Logo
Logo

रोटरियनको कार्यभार के हो ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । विश्वमै पोलियो उन्मुलन गर्ने कार्यमा सफलता हासिल गरेको रोटरी इन्टरनेशनलले सन् २०३० सम्ममा ‘विश्वभर साक्षरता अभियान’ सुरु गरेको छ । सन् १९८५ देखि पोलियो उन्मूलन अभियानलाई तीव्रताका साथ अगाडि बढाएको रोटरीले पाकिस्तान र अफगानिस्तानबाहेक पोलियो उन्मूलनमा ९९ प्रतिशत सफलता हासिल गरेको छ ।

अब रोटरी इन्टरनेशनलले विश्वका कुनै पनि देशमा कोही पनि निरक्षर नहुन् भनेर सन् २०३० सम्म साक्षरता अभियान सञ्चालन गर्ने भएको हो । यो काम पनि रोटरी इन्टरनेशनललाई कम चुनौतीपूर्ण छैन । हाम्रो जस्तो देशका लागि यो अभियानले ठूलो महत्व राख्ने हुँदा देशैभरिका रोटरी क्लबहरु साक्षरता अभियानमा अहिलेदेखि जुट्नुपर्ने रोटरी क्लब अफ काठमाडौँ वेष्टका सदस्य महेन्द्रराज राजकर्णिकारले आइतबार बिहानको बैठकमा बताउनुभयो ।

रोटरी क्लब अफ काठमाडौँ वेष्टको नियमित बैठकको क्रममा रोटरी क्लबका अन्तर्राष्ट्रिय सेवा कमिटीका सहअध्यक्ष समेत रहनुभएका राजकर्णिकारले ‘साक्षरता’ अभियानलाई सफल पार्न अहिलेदेखि नै कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीजस्तै विश्वभर छरिएर रहेका १२ लाख रोटरियनहरुको सक्रियतामा पोलियो उन्मूलन सफल भएजस्तै, विश्वलाई साक्षरता बनाउने अभियानलाई पनि हामीले सफल पार्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि हरेक रोटरी क्लबले आफ्नो सदस्यहरुलाई सक्रिय बनाउनुपर्नेमा उहाँको जोड थियो ।

विश्वमा सन् १९९६ मा जति रोटरीका सदस्य थिए, अहिले पनि त्यो संख्या नबढेकोप्रति चिन्ता व्यक्त गर्दै रोटरीले नयाँ सदस्यलाई आकर्षण गर्न किन सकेन ? के–के कमजोरी छ ? भएका सदस्यहरुमध्ये पनि कति सक्रिय छन् ? कति निष्क्रिय छन् ? के कारणले निष्क्रिय भए ? आदि विषयमा चिन्तन गर्नुपर्ने बताउनुभयो । रोटरी क्लब अफ काठमाडौँ वेष्टले यसै क्रममा सदस्यता ‘सर्वे’ सुरु गरेको छ । क्लबमा आर्थिक पारदर्शिता, जिम्मेवारी वहन र मैत्रीभावपूर्ण वातावरण हुनुपर्नेमा राजकर्णिकारले जोड दिनुभयो । क्लबका सदस्य डिल्लीदेवी शाक्यले सदस्यता सर्वेक्षणको जिम्मा लिनुभएको छ ।

रोटरी क्लबमा विभिन्न पेशा व्यवसाय तथा विज्ञ सदस्य हुने भएकोले सबैको कार्यक्षमता हेरेर नेतृत्वको अवसर दिनुपर्ने वातावरण बनाउनुपर्छ । हरेक सदस्य नेतृत्वमा पुग्न चाहन्छन्, तिनीहरुको खुट्टा तान्ने प्रवृत्ति अन्त्य गरिनुपर्छ, अनि मात्र मैत्रीभाव कायम हुनसक्छ भन्ने कुरामा उहाँको जोड थियो ।

उहाँले रोटरी बुझ्नेले रोटरी कहिले पनि छोड्दैन । त्यसैले हरेक रोटरियनहरुले नयाँ सदस्यलाई सबैभन्दा पहिला रोटरी के हो ? यसले के गर्छ ? भन्ने बुझाउनुपर्छ भन्नुभयो ।

रोटरी क्लबले नेपालमा पनि शिक्षा, स्वास्थ्य, खानेपानीजस्तो जनसरोकारको विषयमा धेरै राम्रो काम गरेको छ । रोटरीको कामबाट गाउँका विपन्न वर्ग लाभान्वित भएका छन् । जनताको मुहारमा मुस्कान, खुशी र उत्साह थप्न रोटरीले अझै धेरै काम गर्नुपर्छ । त्यसका लागि हरेक रोटरियनको सहभागिता र सक्रियता आवश्यक छ भन्ने कुरा हामी रोटरियनले आत्मसात गर्नुपर्छ, राजकर्णिकारले भन्नुभयो । उक्त बैठकको अध्यक्षता रोटरी क्लब अफ काठमाडौँ वेष्टका अध्यक्ष दिग्विजय विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्