Logo

राष्ट्र बैंक र वाणिज्य बैंकबीच आरटीजीएससम्बन्धी सम्झौता


Published On : 11 September, 2019

काठमाडौं । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली लागू गर्ने सम्बन्धमा सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएपश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन् । रकम पठाउने ब्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ । चालु आव २०७५/०७६ को चौथो त्रैयमास सम्म बैंकले १ खर्व ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैंया कर्जा लगानी गरि ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।

उक्त समारोहमा नेपाल राष्ट्र बैंकका निर्देशक आनन्द पौडेल, उपनिर्देशक टेकराज भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख रिको स्थापितलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्