काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिने भएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनले मुख्यमन्त्रीबाट राजीनामा लिन लागेका हुन् ।

मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि उनको आलोचना सुरु हुन थालेको छ । प्रदेश सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले पाण्डेले शुक्रबार पदबाट राजीनामा बताए ।
मुख्यमन्त्री पाण्डे मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनले त्यस क्षेत्रमा आफ्ना पुराना सहकर्मी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई हराउँदै चुनाव जितेका थिए ।
०७४ को निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले ०७८ कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
प्रदेशसभा सचिवालयले सांसदको शपथ, नयाँ अधिवेशनको कार्यसूची तय गर्न शुक्रबार नै सर्वदलीय बैठक आह्वानसमेत गरेको छ ।











