ र अगाडिको बाटो हराउँछ । कांग्रेसमा अहिले त्यही भएको छ । उसले आफ्ना महान नेताहरुलाई म्युजियमको शोभा बढाउन, त्यहाँ लगेर थन्क्याई दिएपछि को छ ।

जिउँदै म¥यो त्यो, जसले

बिस्र्यो देशको माटो ।

नाटककार बालकृष्ण समका कवितामा दूई पंक्ति थपिदिए पुग्छ । ती पंक्ति यी हुन्–

कांग्रेस म्युजियममा थन्कियो तब,

जब उसले त्याग्यो बीपीको बाटो ।

बीपी कोइराला र गणेशमान सिंह, कांग्रेसका संस्थापन नेता मात्र होइनन्, नेपालको प्रजातान्त्रिक आन्दोलनका दुई स्तम्भ पनि हुन् । जसरी बीपी कोइरालाका अभावमा २००७ सालको क्रान्तिको कल्पना हुन सक्तैन, त्यसैगरि गणेशमान सिंहको नेतृत्व नभएको भए २०४६ सालको जनआन्दोलनको सफलता र प्रजातन्त्रको पुनस्र्थापना पनि संभव थिएन । निर्दलीय पंचायतको तगारो भत्काएर प्रजातन्त्रको राजमार्ग तयार गरिदिएकाले त्यसपछि जति परिवर्तन भए, ती सबै त्यही बाटोबाट अघि बढेर संभव भएका हुन् ।

के हो, कांग्रेस अथवा बीपी कोइरालाको बाटो ? त्यो हो, प्रजातन्त्र । त्यसैका निम्ति कांग्रेस जन्म्यो, हुक्र्यो, बढ्यो । प्रजातन्त्र भनेको कांग्रेस र कांग्रेस भनेको प्रजातन्त्रका रुपमा नेपाली समाजमा स्थापित छन् । त्यसलाई उखेलेर फाल्न कांग्रेस आफैं औजार बनिदियो । अनि, नेपाली जनताले उसलाई पनि आफूबाट निकालेर फालिदिए । सुन्दा अप्रिय लाग्छ, झन् लेख्नुपर्दा कति विरक्त लाग्दो हो, त्यो पाठकले बुझ्ने विषय हो । तर सत्य त्यही हो, त्यो कसरी बिर्सिने ?

आफ्ना संस्थापक नेता बीपी कोइरालाको नाम जप्न कांग्रेसले कहाँ छाडेको छ र ? ओठे जवाफ आउने नै छ । उनका विचारको अनुसरण गर्न छाडेर पार्टीलाई ठीक उल्टो दिशामा बढाउनु, अनि नाम लिनचाहिँ नछाड्नु भनेको पाखण्डको प्रदर्शन हो कि होइन ? प्रजातन्त्रका सन्दर्भमा उसले थर मात्र त्यागेको होइन, गोत्र नै परिवर्तन गरेको हो ! समय परिवर्तनशील छ । कांग्रेस हिजोसम्म बीपी कोइराला र प्रजातन्त्रको बाटोमा थियो, त्यसैले यो देशमा परिवर्तन ल्याउन नेतृत्व दिन सफल थियो, अहिले अर्काको नेतृत्वको परिवर्तनको लहरमा पौडिन रमाउने पार्टीको पंक्तिमा कांग्रेस र त्यसको नेतृत्व पुगेको छ । त्यसैले उसलाई आफ्नै विचार र मान्यताका विरुद्ध खडा हुने ढुलमुल पार्टीको पद्वी मिल्न पुगेको छ । उसले प्रजातन्त्रका विरुद्ध लोकतन्त्रसंग सम्झौता गरेकाले त्यस्तो पहिचान प्राप्त भएको हो ।

त्यस अर्थमा कांग्रेसले बीपी कोइरालालाई ठाडै धोका दिएको छ– १२ बुँदे दिल्ली सम्झौताको भारी उनीमाथि बोकाएर । सत्ताको चरम मोह र विदेशी दबाबसमक्ष झुक्ने प्रवृत्तिको नाङ्गो उदाहरण हो, त्यो सम्झौता । २०३३ सालमा त्यस्तै सम्झौताका निम्ति दबाब सिर्जना हुने संभावना देखेपछि आफूमाथि फाँसीको सजायको माग गरिएका आठवटा राज्यविप्लवका मुद्दाको परवाह नगरेर भारतको प्रवाशबाट स्वदेश फर्कने बीपी कोइरालाले २०६२ मा हुने सम्झौताको पूर्वानुमान त्यसै बेला लगाइसकेको प्रमाणित हुन्छ । त्यसैले उनले प्रजातन्त्रका सवालमा राजासंग संघर्ष र राष्ट्रियताका प्रश्नमा मेलमिलापको नीति प्रतिपादन गरेर आठ वर्ष लामो निर्वाशन त्यागेर स्वदेश फर्केका थिए ।

प्रजातन्त्रलाई लोकतन्त्रसित साट्न विवश हुनु परे पनि त्यसको भारी, कमसेकम बीपी कोइराला र गणेशमान सिंहलाई बोकाउनु हुन्थेन । उनीमाथि लोकतन्त्रवादी भएको आक्षेप लगाउनु भनेको राष्ट्रियता र प्रजातन्त्रप्रति उनीहरुको सम्पूर्ण जीवन समर्पणको अवमूल्यन हो, अपमान हो । जुन आदर्श र मूल्य– मान्यताका निम्ति उनीहरु कहिलै डगेनन् र कुनै पनि अवस्थामा झुकेनन,् त्यही स्वाभिमानको त्यसबाट तिरस्कार भएको छ । त्यही कांग्रेसबाट त्यस्तो अक्षम्य अपराध भइरहेछ, जसको स्थापना गणेशमान सिंहको सहयोगमा बीपी कोइरालाले गरेका थिए– २००३ सालमा । व्यवहारिक राजनीतिका सन्दर्भमा कुनै बेला उतारचढाव आउनु र त्यस्तो अवस्थामा एक कदम अघि बढ्न, दुई कदम पछि हट्न तयार हुनु परिस्थितिको वाध्यता हुनसक्छ । भएका अनेक उदाहरण पनि छन् । तर त्यस्ता आफ्नै कमजोरीबाट उत्पन्न र संग्रहित फोहोर मैला आफ्ना महान पूर्वजका थाप्लामा खन्याउने गल्ती कसैले पनि गर्न हुन्न । कसैबाट भइहाल्यो भने अरुले क्षमा गरे पनि जनताले क्षमा गर्दैनन् । त्यसको उदाहरण खोज्न कतै जानुपर्दैन, वर्तमान कांग्रेस नै पर्याप्त छ ।

बीपी कोइराला र गणेशमान सिंह, कांग्रेसका संस्थापन नेता मात्र होइनन्, नेपालको प्रजातान्त्रिक आन्दोलनका दुई स्तम्भ पनि हुन् । जसरी बीपी कोइरालाका अभावमा २००७ सालको क्रान्तिको कल्पना हुन सक्तैन, त्यसैगरि गणेशमान सिंहको नेतृत्व नभएको भए २०४६ सालको जनआन्दोलनको सफलता र प्रजातन्त्रको पुनस्र्थापना पनि संभव थिएन । निर्दलीय पंचायतको तगारो भत्काएर प्रजातन्त्रको राजमार्ग तयार गरिदिएकाले त्यसपछि जति परिवर्तन भए, ती सबै त्यही बाटोबाट अघि बढेर संभव भएका हुन् ।

जुन कांग्रेसमा प्रजातन्त्र अटाएन, त्यसमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर आदि नेता कसरी अटाउन् ? त्यसैले उनीहरुलाई म्युजियममा थुनिदिएका छन् । कहिलेकाहीँ दर्शन गर्न परे म्युजियममै जाने, प्रजातन्त्रलाईचाहिँ कुनै हालतमा आउन नदिन कांग्रेस कटिवद्ध छ । बीपी कोइरालाले उनीहरुलाई क्षमा गरुन् !

बीपी कोइराला, कांग्रेसका मात्र मार्गदर्शक मानिएका छन् । त्यो पनि सत्य होइन । उनी आधुनिक नेपालको प्रजातान्त्रिक राज्यव्यवस्थाका पथ प्रदर्शक पनि हुन् । नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुनुअघि प्रजापरिषद् गठन भएको ऐतिहासिक सत्य हो । बिसं १९९३ सालमा गठन भएर १९९७ को पर्चाकाण्डको विस्फोटलाई इतिहासले पहिलो जनविद्रोहका रुपमा रेकर्ड गरेको छ । तैपनि प्रजापरिषद्, सर्वाङ्ग पार्टी थिएन । त्यसैले त्यो प्रेरणाको पुञ्ज अवश्य थियो, तर शक्तिको श्रोत थिएन । वास्तवमा जनताको शक्तिलाई मुखरित गर्न राजनीतिक पार्टीमा जुन तत्वहरु चाहिन्छ, ती सबै जुटाएर एउटा सर्वाङ्ग राजनीतिक पार्टीको जग बसाल्ने श्रेय बीपी कोइरालालाई नै जान्छ । उनैको आव्हान र अग्रसरतामा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भएको र त्यसको घोषणापत्रमा उनले पार्टीको आदर्श, उद्देश्य र कार्यक्रम मात्र होइन, राणा शासनको अन्त्यपछि अपनाउने प्रजातान्त्रिक व्यवस्थाको रुपरेखा पनि संक्षिप्त रुपमा प्रस्तुत गरेकाले उनलाई प्रजातान्त्रिक पद्धतिका उन्नायक मानिएको हो । सात सालको क्रान्तिपछिको अन्तरिम सरकारका गृहमन्त्रीका रुपमा राज्य पुनःसंरचना तयार पार्न र त्यसको जग प्रजातान्त्रिक ढंगले बसाल्न उनले जुन योगदान गरे, त्यसको चर्चा विस्तारमा गरिनुपर्छ, यो छोटो लेखमा त्यो संभव छैन ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको गन्तव्य निर्धारण गर्ने पनि उनै हुन् । त्यो नाराबाट कांग्रेसले प्रजातन्त्र हटाएको छ र लोकतन्त्र थपेको छ । कांग्रेसले आफ्ना सभा, सम्मेलन र कार्यक्रमहरुमा उनका ठूल्ठूला तस्वीर झुण्ड्याउन र अमरवाणीका रुपमा उनका मन्तव्यलाई पोस्टरमा टाङ्न छाडेको छैन । केवल प्रजातन्त्र छाडेको छ । त्यही एउटा शब्दको बहिस्कारले कांग्रेसको पहिचान फेरिन पुगेको छ । त्यही कारण उसप्रति आस्था र विश्वास गर्नेहरु क्रमश परपर हुँदै जानथालेका छन् । उनीहरुको बुझाई छ– जुन कांग्रेसमा प्रजातन्त्र अटाएन, त्यसमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर आदि नेता कसरी अटाउन् ? त्यसैले उनीहरुलाई म्युजियममा थुनिदिएका छन् । कहिलेकाहीँ दर्शन गर्न परे म्युजियममै जाने, प्रजातन्त्रलाईचाहिँ कुनै हालतमा आउन नदिन कांग्रेस कटिवद्ध छ । बीपी कोइरालाले उनीहरुलाई क्षमा गरुन् !

प्रतिक्रिया दिनुहोस्