Logo
Logo

ब्लग- नराम्रो छोपेर हेर्दा राम्रै देखिन्छन् बालेन



बालेन्द्र शाह ‘बालेन’को नाम नसुन्ने कमै होलान् । स्वतन्त्रबाट लौरो चुनाव चिह्न लिएर काठमाडौं महानगरपालिकाको मेयर जितेका बालेन सकारात्मक सोच भएका युवा हुन् । उनी नेता भने होइनन् ।

देशको नेतृत्व युवाले गर्न सक्छ भन्ने उनको एकपछि अर्को कामले प्रमाणित गर्दै आएको छ । उनी मेयर निर्वाचित भएयता नेता जस्तो भाषण गर्दैनन् । कुनै झुटा आश्वाशन बाँड्दैनन् । सामान्य रुपमा जनतासमक्ष प्रस्तुत हुँदै आएका छन् ।

सत्ता गठबन्धनका ‘हेविवेट’ उम्मेदवारलाई पराजित गर्दै मेयर बनेपछि उनको चर्चा झनै बढ्यो । काठमाडौंका मतदाताले भारी मतसहित निर्वाचित गराएपछि बालेन एकाएक एक्सनमा उत्रिए । त्यसपछि काठमाडौंको मुहार फेरिनेमा आशा पलाएको छ ।

मेयर बने लगत्तै उनले सार्वजनिक शौचालयको लागि पहल गरे । महानगरको बैठकमा विशेष प्राथमिकता दिएर विभिन्न संघसंस्थासँग सहकार्य गरेर सार्वजनिक शौचालय व्यवस्थापन गरे ।

काठमाडौं जस्तो अव्यवस्थित शहरमा शौचालयको महत्व छ । निजी क्षेत्रको सहयोगमा शौचालय सहकार्यले आम नागरिकलाई सहज भएको छ ।

राजधानी जस्तो शहरमा शौचालयको ठूलो समस्या थियो । आफ्नो कोठा अर्थात् घरबाट बाहिर निस्किएपछि पैसा तिरेर पनि दिशा–पिसाप गर्न पाउने अवस्था थिएन । तर, बालेनले विभिन्न बैंक, संघसंस्था, होटल लगायतसँग सहकार्य गरेर निःशुल्क शौचालय व्यवस्थापनका लागि पहल गरे । यसअघि कुनै मेयरले यस्ता सामान्य सुधारका काम पनि सुरु गरेका थिएनन् । जुन बालेनको सकारात्मक सोच थियो ।

त्यस्तै, बालेनले नक्सा पास नगरी बनाएका संरचनाहरू पनि हटाएका छन् । वर्षौंदेखि राजनीतिक दलबाट निर्वाचित मेयरहरूले नक्सा पास नगरी बनाएका संरचनाहरू हटाउन सकेका थिएनन् । तर, बालेन मेयर बनेलगत्तै नक्सा पास नगरी बनाएका संरचनाहरू भत्काउन थाले ।

वानेश्वार, ठमेल, दरबारमार्ग क्षेत्रमा नक्सा पास नगरी पार्किङको लागि भन्दै संचालन गर्दै आएको रेस्टुरेन्टदेखि कपडा पसलहरू नै हटाइदिए । पटक–पटक नक्सा पास नगरी बनाएको संरचना भत्काउन ताकेता गरे पनि नमानेपछि बालेन आफै एक्नमा उत्रिएर । र, अनधिकृत संरचना भत्काए । जसको चौतर्फी प्रशंसा भयो ।

मेयरको रुपमा काठमाडौंमा बालेनको उदयपछि आशाको सञ्चार भएको छ । यसै गतिमा काम गर्दै जाने हो भने बालेनले राम्रो नतिजना दिने आशा गरिन्छ । तर, केही यस्ता काम गरेका छन् जहाँ ‘बालेनको विवेक’ गुमेको छ ।

ठमेलदेखि दरबारमार्गमा नक्सा पास नगरी संचालन गर्दै आएका रेस्टुरेन्ट पनि बालेनले हटाइदिए । एकदिनको समय त दिनुस् भन्दै संचालकले पटक–पटक आग्रह गरे पनि बालेनले तत्काल हटाउन निर्देशन दिए । नगर प्रहरीले सबै समान हटाइदियो । कति ठाउँहरूमा भने बलेनले डोजर नै चलाए ।

गत ९ भदौमा अल्फा बिटा समूहले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको भुईंतल्ला नक्सा पास नगरी व्यवसाय गरेको भन्दै संरचनामा रहेको फार्मेसीमा डोजर चलाउन खोजेपछि अल्फा बिटा हाउसका संचालक द्वीराज शर्मा र मेयर बालेनबीच चर्काचर्की नै भएको थियो । त्यसपछि बालेनले नक्सासहित आफैं उपस्थित भएर अल्फा केयरमाथि डोजर चलाए ।

महानगरले डोजर चलाएपछि नेकपा एमालेनिकट रहेका शर्माको बचाऊमा एमाले नेताहरू लागे । वर्षौंदेखि एमालेको छहारी लिएर व्यवसाय गर्दै आएका द्वीराज बालेनमाथि आक्रोशित रुपमा प्रस्तुत भएका थिए । यसअघिका मेयरसँग साठ–गाठमा गर्दै आएका शर्माको बचाऊमा विशेषगरी एमाले नेता महेश बस्नेत उत्रिए । उनले सार्वजनिक रुपमै बालेनलाई ठेगान लगाउछु भन्दै धम्की समेत दिएका थिए ।

त्यस्तै, बालेनले वर्षौंदेखि कर नबुझाएका क्यासिनोहरूलाई कर बुझाउन ताकेता गर्दै विभिन्न क्यासिनोबाट कर उठाएका छन् । बालेनले सात दिनभित्र क्यासिनोले बुझाउन बाँकी कर नतिरे कारबाही गर्ने चेतावनी दिएपछि डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार, क्यासिनो प्यालेस अन्नपूर्ण–होटलले ११ लाख ८५ हजार, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रिएसन हायातले ९ लाख ८९ हजार, माजोङ्ग इन्टरटेन्मेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार तथा बेलीज क्यासिनो मल्ल होटलले १३ लाख ८८ हजार कर बुझाएका छन् । अन्य क्यासिनोले समेत कर बुझाइसकेका छन् ।

सात वर्षदेखि कुनै पनि कर नितिरेको काठमाडौं फनपार्कलाई कर तिर्न महानगरले २४ घण्टाको अल्टिमेटम दिएपछि १७ लाख ३६ हजार रुपैयाँ बुझाएको छ । महानगरले मनोरञ्जन करमा प्रवेश शुल्कको ५ प्रतिशत लिने गरेको छ ।

त्यस्तै, बालेनले वागमती सभ्यतालाई जोगाउन नदीलाई सुन्दररुप दिन चाहेका छन् । नदी सभ्यताको परिचय हो । विदेशका प्रमुख शहर नदीबाट घेरिएका हुन्छन् । तर, काठमाडौं शहरको मुख्य नदी वाग्मती प्रदुषित छ । त्यसमाथि सुकुम्बासीबाट अतिक्रमति छ । त्यसलाई हटाउने प्रयास बालेनले गरिरहेका छन् । नदीको किनार कसैले पनि अतिक्रमण गर्न पाइँदैन ।

सुकुम्बासीहरूले वाग्मती नदीको किनार अतिक्रमण गरेरपछि महानगरले हटाउन खोजेको हो । सुकुम्बासीले आफ्नो नाममा घर, जग्गा नहुँदैमा सरकारी जग्गा अथवा नदीको किनारा अतिक्रमण गर्नु कानुनविपरीत हो । सरकारी जग्गा अतिक्रमण गर्दै बसेका सुकुम्बासीहरूलाई वागमती नदीको किनारबाट हटाउने महानगरको प्रयासलाई सबैले सहयोग गर्नु आवश्यक छ । वर्षौंदेखि सुकुम्बासीलाई व्यवस्थापन गर्न नसक्नु राज्यको कमजोरी हो ।

सडक भनेको सवारी साधनका लागि हो, पार्किङका लागि होइन । फुटपाथ मानिस हिड्न हो, पसल थाप्न होइन । बालेनले सुरु गरेको ‘अन्डरग्राउण्ड पार्किङ’ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियानले धेरै सडकहरू खाली भएका छन् । सवारी साधनको पार्किङको लागि भनी अनुमति मागेर व्यापार व्यवसाय सञ्चालन गरेपछि बालेनले उक्त ठाउँ खाली गराइरहेका छन् ।

सडकलाई पार्किङस्थल बनाएर पार्किङको लागि बनाएको संरचनामा होटल व्यवसाय गर्दै आएका थिए । महानगरले सवारीसाधन पार्किङको प्रयोजनको लागि बनाएको अन्डरग्राउण्ड पार्किङमा रहेको संरचना भत्काएर पार्किङको लागि प्रयोग गराउँदै आएको छ । बालेनको यो अभियानले काठमाडौं शहर निकै व्यवस्थित हुने आशा गरिन्छ ।

त्यस्तै, बालेनले बागबजार सडकको पार्किङ हटाउने प्रयास गरेका छन् । कतिसम्म भने, सडकको छेउमा मानिस हिड्ने ठाउँमा ठेलामा तरकारी, मकै, फलफुल बेच्दै आएकाहरुलाई पटक–पटक आग्रह खाली गर्न आग्रह गरे । त्यसपछि पनि नमान्नेहरुको ठेला नै उठाएर कारवाही गरे ।

स्वतन्त्रबाट निर्वाचन जितेका मेयर बालेनले जे जति काम गरे, त्यो काठमाडौं शहरको सुन्दरताको लागि हो, व्यवस्थापनका लागि हो । अस्तव्यस्त शहरलाई व्यवस्थित गर्न, दुर्गन्धित वागमती नदीलाई सफा बनाउन हो ।

उनले कानुनविपरीत काम गरेका छैनन् र उनले कसैलाई घाटा, नाफा हुनेगरी पनि काम गरेका छैनन् । उनले सिंगो महानगरको हितको लागि काम गरेका छन् । अस्तव्यस्त शहरलाई व्यवस्थित गर्ने प्रयास गरेका छन् ।

यसअघिका मेयर विद्यासुन्दर शाक्य र केशव स्थापितले समेत गर्न नसकेका काम बालेन मेयर बनेलगत्तै सुरुवात गरेका छन् । काठमाडौं महानगरको कार्यपालिकाको बैठक नै सार्वजनिक रुपमै संचालन गर्दै आएका छन् । जसले गर्दा कार्यपालिका बैठकमा कुन–कुन विषयमा छलफल भयो । के कति बजेट विनियोजन भयो ? भन्ने विषय आम सर्वसाधारणले समेत हेर्न सक्छन् । जुन काम यसअघिका कुनै मेयरले गरेका थिएनन् ।

यहाँ बालेनले सुरुवात गरेका राम्रा कामहरुको मात्र चर्चा गरिएको छ । तर, बालेनका सबै काम राम्रा मात्र छैनन् । सुकुम्बासी तथा अति विपन्न वर्गको व्यवस्थापनमा बालेनबाट भएका अति अमानविय व्यवहार पनि लुकेको छैन । जहाँ बालेनले विवेक गसुमाएका छन् । अर्को ब्लगमा ‘बालेनले गुमाएको विवेक’ शीर्षकमा बालेनबाट भएका गल्तीहरुको विवेचना गरिने छ ।

क्रमस…

प्रतिक्रिया दिनुहोस्